साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

आमा विशेष : साताका छानिएका चर्चित पाँच लघुकथा

१. काल विभाजनको लघुकथा : आमा
शान्ता शाक्य

शान्ता शाक्य
bahulako diary small and inside post

म आमाविहीन भए पनि आफूलाई कहिल्यै टुहुरो सम्झिनँ । पाँच वर्ष छँदा माटो खन्न जाँदा ढिस्कोले पुरिएर बित्नुभयो ।मजदुरी गर्ने बाबाले म सात वर्ष छँदा सहरमा लानुभयो । काजीसाहेबको घरमा घरेलु कामदारका रूपमा छोडेर जानुभयो । फर्केर आउनुभएन । सुनेँ, उहाँ बितिसक्नुभयो रे । बाध्य भएर साहेबकै घरमा बसेँ, काम गर्दै हुर्केँ अनि बढेँ । बालश्रमको विरोधबाट बच्न छोराको दर्जा दिएर समाजमा चिनाइयो । भित्र भने म इमानदार कामदार मात्र थिएँ । पहिला पहिला काममा तलमाथि हुँदा गाली बर्सिन्थ्यो । झापड पनि खाइन्थ्यो ।

बजारबाट सकी-नसकी सामान बोकेर आउँदा ठेस लागी लडिन्थ्यो । चोटपटक लाग्थ्यो । रोइन्थ्यो । आज आमाको मुख हेर्ने दिन मालिकका छोराछोरीले केक काटेर, सगुन अर्पेर अनि आशीर्वाद थापेर धुमधामका साथ मनाए । म ढोका बाहिरबाट नियालिरहेँ ।

बेलुकी आमाको खुब सम्झना आइरह्यो । आँसुले तकिया भिज्यो । म रोएको मालिकको छोराले सुनेछ । भित्रै आयो र अचम्म मानी सोध्यो –
“साने, किन रोएको ? आमाको मुख हेर्न नपाएर हो ?”

“होइन दाइ, मैले पनि आमाको मुख हेरिसकेँ ।”

“आमा नभएकोले कसरी हे-यौ आमाको मुख ?”

हिँड्दा ठेस लागी लड्दा, चोटपटक लाग्दा, पिटाइ खाँदा, नियास्रो र थकाइ लाग्दा, रूँदा र बिरामी हुँदा उहाँ आउनुहुन्छ । मायाले आँसु पुछिदिनुहुन्छ । मनमा साहस भरिदिनुहुन्छ । धैर्यका बाँध बाँधिदिनुहुन्छ र मायाले सुम्सुम्याएर जानुहुन्छ ।”

“म त पत्याउँदिनँ तिम्रो कुरा ।”

“तपाईँले यस्तो कुरा कहाँ पत्याउनु हुन्छ र ? तपाईँले त वर्षको एकदिन मात्र केक काटेर भव्यताका साथ मनाउनुहुन्छ । म त आमालाई मनको सिंहासनमा राखेर ममतामा लुटुपुटिएर आशीर्वाद थापी बाह्रै महिना कैयौँ कैयौँपटक आमाको मुख हेर्न पाउँछु नि ।”

###

नेपाली लघुकथाको क्षेत्रमा ७० को दशकलाई सञ्जालमैत्री काल भनिनु पर्छ । यसै समयमा उदाएकी हुन् शान्ता शाक्य । शान्ता बौद्धिक लघुकथाकार हुन् । उनी अध्ययन र अध्यापनमा सक्रिय छिन् । शान्ता शाक्य सौखले लघुकथा क्षेत्रमा देखिएकी लघुकथाकार हुन् । उनीका सुरूवाती लघुकथाहरू लघुकथाको नियम र सिद्धान्त विपरीत थिए । तर उनले छिट्टै नियम र सिद्धान्तलाई अंगिकार गरेर लघुकथा लेख्न थालेकी छिन् । प्रस्तुत लघुकथा “आमा” भावनात्मक लघुकथा हो । कथाकार शान्ता शाक्यले यस कथामार्फत् पाठकलाई भावनाको परिकार पस्किएर सन्तुष्ट पारेकी छिन् ।

========

२. पुस्तकभित्रको लघुकथा : बाकस
वनमाली निराकार

वनमाली निराकार

बूढी आमा पिँढीमा बसेर तरकारी बनाइरहेकी थिइन् । तीन चार जना छिमेकी आँगनमा देखा परे । बूढीआमा आँखाले राम्रै देखे पनि कानले रम्ररी सुन्दिनन् । त्यसैले मान्छेले भनेका कुरा खण्ड खण्डमा सुन्थिन् र खण्डमै बुझ्थिन् । यति सबेरै आफ्नो आँगनमा आइपुगेका छिमेकीहरूतर्फ किन आएका हुन् भन्ने आशयको प्रश्नवाचक दृष्टिले हेरिन् ।

त्यहाँ आएका मध्ये अलि पाको जस्तो देखिने मान्छे अघि सरेर भन्यो, ‘आमै, सदरमुकाम जानु पर्ने भयो, हजुरको छोराको बाकस बुझ्न ।’.

