लोकनाथ पुडासैनी

भौतिक पूर्वाधार, दक्ष जनशक्ति, शैक्षिक गुणस्तर आदि राम्रो व्यवस्थापन भएको भन्ने मूल्याङ्कनका आधारमा क्याम्पसले ससम्मान ‘क्यूएए’ प्रमाणपत्र प्राप्त गर्यो । खुसीयालीमा क्याम्पस चिफले सबैलाई लड्डु बाँडे भन्ने सुनियो । क्याम्पसको तरक्कीमा छिमेकी हुनुको नाताले हामी पनि खुसी नै भयौँ ।

प्रमाणपत्र प्राप्त गरी सकेपछि क्याम्पसको शैक्षिक, प्रशासनिक स्तर वृद्धि हुँदै जानेमा सम्बन्धित निकाय विश्वस्त थियो । कार्य सम्पादनमा अझै उत्कृष्टता हासिल गर्नका लागि कर्मचारीहरूको कार्यालय समय हेरफेर गरियो । तर कर्मचारीहरू भने पहिलेजस्तै कार्य–कक्षभन्दा बाहिरै झुण्ड झुण्डमा पोको परेर उभ्भिरहेकै अवस्थामा देखिन्थे । म त्यही बाटो दैनिक आउजाऊ गर्ने मान्छे । त्यसदिन त्यहाँ अबेरसम्म कर्मचारीहरूको उपस्थिति देखेपछि खुलदुली लागेर एकजनासँग जिग्यासा राखेँ ।

“हैन, छ बजिसक्यो, तपार्इँहरू आज यतिबेलासम्म यतै हुनुहुन्छ त ! किन ? के भो र सर !?”

“यहाँ क्यूएए आएको छ ! त्यै भएर हिँजोदेखि छ बजेसम्म बस्न पर्ने नियम भयो, त्यसैले !”

“ए…, एकघण्टा बढी खट्न पर्ने भए छ हगि । अब झन् उन्नति हुने भयो । … ओभर टाइम त होला ?”

“होइन ! सिधै तीस पर्सेन्ट ! त्यै भएर हाजिर गर्न कुरिरा’ !”

“हैट, कुरेको पो भन्नुहुन्छ त ! कामै गर्न पर्ने होला नि ?”

“काम त त्यस्तै हो, हाजिरी चाहिँ छुट्नु हुँदैन क्या ।” घडी हेर्दै उनी ल्याप्चे लगाउन दौडिए ।

“ढुङ्ग्रामा’ पुच्छर !” अनायास मेरो मुखबाट फुत्कियो ।