क्यानडा आएको चार वर्ष भयो, उनको जीवनमा धेरै परिवर्तन आएको छ । सामान्य विद्यार्थीको रूपमा आएकी उनी हाल घरबारे भएकी छ्न् । घर छोडेर यति टाढा आए पनि आफ्नै भाषा र संस्कृति भएको परिवारसँग सम्बन्ध जोड्न पाउनु निकै महत्त्वपूर्ण हुन्छ । सासू, ससुरालगायत सम्पूर्ण परिवारको उनलाई राम्रो सहयोग मिलेको थियो । उनको परिवार लामो समयदेखि क्यानाडामा स्थायीरूपमा बसेको थियो ।

बिरानो देशमा कलेज पढ्दा भेट भएको आफ्नै संस्कृतिको केटा देखेर उनले नै सम्पर्क बढाएकी थिइन् । त्यही सम्पर्क नै प्रेम र विवाहमा परिणत भएको थियो । केटा त आफ्नै भयो तर अन्य सदस्यहरूको पनि मायामा कुनै कमि थिएन । छोरीको निर्णयमा जन्म दिने बुबाआमा भने आधा खुसी आधा बेखुसीजस्तै थिए ।

यस बिचमा उनको एक बच्चा पनि भइसकेको थियो । परिवारमा जति खुसीका साथ जीवन बिते पनि चेलीले माइती बिर्सन सक्दैनन् । अनुकूल समय मिलेसम्म उनलाई पनि माइत जान मन लगिरहेको थियो । परिवारको सल्लाहबमोजिम उनी छोरालाई च्यापेर आफ्नो माइती देशको लागि उडिन् । खुसीका साथ बिदा भएर कहिले आफ्नो गृहनगर चण्डीगढ पुगूँ र उनको हजुरबुबाको काखमा पनातिलाई राखूँ जस्तो भयो । हजुरबाले आँखाभरि आँसु बनाउँदै गालामा मायालु झापड हिर्काएको कल्पेर गला अवरुद्ध भयो ।

जब विमान राजधानीमा अवतरण गर्यो उनलाई आफ्नै देशको राजधानीमा नै प्रवेश आज्ञा दिइएन । चार वर्षअघि मात्र छोडेको गृहनगरको माटो छुने र असीको हाराहारीका हजुरबाको हात टाउकामा राख्ने इच्छा अधुरै रह्यो । उनले जुन परिवारवारसँग सम्बन्ध जोडेकी थिइन्, सो परिवार अझै पनि “अपरेसन ब्लुस्टार” र “खालिस्तान आन्दोलन”को पीडा अझै भोग्दै रहेछ ।