दाहिने हातले दाहिने कानलाई छेके जस्तो गरी भनिन् , ‘छोराको बाकस ? ‘

‘हजुर’, पूर्ववक्ताले यत्ति भन्यो ।

त्यसपछि केही नबोली बूढी आमा तरकारीको भाँडो उठाइन् र भित्र पसिन् । र केहीबेरमा सदरमुकाम जान तयार भएर निस्किन् ।

जिल्ला प्रशासन कार्यालयको परिसरमा चारैतिर एक प्रकारको स्तब्धता थियो । त्यहाँ केही मान्छे त थिए ती पनि चुपचाप थिए । अचानक एउटा कुनाबाट पाँच-छ वर्षको केटो ‘हजुरआमा’ भन्दै निस्कियो र बूढीआमासँग टाँसियो । बूढीआमाले पनि ‘मेरो नाति’ भनेर अङ्गालोले बाँधिन् । केटाको पछि पछि रुँदारुँदा थाकेका आँखा र गलित शरीर लिएर एउटी युवती बुढीआमा छेउ आएर उभिई । बूढीआमाले एक नजर बुहारीलाई हेरिन् र नातिलाई माया गर्नमा नै व्यस्त भइन् । युवती सासुलाई अङ्गालेर बेसरी रुन चाहन्थिन् तर सकिनन् । लोग्ने वैदेशिक गोजगारका लागि विदेशिएपछि सासुलाई एक्लै गाउँमा छाडेर छोरा पढाउने बहानामा सहर बस्न थालेकी हो । गाउँ छाड्ने बेलामा सानो बालकले हजुरआमालाई पनि सँगै लिएर जाऊँ भनी जिद्दी गरेकै हो, तापनि उसले छोरालाई लगभग तान्दै घिसार्दै सहरतिर लागेकी हो । आज अचानक सासुसँग यस्तो अवस्थामा भेट्नु पर्ला सोचेकै थिइन् । त्यसैले सासुसँग अङ्गालो मारेर निर्धक्क रुन सक्दिन । यस्तो अवस्थामा सासुबुहारी बीच कुनै सम्वाद हुने कुरै भएन ।

बुहारीले गाउँबाट आमालाई लिएर आउने छिमेकीसँग कुरा गर्न लागी – ‘काठमाण्डुबाट लास जिल्ला पठाइदिने खबर पाएपछि म यही बसेँ । लास बुझ्न जाँदा – परिवारमा को को हुनुहुन्छ ? तपाईं मृतकको को हो ? आदि प्रश्न सोधियो । गाउँमा आमा हुनुहुन्छ भनेपछि लास बुझ्न आमालाई लिएर आउनू – भने त्यसैले तपाईँहरुलाई दु:ख दिएकी हूँ ।’

‘दु:खको के कुरा ? यस्तै बेला न हो छिमेकी चाहिने ! बरु औपचारिक काम सकौँ पहिले’ बूढीआमालाई लिएर आउनेहरुले भने ।

सबै कार्यालय भित्र पसे । आवश्यक कागजपत्रमा सासुबुहारीको ल्याप्चे सहीछाप लगाएपछि चारजना सिपाहीले लास भएको बाकस मोटरमा चढाई दिए ।

बूढीआमालाई पनि सबै मिलेर मोटरमा चढाए अनि सबै चढे । मोटर हिँड्नै लागेको बेला बुढीआमाले हर्षमिश्रित स्वरमा भनिन् – ‘मेरो छोरो पहिलेदेखि नै पौरखी नै हो । खूब मिहिनेती थियो । सँधै भन्ने गर्थ्यो- आमा, तिमीलाई कुनै अभाव हुन दिने छैन । नभन्दै यी आज यति ठूलो ‘बाकस’ पठाएछ !’

###

विषय केन्द्रित भएर केही लघुकथासङ्ग्रहहरू प्रकाशन हुन थालेका छन् । आमा विषयक पहिलो लघुकथा कृति “सौन्दर्यमा आमा” सम्पादक ममता मृदुलद्वारा सम्पादित एक संयुक्त कृति हो । यसै कृतिमा वनमाली निराकारको “बाकस” लघुकथा पनि सङ्ग्रहित छ । नेपाली साहित्यको आख्यान क्षेत्रमा वनमाली निराकारको नाम महत्त्वपूर्ण स्थानमा छ । उनीले २० को दशकको अन्त्यबाट अनवरत रुपमा लघुकथा र कथाहरू लेख्दै आएका छन् । हाल वनमाली निराकार लघुकथा समाज, नेपालको लुम्बिनी प्रदेशको अध्यक्षमा रही नेपाली लघुकथालाई अझै माथि उठाउने काम गरिरहेका छन् । प्रस्तुत लघुकथा “बाकस” निर्दोष आमाको कथा हो । कथाले विदेशी श्रम र पारिवारिक जीवनले भोगेको समसामयिक विषय बोकेको छ । कारुणिक विषयलाई कौतुहलतामा उनिएको यो लघुकथा “सौन्दर्यमा आमा” सङ्ग्रहको एक महत्त्वपूर्ण लघुकथा पनि हो ।

