
नेपालका सडकमा हिँड्दै थिएँ । सडकको बीचमा एउटा ठूलो भ्वाङ्ग रहेछ । धन्न देखेँ । नदेखेको भए त म सिधै भ्वाङ्ग भित्रै पर्न सक्थेँ । देख्ने बित्तिकै तर्किएर अगाडि बढ्न खोजेको मात्र के थिएँ, छेउमै एउटा ढुङ्गा रहेछ । त्यही ढुङ्गामा मेरो खुट्टाको गोलिगाँठो ठोकिन पुग्यो ।

डा. तुलसी आचार्य
“ऐया !“ म अनायासै चिच्याएँ ।
मैले चिच्याएको सुनेर केही महान व्यक्तिहरू जम्मा भए । ती व्यक्तिहरू मात्र थिएनन् । दार्शनिक, विद्वान र विचारक थिए ।
“के भयो? के भयो?“ उनीहरूले आतिँदै सोधे ।
“हेर्नुहोस न, यो ढुङ्गामा ठोक्किएर मेरो खुट्टाको गोलिगाठो नै सुनियो।”
उनीहरूले मेरो खुट्टातिर हेरेनन् । ढुङ्गातिर हेरे ।
“यही हो त ढुङ्गो?“ एउटाले प्रश्न गर्यो ।
त्यही बीचमा प्लेटो आइपुगे र भने, “यो कहाँ वास्तविक ढुङ्गो हो त ? यो त ढुङ्गाको फोटोकपी हो नि । वास्तविक ढुङ्गो त अन्तै कतै छ । यसमा ठोकिएर पनि कतै दुख्छ ? गोलीगाँठो सुनिन्छ ?” त्यसो भनेर ऊ हिँड्यो ।
त्यसपछि डेबिड ह्युम आइपुगे र भने, “यो ’रिफ्लेक्टिभ एक्सन’ हो। अर्थात् हात आगोमा पर्दा ’आथ्था’ भन्दै झट्ट तान्नु, खुट्टा ठोकिँदा ’ऐया’ भन्नु ।” त्यसपछि ऊ पनि त्यहाँबाट हिँड्यो ।
फेरि महाकबि लक्ष्मीप्रसाद देवकोटा आइपुगे र भने, “खोई कहाँ छ ढुङ्गा यहाँ ?“ र फेरि ढुङ्गोलाई नै देखाउँदै भने “के यसलाई ढुङ्गा भनेको ? म त यहाँ कुनै ढुङ्गा देख्दिनँ । बरु सुन्दर फूल पो देख्छु त–– हेलेन र पद्मिनी ।” उनी पनि त्यसो भन्दै बाटो लागे ।
एकैछिनमा भाषाविद फर्डिनाण्ड डि ससुर आइपुगे र भने, “मेरो नजरमा यो ढुङ्गो होइन, एउटा अवधारणा हो” यति भनेर उनी पनि बाटो लागे ।
त्यसपछि आइपुगे अर्का उत्तराधुनिक विचारक । मैले उनको नाम भुलेँ । उनले भने, “हैट, कहाँ हुन्छ यो ढुङ्गो ? यो त तपाईँको दृष्टिकोण हो।”
त्यसपछि आइपुगे मिसेल फुको र भने, “शक्तिको एक्सरसाइज अब ढुङ्गाले पनि गर्न थालेछ” र हाँस्दै बाटो लागे ।
फेरि तुरुन्तै फ्रेडरिक नित्से आइपुगे, दिउँसै लाल्टिन बोकेर र अनि यताउता हेर्दै भने, “खोई कहाँ छ ढुङ्गो ?“ र त्यही लालटिन बोकेर बाटो लागे ।
तुरुन्तै लामो टुप्पी पालेका, ललाटमा पहेँलो रङ्ग धसेका एकजना बृद्ध आइपुगे र भने, “ओहो भगवान् पो हुनुहुँदो रहेछ यहाँ” र त्यहीँ बसेर रङ्गीन चामल र अक्षेताले पूजा गर्न थाले ढुङ्गालाई र भने, “भगवान्लाई पनि दोष दिनुहुन्छ? पाप लाग्ला अर्को जुनीमा !” र उनले पनि आफ्नो बाटो तताए ।
यतिबेलासम्म मेरो खुट्टाको गोलिगाठो दुखेर सहिनसक्नु भइसकेको थियो । मलाई कतिबेला औषधी पसल पुगेर पेनकिलर खानुझैँ भइसकेको थियो । गल्ती मेरै थियो “ऐया“ भन्नु ।
आचार्यको नेपाली उपन्यास ’मोचन’ प्रकाशित छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

