ढाकामोहन बराल

करिब दश दिनको लामो बिदापछि उनीहरू आफ्नो काममा फर्कँदै छन् । हुन त स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने  ठाउँमा लामो बिदा नपाउनु पर्ने हो तर उनीहरू लगनशील र कामप्रति अति बफादार भएको कारण अस्पताल प्रशासनले लामो बिदा स्वीकृत गरेको थियो । प्रतापपुर, नवलपरासीकी शर्मिला थनेत र देउडाकला, बर्दियाको लल्लन चौधरीको भेट यही नेपालगञ्ज अस्पतालमा भएको हो । उनीहरू दुवैको जीवनमा पोखरा विश्वविद्यालयको महत्त्वपूर्ण स्थान रहेको छ । विपन्न र पिछिडिएका समुदायलाई उच्चशिक्षामा पहुँच पुर्याउने सरकारको नीति अनुसार वैज्ञानिक र पारदर्शी रूपमा पोखरा विश्वविद्यालयबाट प्रदान गरिएको छात्रवृतिबाट थारू समुदायबाट आएका दुवैले लाभ हासिल गरेका छन् । चार दाजुभाइलाई घरको काम धन्दाबाट पढाइमा फुर्सद नमिले पनि एउटी बहिनीको  पढाइमा भने ध्यान दिएको हुन थनेत परिवारले । लल्लनलाई पनि अर्काको खेत जोत्नै पर्दथ्यो  कपी किताबको जोहो गर्न । वि.एससी. नर्सिङ गरेकी शमिैला र वि.एससी.एम.एल.टी. गरेको  लल्लनको भेट कामको सिलसिलामा यहीँ भएको हो । उनीहरूको भेटलाई समयले प्रेम र विवाहमा बदलिदियो । उनीहरू दवै आफ्नो आफ्नो भाषा र संस्कृतिलाई निकै माया गर्ने हुन तर पनि कामको सिलसिलामा व्यस्त भएर थारू समुदायभित्र बोलिने  भाषिकाको बारेमा ध्यान दिएनन् । विवाह भएको पहिलो वर्षको माघीमा  उनीहरू लामो बिदा मिलाएर पहिला देउडाकला र पछि प्रतापपुर गए । जहाँ गए पनि उनीहरू दुवैलाई आफ्ना आफ्ना  अभिभावकको एउटै प्रश्न हुन्थ्यो, “के तिमीले साच्चै थारूसँगै विवाह गरेको हो ?”