======

३. समूहभित्रको लघुकथा : मातृदिवस
गजल आचार्य

गजल आचार्य

“मामू, आमा दिवस कसरी मनाइन्छ ?”, मैले साेधेँ ।

सवालको जवाफ दिनुकाे साटो मामूले शब्द चयनमा असन्तुष्टि जाहेर गर्नुभयो र भन्नुभयो; “मातृदिवस भन न छाेरी ।”

“काले बाहुन भन्नू र बाहुन काले भन्नू एकै हाेइन मामू ?” मैले सवाल तेर्साएँ ।

जवाफमा उहाँ शीला बन्नुभयाे । मैले कचकच गर्न छाडिनँ । वर्तमान पुस्ताको लिँडेढिपीलाई जित्न कसैले सक्तैन भन्नुभयो ।

मेराे लगातारको मातातीर्थ औँसी कसरी मनाउने भन्ने प्रश्नको जवाफमा उहाँ बाेल्दै जानुभयो; “मातातीर्थ औँसीका दिन बिहान सबेरै उठी स्नान गरेर आमाकाे मुहार हेर्नुपर्छ । मिष्ठान्न भोजन खुवाउने र उपहार दिने गर्नुपर्छ । अनि आमाबाट आशीर्वाद थाप्नुपर्छ ।”

म एकाेहाेरिए छु । उहाँले थप्नुभयो; “आमा परमधाम भएका उपत्यकाका नेवार समुदाय भने भक्तपुरको हनुमान घाट पुग्छन् । आमाको सम्झनामा परम्पराअनुसार श्राद्ध तर्पण गर्छन् । र, आमाको आशीर्वाद पाएकाे अनुभव गर्छन् । अरू समुदायले दानदक्षिणा गरी आआफ्नै तवरले आमाको सम्झना गरी मातृदिवस श्रद्धाले मनाउँछन् ।”

###

नेपाली लघुकथाको विकासमा “लघुकथा पाठ्य श्रव्य दृष्य प्रतिष्ठान”को छुट्टै महत्त्व छ । यस फेसबुक समूहमा हालसम्म १२ सय सदस्यहरू आबद्ध छन् । वाचनलाई महत्त्व दिने यस समूहमा समसामयिक कथाहरू धेरै पोस्ट भएको पाइन्छ । गजल आचार्यको नाममा पोस्ट गरिएको यो कथा बालसुलभ देखिन्छ तर कथाको बिज व्याक्यले संस्कृतिलाई स्पर्श गरेर कथालाई संस्कृतिक कथामा रूपान्तरण पनि गरेको छ । गजल आचार्य आफैँ बालक छिन् । उनीको यो उमेरले संस्कृतिक लघुकथा लेख्यो होला त ? मनमा अनेक कुरा खेल्छन् । यदि कसैले उनको नाममा लघुकथा लेखिरहेको छ भने चाही साहित्यमा स्रष्टा र पाठकको लागि यो ठूलो धोका हुने छ ।

===========

४. समसामयिक लघुकथा : मुख हेर्ने
सविता के.सी.

सविता के.सी.

सातओटी छोरीपछि एक छोरा जन्माएकी जानकीले आफ्ना सबै सन्तानको घरजम गराएकी रहिछन् । बेला-बखत छोरीहरू माइती आउने र आमालाई भेट्ने गरेका छन् । यो पटकको मातातीर्थे औँसीमा सबै छोरीहरू एकैदिन माइती आएका छन् । जानकी खुब खुसी हुँदै छोरीहरूलाई टीका लगाइदिइन् र आशीर्वाद दिइन् । जानकीकी बुहारी पनि आफ्नी आमाको मुख हेर्न माइती गएकी थिइन् ।

जानकीलाई मीठा मीठा खानेकुरा लुगा दिएर पालैसित छोरीहरूले मुख हेर्छन् । छोरीहरूको मायामा जानकी खुसीले गदगद हुन्छिन् । छोरीहरूलाई खाजा खुवाउँछिन् । खाजा खुवाउने क्रममा मनको बह पोख्दै जानकीले ‘तिमी छोरीहरूबाहेक मलाई माया गर्ने को छ र ? बेलाबेला मुख देखाउन आउँदै गर है’ भन्छिन् ।

