चिउँडोलाई हातले अडाएर जयानन्द विदेशी भूमिमा सोचमग्न थिए । बाहिर हिउँ परिरहेको थियो । उनका दुई भाइ छोरा मध्ये जेठा छोरा नेपालका व्यापारी थिए । कान्छा छोरा अस्ट्रेलियामा स्थायी बसोबास गर्दथे । चलन चल्ती भाषामा तेल भिसा (बच्चाको धरलो गर्ने प्रयोजन )मा उनलाई कान्छो छोराले बोलाएका रहेछन् । उनले नेपालमा आफ्नै बलबुताले राम्रै अचल सम्पत्ति जोडेका थिए । तर उनको जीवनस्तर निम्न नै थियो ।

उनले गत सालको एउटा घटना सम्झे- “म नगर पालिकाले जेष्ट नागरिकलाई वितरण गरेको न्यानो लुगा लिन पालो कुरिरहेको थिए । पालो आउन लाग्दै गर्दा जेठो कताबाट कारमा चडेर आयो । पत्रकारले मभन्दा अगाडि बसेकालाई केही सोधिरहेका थिए । केही क्षणपछि मलाई आफ्नो अनुभुति सुनाउने र कपडा थाप्ने पालो आउदै थियो । तर बाघले झम्ने जस्तै गरि तानेर घर लग्यो । सरकारको सहयोग लिदा के हुन्थ्यो र ? इज्यत जाने डर मान्नेले आफै किनि दिनु पर्छ नि ! पोहरको हिउँद सिउ सिउ गर्दै बित्यो । बुढेसकालमा यो जोडेको छाला (अचल सम्पत्ति) को कुनै काम रहेनछ । सुर्का बेचेर लुर्का ( सुन / नगद ) बनाउनु पर्दो रहेछ । बाघको छालामा स्यालको रजाइँ भने झै भयो !”

शिवप्रसाद पाण्डे

उनले कान्छा छोराको खुलेरै प्रशंसा गर्दथे – कान्छाले त विकसित देशमा ठूलो घर किनेको छ । घरमा कुकुर पनि पालेको छ रे । छोरा बुहारीको गरि दिनको नेपाली सत्तरी हजार तनखा हुन्छ । दिनको एउटा राम्रै लैनो भैंसी किन्न पुग्ने मानौन । बिरामी पर्दा करोडौं सरकारले बेहोर्दछ भन्ने सुनेको छु । अब आशा उसैको छ ।

उनले छिमेकीसंग आफ्नो स्वास्थ्य बारे यसरी गुनासो पोख्दथे – नेपालमा गरेको स्वास्थ्य बिमाले त डाक्टर नभएको जिल्ला अस्पतालसम्म पुग्न पनि नपुग्दो रहेछ । मलाई अप्रेसनै गर्नु पर्ने रोग लागेको छ । जेठाले एउटा ठूलै अस्पताल लगेको थियो । अप्रेसन मात्र गरेको फि तीन लाख भन्यो । सत्तरी वर्ष काटेकालाई केही छुट हुने रहेछ । आफ्नो दुई महिनाले उमेर पुगेन । जेठो जेठीले सल्लाह गरेछन् । बुबाको नेपालमा राम्रो उपचार हुदैन । बरु कान्छो गएको देशमा राम्रो हुन्छ । मैले पनि कान्छालाई केही भनेको छैन । उहीँ गएपछि भन्नू पर्ला । पहिल्यै भनेर किन पीर पार्ने हो !

उनी कान्छासँग पुगेको तेस्रो दिनमा मात्र आफ्नो समस्या सुनाएछन् । यो सुनेर कान्छो छोराले आक्रोसित हुँदै भनेछन् – यो दाइ पनि कस्तो अधर्मी होला । हजुर पनि कस्तो, मलाई पहिल्यै भन्नु पर्दैन ? कस्सो बाटैमा केही भएनछ ! यस्तो थाहा पाएको भए किन बोलाउथेँ ? —-आदि । यो सुनेपछि जयानन्दलाई आफ्नो कान्छो छोराले धेरै माया गरेको महसुुस भएछ । अब औषधि मुलो राम्रै हुने ठानेछन् ।

भोलिपल्ट बिहानै कसैले ढोका ढक्क ढक्क हान्यो । जयानन्दले छोरालाई उठाए । छोरा आएर झ्यालबाट हेरेपछि भनेछन्, ” ए ! डाक्टर खैरे रहेछ ।” जयानन्दलाई आफ्नो जाँचको लागि छोराले घरैमा डक्टर बोलाएको रहेछ भन्ने भान भएछ । त्यसैले उनी खुसी भएछन् । तर त्यो व्यक्ति त कुकुरको डक्टर रहेछ । उसले कुकुरलाई इन्जेक्सन लगायो । औषधि लेखी दिएर बाहिर निस्क्यो ।

जयानन्दले छोरालाई सोधे, ” यी डक्टर आएर कुकुरको औषधि गरेको कति खर्च लाग्छ बाबू ?” छोराले भने, ” महंगो छ बुबा ! ऊ अब लगातार पाँच दिन आउनु पर्दछ । कुकुरको बिमा नगरेको हुन्थ्यो भने नेपाली तेस्तै बीस लाख जति लाग्थ्यो होला । कुकुर पाल्नेले अनिवार्य रुपमा बिमा गर्नै पर्दछ । यसो गर्दा पनि आफुले एक लाख जति तिर्नु पर्दछ ।” जयानन्दले फेरि सोधे, ” मेरो बिमा हुन्छ बाबू ?” छोराले भने, ” हुदैन बुबा ! कुकुर त यहीँ जन्मेकाले पो बिमा भयो । हजुर जस्ताको लागि त भए पनि नभए पनि नेपालमै हो !” यो सुनेपछि जयानन्दको मन साह्रै कुडियो । उनले मनमनै सोचे, ” हाम्रो त बिदेशमा कुकुरको जत्तिको पनि हैसियत रहेनछ !”