उनीहरू अस्कलमा प्रमाणपत्र र स्नातक पढ्दादेखिका मिल्ने साथी । रमेश गाउँ फर्केर विद्यालयका विज्ञान शिक्षक भए भने प्रकाश दरबार हाइस्कूलका । प्रकाशलाई रमेशको गाउँ जाने ठूलो धोको थियो । गणतन्त्र आएसँगै हिउँदमा गाउँसम्म मोटर पुग्ने भएकाले त्यसदिन ऊ रमेशको घर जराङ पुग्यो । पहिलोपटक गाउँ आएको साथीलाई रमेशले पनि हृदयदेखि स्वागत गर्यो । केहीबेरको भलाकुसारीपछि त्यसदिन खाना खाए, सुते । भोलिपल्ट रमेशले प्रकाशलाई गाउँ बस्ती डुलाउन लग्यो । जताततै हरियाली, तरेली परेका भिराला गरागरी अनि तीन चार कान्लाका फरकमा उभिएका जीर्ण घरहरू ! स्वच्छ, सफा र सर्लक्क खुलेको वातावरण ! सहरमा हुर्के बढेको मान्छे, उपत्यका वरिपरिका डाँडापाखा देखे पनि उसले ग्रामीण जनजीवन र त्यसको प्रत्यक्ष भोगाइको अनुभूति गर्न पाएको थिएन । ढिकी जाँतो, गोठ कटेरा, पानी पँधेरा, कोल, घट्टहरू मात्र होइन दूध पिएको थियो तर दुहेको कहिल्यै देखेको थिएन । न त ठेका भाँडा, नेती मदानी, हतासोबारे थाहा थियो । गाउँले रहन सहन, लवाइ खवाइ हलो जोतेको, गोबर, घाँस दाउरा, जिलाइ केलाइ झन् परका कुरा थिए । कल्पनाभन्दा बाहिरको यस्तो संसार देखेर ऊ जिल्ल पर्यो ।
“कस्तो लाग्यो त प्रकाश, हाम्रो गाउँ घर ?
हँ …, रमेशको प्रश्नले ऊ झल्याँस्स भयो तर वाक्य फुटेन ।
“यस्तै छ हाम्रो यहाँ । अब फर्कौँ । भोलि हाम्रो घरतिर जाउँला !”
“अनि यो कसको घर हो र मित्र ? भाडामै पो ?” उसले विस्मित हुँदै सोध्यो ।
“हैन, मेरै हो ! उपल्लो भाइको ! तल्लो दाइको । अनि ऊ त्यो परको खरको छानो देख्यौ ?”
“अँ ! देखेँ ।”
“हो, त्यो चाहिँ हो, हाम्रो घर ।”
“कसरी यो तिम्रो ? त्यो हाम्रो ? मैले कुरो बुझिनँ नि ।”
“त्यहाँ हाम्रा बाआमा बस्नु हुन्छ । त्यै भएर !”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।