जानकीकी कान्छी छोरीले आमालाई सम्झाउँदै भन्छिन्, `आमा ! हामीले हजुरलाई सम्झने मात्र हो । कहिलेकाहीँको भेटघाट मात्र माया हैन । वर्षभरि हजुरसँगै बस्ने, बिहानको चियादेखि साँझको खानासम्म खुवाउने, मैला लुगा धोएर सफासुग्घर राखिदेने, बिछ्यौना घाममा सुकाएर तातो पारिदिने, रोग लाग्दा उपचार गरी घडी हेरी हेरी औषधी खुवाउने भाइबुहारीले गरेको माया नै साँचो माया हो । एक दुई दिनको माया र सम्झनालाई ठुलो देखेर वर्षैभरि गरेको मायालाई छायाँमा नपार्नुहोस् आमा । विवाह गरेर पराइघर गएकी छोरीले आमा बाबुको माया गर्न सक्दैनन् र गरेर साध्य पनि नहुने रहेछ ।’

सबै छोरीहरूले ‘हो’मा हो मिलाउँछन् र घर फर्कन्छन् ।

###

अधिकांश घर/परिवारले बुहारीलाई आफ्नो नसम्झिएको कारण भताभुङ्ग बनेको छन् । प्रस्तुत लघुकथा “मुख हेर्ने”मा बुहारीलाई घरको सदस्य हुन् भन्ने बुझाउन छोरीहरूले आफ्नी आमालाई सम्झाएकी छन् । सविता के.सी. नयाँ लघुकथाकार हुन् । उनीको लेखनमा सुधारका अनेक पाटाहरू छन् । तर विषय उठानको हिसाबमा सविताका प्राय: कथाहरू समसामयिक र समाज रूपान्तरणको लागि उपयुक्त छ ।

=============

५. मलाई मन परेको लघुकथा : आमा
रचना शर्मा

रचना शर्मा

आज माता तीर्थऔँसी ! ऊ बिहानै उठेर नुहाएपछि दिवंगत आमाको तस्बिरमा माल्यार्पण गरी जल, फूल, प्रसाद चढाएर एकोहोरो विगतका दिनमा हराएको थियो ।

“फेरि आज पनि यही गुन्द्रुक ? खान्न … तिमी नै खाऊ बुढी ! गाउँमा खसी काटेको दिनमा पनि यो घरमा गुन्द्रुक नै पाक्छ ।”

त्यसपछि उसले रिसाएर गुन्द्रुकको झोलसहितको थालको भात उचालेर आँगनमा मिल्काएको थियो ।

बाउ नभएको टुहुरो बालक, त्यसैमा पनि घरको आर्थिक अवस्था कमजोर । गाउँमा खसी काट्दा पनि गुन्द्रुकसितै भात टकार्नुपर्ने आमाको बाध्यता थियो ।

टकारेको भात नोक्सान भएकोमा भन्दा छोरो भोकै रहेकोमा आमाको मन खिन्न भएको थियो । केहीछिन पछि आमाले फेरि उसलाई भात खान बोलाउनुभयो ।

“बरु भोक्कै बस्छु त्यो गुन्द्रुकसित त आज मोरे पनि खान्न ।”, उसको जिद्दीपना यथावतै थियो ।

आमाले पस्किएर ऊ भएकै ठाउँमा ल्याइदिएको थालको भातमा उसको आँखा पर्यो । कचौरामा गुन्द्रुकको झोलको सट्टा, झोलसहितको मासु थियो ।
“अघि नै दिन पर्थेन ? बेक्कारमा तेत्रो भात फाल्न पर्यो ।”, मासुभात खाँदै उसले भन्यो ।

विगतका दिनमा हराएको उसको आँखाबाट एक्कासी बलिन्द्रधारा आँसु चुहिन थाले । एक छाक उसले खाएको मासुको पैसा असुल्नलाई आमाले तीन छाक भोकै बस्नुपरेको थियो ।

###

चितवन निवासी रचना शर्मा रौसाह स्वभावकी लघुकथाकार हुन् । रमाइलोको लागि कथाको विविध चरित्रमा एकल अभिनय गर्दै लघुकथा प्रस्तुत गर्ने रचना शर्माको रुचि अहिले उनको ब्राण्ड बनेको छ । ठट्यौली रचना गम्भीर लघुकथा लेख्छिन् । प्रस्तुत लघुकथा “आमा” सरल र बालसुलभ लघुकथा हो । बालहठ र बालचाहना यस कथामा सरल तरिकाले प्रस्तुत गरिएको छ । कथाको बिज वाक्यमा आमाको ममता र मर्मलाई अचम्मसँग उतारिएको छ, जसले पाठकको आङ सिरिङ्ग हुन्छ ।

लेखक परिचय
प्रतिक्रिया
Loading...