घरमा मुसाले हैरानै पार्यो । कहिले कपडा काटिदिएको छ, कहिले कापी किताब । राति खत्रे खत्रे खत्रे खत्रे गरेर राम्ररी सुत्न पनि दिँदैन । तनावै गर्यो ।

बिहानै उठेर मुसा चप्काउने लिसो किनेर ल्याएँ । राति सुत्नुअघि नै मुसाको बाटोमा राखिदिएँ ।

सधैँ जस्तै हामी बत्ती निभायौँ अनि सुत्यौँ ।

जब अँध्यारो भयो मुसाको राज शुरु भै हाल्यो । फेरि सधैँ जस्तै खत्रे खत्रे खत्रे खत्रे।

हामी निदाएका थिएनौँ । बुढाबुढी मुसाकै बारेमा कुरा गर्दै थियौँ । केही क्षणमै खत्रे खत्रे आवाज सुनिन छोड्यो ।

म उठेँ र बत्ती बालेँ । खुसी हुँदै बुढीलाई भनेँ, “मुसो त चप्किएछ नि ।”

बुढी पनि उठेर मुसो हेरिन् । मुसो लिसोमा चप्किएर छट्पटाइरहेको थियो ।

“यो फुत्किन पनि सक्छ । यसलाई लठ्ठीले हानेर मार्नु पर्छ ।”, भन्दै लठ्ठी खोज्न मबाहिर निस्किएँ ।

बाहिरबाट लठ्ठी खोजेरभित्र आउँदा मुसो देखिएन । हतारिदै सोधेँ उनलाई, “मुसो फुत्कियो ?”

“फुत्किएको हैन, मैले छुटाइदिएँ ।”, उनले जवाफ दिइन् ।

म अलि रिसाउँदै भने, “किन ?”

“हेर्दाहेर्दै मलाई लाग्यो ऊ मुसी हो । सायद बच्चाको लागि चारो खोज्न आएकी थिई । बच्चाहरु खानाको अपेक्षासहित उसको पर्खाइमा थिए होलान् ।”, उनी भावुक हुँदै बोलिन् ।

“यस्तो भावुकताले पनि कहीँ काम लाग्छ ? यस्तो तालले त मुसै मार्न भएन नि ।”, म कड्किएँ।

“उसको छट्पटाहट मलाई सह्य भएन । उसका बच्चाबच्चीको तस्बिर मेरो आँखामा नाचिरह्यो र मनमा मातृवात्सल्यता छचल्कियो । किनकी म आमा हुँ ।”

म नाजवाफ भएँ ।