चुनावी गर्मी निकै बढेको छ ।
……….पार्टी जिन्दावादको नारा घन्काउँदै नाच्दै, गाउँदै एक हुल उनको आँगनमै पुग्यो । उनी भित्रबाट बाहिर निस्किए । एकछिन आँगनमै नाचगान चल्यो।हुलको नेतृत्वकर्ताले टीका र खादा लगाइदिए ।
“तपाईँलाई हाम्रो गौरवशाली पार्टीमा स्वागत छ । तपाईँजस्तो व्यक्ति हाम्रो पार्टीमा प्रवेश गरेकोमा हामी गर्व गर्छौँ ।अब हाम्रो जित निश्चित छ । हाम्रो पार्टीले तपाईँको उच्च मूल्याङ्कन गर्ने छ र सोही बमोजिम जिम्मेवारी दिने छ ।तपाईँलाई हार्दिक बधाई छ ।”- नेता ज्यूले भाषण ठोके।
उपस्थित हुलले ताली बजायो ।
उनलाई पनि नयाँ पार्टी प्रवेश गरेको सन्दर्भमा आफ्ना भनाइ राख्न आग्रह गरियो ।
“म हालसम्म जुन आस्था र भरोसाका साथ त्यो पार्टीमा लागेको थिएँ त्यो अवस्था अब रहेन । त्यो पार्टीले आफ्नो सिद्धान्त, निष्ठा सबै छोड्दै गयो । पदलोलुपता र नातावादमा अल्झियो । भ्रष्टचारको दलदलमा फस्दै गयो । त्यसैले आजका मितिदेखि त्यो पार्टी छोडेर यो पार्टीमा प्रवेश गरेको छु । अब देश र जनताको उत्तम विकल्प भनेकै यही पार्टी हो ।”- उनले आफ्नो मन्तव्य व्यक्त गरे।
फेरि तालीको पर्रा छुट्यो । उपस्थित भीडले उनको अनुहारभरि अबिर दलिदियो ।
उनले नयाँ पार्टी प्रवेश गरेको खबर सामाजिक सञ्जालभरि फैलियो । कुखुराले किरो पाएजस्तै अनलाइन पत्रिकाले खुराक भेट्टाए र भर्चुअल दुनियामा छताछुल्ल पारिदिए ।
चुनावकै सिलसिलामा जिल्ला आएका केन्द्रिय नेता साँझ उनको घरमा आइपुगे।नेतासँगै थुप्रै कार्यकर्ता पनि थिए ।
भोलिपल्ट सखारै फेरि सामाजिक सञ्जालमा उनको वक्तव्य भाइरल बन्यो ।
वक्तव्य यस्तो थियो – “म कुनै पनि हालतमा मेरो माउ पार्टी छोडेर अन्य पार्टीमा प्रवेश गरेको छैन् । म मेरो आस्था र भरोसायुक्त पार्टीमा सतिसालजस्तै अडिग छु । एउटा हुलहुज्जत मेरो घरमा आएर बलजफती बोल्न लगाइएको हो । मेरो इच्छाविपरीत मलाई अबिर दलिएको हो र पार्टी प्रवेश गरेको नाटक गरिएको हो । कोही पनि भ्रममा नपर्नुहोला । म मेरो पार्टीमा यथावत् क्रियाशील रहेको जानकारी गराउँदछु ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।