कार्यालय प्रमुखको कक्षमा निकै गम्भीरताकासाथ बहस सुरु भएको थियो । वातावरण निकै तनावपूर्ण देखिन्थो, मानौँ कुनै संकट आइलागेको होस् । अरू कर्मचारीहरूको अनुहारमा देखिएको संकटको गाढा छाँया हाकिमको अनुहारमा भने अलि फिक्का देखिएको थियो । अझ भन्नुस त्यो भित्री प्रचण्ड प्रकाशलाई बाहिरी कृत्रिम अन्धकारले छोप्ने असफल प्रयास गर्दै थियो। मानौँ, संकटको जड बनेको यो तथ्य उनले वर्षौंदेखि स्थापित गर्न खोजेर पनि नसकेको अवस्था थियो र आज परिस्थितिले स्थापित गर्ने अवसर दिएको थियो ।
त्यहाँ संकटको कारक बनेर कोही आएर गएको थियो । त्यो अरू कोही नभएर त्यो हाकिमभन्दा पनि माथिको र त्यो कार्यालयभन्दा पनि माथिको कार्यालयको कोही थियो भनेर बुझ्नुस् । अनि त्यो हाकिमले यस्तो केही भनेर गयो जसलाई आजसम्म आम मान्यतामा कसैले स्वीकार्न सकेको थिएन । र त्यो स्वीकार्न सकिने खालको पनि होइन भन्ने सबैको बुझाइ थियो । तर, हाकिम भने बिस्तारै द्वैधताबाट एकतातिर प्रकट हुने र लाने प्रयासमा लागे – `हेर्नुस् माथिल्ला हाकिम भनेका माथिकै हाकिम हुन्छन्, वहाँहरूको ज्ञान, चेतना र तर्कनालाई हामीले चुनौती दिनसक्छौँ भन्ने औकात हामीले राख्नु हुँदैन । त्यस्तो क्षमता राख्छु भनेर हामीले सोच्नु पनि हुँदैन । जति तल्लो तह उतिनै हामीमा भेडोपनको बढोत्तरी, त्यसरी नै हामीले स्वीकार्नु पर्छ । जसरी एउटा सिपाहीले हाकिमको वचन भुइँमा खस्न नपाउँदै हस् भनेर पालना गर्छ, त्यसरी नै एउटा कर्मचारीले उसको हाकिमले कुनै अभक्ष कुरा खा नै भन्यो भने पनि कुनै प्रश्न नगरी उसको वचन भुइँमा खस्न नपाउँदै त्यो खाइहाल्नु पर्छ।´
कुनै विद्वानले आफ्ना महानतम् प्रवचनपछि त्यसले आफ्ना श्रोताहरूमा सञ्चार गरेको प्रसन्नताको सञ्चार र प्रभाव हेर्न चारैतिर हेरेजस्तो गरी हाकिमले सबैको मुहारमा हेरे र आफूले पनि मुहारमा प्रसन्नताको उत्कर्ष प्रदर्शन गरे । तर, अन्य कर्मचारीमा प्रसन्नता प्रकट गर्न सकस भइरहेको थियो । उनीहरूलाई यो स्वीकार्न गाह्रो भैरहेको थियो वा उनीहरूबीच पहिले अर्को कसैले प्रसन्नता प्रकट गरोस् भन्ने आशयले प्रशन्नताको प्रकटीकरणमा ढिलाइ भैरहेको थियो मध्ये जे पनि हुनसक्छ भनेर बुझ्नुस्। माइन्युट लेख्न बसेको कर्मचारी भने बडो अन्योलमा थियो । यो कार्यलाई भोलिसम्म धकेल्न पाए साँप पनि मर्ने लठ्ठी पनि नभाँचिने उपाए निस्कन्छ कि भन्ने आशमा थियो । आश्चर्यलाग्दो ढङ्गबाट मान्युट लेख्ने कार्य भोलिसम्म सार्न हाकिम सहमत भए।
त्यो भोलि पनि आइपुग्यो र माइन्युट लेख्ने कर्मचारी पनि आइपुग्यो। ऊ भित्र पस्नेबित्तिकै हाकिमले मुस्कुराउँदै माइन्युट बुक निकालेर दिए र भने, `माइन्युट लेखिसकिएको छ, हामीले त हस्ताक्षर गरिसक्यौँ तपार्इँले पनि गर्नुस् ।´
ऊ भावशून्य अवस्थामा देखियो र आफ्नो आशन ग्रहण गरेपछि सबैको मुहारतिर हेर्यो- सबै मुस्कुराइरहेका थिए। एकजना सबैभन्दा वयस्क कर्मचारीले मुस्कुराउँदै भने – ` हेर्नुस्, अब हाम्रा अग्रजहरूले भनेको र गरेको अभ्यास नै हामीले पनि पालना गर्दै आएका न हौँ । गु खान नहुने कुरा हो भनेर हाम्रा अग्रजले भने र त्यही कुरा हामीले मानेको न हो । जे अभ्यास गरिँदै आयो त्यही स्वभाविक लाग्ने न हो। कुकुरलाई पनि त गु नखाने बानी पार्यो भने खाँदैन। हाम्रा माथिल्ला हाकिम हाम्रा अग्रजजस्तै हुन्, त्यसैले उनले आएर जे भने त्यसलाई मान्ने कुरालाई हामीले स्वभाविक रूपमा लियौँ र माइन्युटमा सही गर्यौं । तपाईंले पनि त्यसै गर्नुस् ।´
उसले माइयूट बुक खोलेर हेर्यो, ” ….. अब आइन्दा यस कार्यालयका सबै कर्मचारीले वहाँको मानिसले गु खान हुन्छ भन्ने अमूल्य मार्गदर्शनलाई हार्दिकतापूर्वक आत्मसात गर्दै कडाइकासाथ पालना गर्ने र पालना नगर्ने कर्मचारीलाई…. ” यति पढेर उसले भावशून्य मुद्रामा सबैको अनुहारतिर हेर्यो। हिजैदेखि उसको मनमा लेखिएको “गु खान हुन्छ भन्ने, मान्ने मानिसहरू के खाएर हुर्केका होलान् ?” भन्ने वाहियात प्रश्नलाई उसले सर्लक्क मेट्यो र अरू सँगसँगै मुस्कुरायो । सम्पूर्ण कार्यालय चास्नीमा रसबरी डुबेजस्तै मुस्कानको रहमा डुब्यो ।
अर्को दिन हाकिम आगो देखिए । कसैले यस्तो निर्णय भयो भन्ने सूचना ती मार्गदर्शक कहाँ पुर्याइदिएछन्, उनी आगो भएर हाकिमलाई फोन गरेर हप्काएछन् । अनि हाकिमले मातहतका कर्मचारीलाई हप्काए – `मैले जहाँ भन्यो त्यहीँ सही गर्ने ? ठिक बेठिक विचार गर्नु पर्दैन ?”
खासमा मार्गदर्शकले -`यस्तो पाराले काम गर्ने हो भने गु खाए हुन्छ´ भनेका रहेछन, हाकिमले गु खाने निर्णय गराए भनेर बुझ्नूस् !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।