१. काल विभाजनको लघुकथा : रङ
लक्ष्मीप्रसाद पाैडेल

लक्ष्मीप्रसाद पाैडेल

“आकाश निलो छ ।”

“आकाश सप्तरङ्गी छ । ऊ टाढा छ त्यसैले निलो देखिन्छ ।”

“आकाशमात्र किन, सागर पनि निलो छ ।”

“सागर गहिरो छ, पानी निलो देखेका छौ कहिल्यै ?”

“दश कक्षामा विज्ञान सरले निलोतुथोले पानी निलो बनाएको बिर्सियौ ?”

“त्यसो त पहिलो दिन तिमीले मेरो अनुहारै निलाम्मे बनाएका थियौ ! म पनि के निलो छु ?”

“आज फागु पूर्णिमा, यसो रङ दलेर रङ्गयाउने हो कि माहौल ।”

“कुन रङ दल्छौं ? सबै त फिक्का देखिन्छन् । खै कहाँ छ रातो, पहेFलो, निलो रङको रङ्ग ?”

“आकाशलाई जस्तै हेर न ! सागरमा जसरी डुब त ! देखिन्छ कि ?”

माथितिर हेर्दै टोलाउँछे । ग्यासको मूल्य दुई हजार नाघ्दैछ । उसको खुट्टाको मोटर झिकेर साइकल मात्र रहेको छ । भान्सामा झ्वाईय… गर्दैन तेल आजकल । झ्यालमा हरियो सिसा जोडेकी छे । हरियोपरियो खोज्नु परेको छैन । पेटभित्रको सुगर बढेर तीन सय नाघेको छ, बाहिरको सुगर आवश्यक छैन । भात खान हुन्न रे, चामलको भाउ सोध्नु परेको छैन । अझै, कता कता हेरोस् । आकाश र सागरको रङ । स्कूल , क्याम्पस, अस्पताल सबै बेरङ थिए ।

“किन जवाफ आएन त ? ”

“रङ्गीन देखिनलाई रङ्ग पनि त हुनुपर्यो मनमा ।

“मन रङ्गीन बनाउने हो, आफै हुँदैन प्यारी । ”

“ल आऊ, पहिले पेट रङ्गीन बनाऊ… । गहुँको च्याख्ला र मसुरोको दाल भुटेकी छु ।”

ऊ दाल हेर्छ, दालमा पहेँलो कम सेतो रङ बढी थियो ।

“दाल अलि बाक्लो खान मिल्दैनथ्यो । डाक्टरले पातलो दाल भने जस्तो त लाग्दैनथ्यो ।”

“डाक्टरलाई दोष नलगाऊ । तिम्रो खल्तीले भनेको, बिर्सियौ ?”

” ए हो त, युक्रेन रुस लड्दैछन् । आर्थिक मन्दी छ देशमा ।”

युक्रेन रूस लडेर हो कि तिमी हामी जनता नलडेर हो ? आर्थिक मन्दीचाहिँ छ देशमा ।

के को फागु पूर्णिमा ? रङ किन्ने पैसा भए हलेदो किन्ने थियो यो परिवारले । दाल त पहेँलो देखिन्थ्यो ।

###

नेपाल लघुकथाको क्षेत्रमा ५० को दशकलाई बिस्तारकाल मानिनु पर्छ । यसै कालदेखि नेपाली लघुकथाले बिस्तार हुने आवसर पाएको हो ।
यसै कालमा देखिएका स्रष्टा हुन् लक्ष्मीप्रसाद पौडेन । उनीले कविताबाट नेपाली साहित्यमा प्रवेश गरे पनि पछिल्लो समय नेपाली लघुकथाको विकास र बिस्तारमा अतुलनीय योगदान पुर्याइरहेका छन् । उनी भोक र गरिबीको कथा लेख्न रुचाउँछन् । प्रस्तुत लघुकथा “रङ” भोक र गरिबीको कथा हो । कथामा समसामयिकता देखाउन कथाकार लक्ष्मीप्रसाद पौडेलले विश्व परिवेश पनि सजाएका छन् ।

………….

२. पुस्तकभित्रको लघुकथा : होली
डा. कपिल लामिछाने

प्रा.डा. कपिल लामिछाने

उनी बार्दलीमा उभिएर बाहिर हेर्दै थिए । जताततै होलीको उमङ्ग देखिन्थ्यो । श्रीमतीले भनिन्– फ्रिजमा मासु रै’नछ । तरकारी पनि सकिएछ । आज त झन् होली, मासु नभई भएन ।

अराउन–पठाउनका लागि कोही नभएकाले उनी आफैँ तयार भए । फेरि रोकिए– कसैले छेप्ने हुन् कि । कसैले रङ दलिदिने पो हुन् कि । अनुशासन कसैमा छैन ।

अनि फेरि सोचे– कसको हिम्मत ∕ कसैले छेपे–दले भने जान्या छु नि मैले पनि !

वास्तवमा मानिसहरू उनीसित डराउँथे । धक मान्थे किनकि उनी धाक देखाउँथे । सधैँ त गाडीबाट आउँथे । गाडीबाट जान्थे । आज होली । ठाउँठाउँमा डोरीले बाटो छेकेर पैसा माग्छन् । उनले सोचे र पैदलै निक्ले ।

देखे, जताततै होलीको धुमधाम छ । बाटामा रङ । दुकानमा रङ । टाउकामा रङ । मुखमा रङ । मान्छे रङ्गीन । मान्छेको मन रङ्गीन । कतै मादलको पक्धुम् ! कतै जोगिरा सररर … । जताततै उमङ्गै उमङ्ग । रङ्गै रङ । उनी बाहेक कोही चोखो छैन । आफूलाई कसैले रङ नदलेकोमा आफूलाई विजेता महसुस गर्दै अघि बढे ।

उनी पसलसम्म पुगे । सामान किने । पैसा बुझाए र फर्के । पसलेका अनुहारमा पनि रङ थियो ।

कसैले उनलाई छेपेन । कसैले उनलाई रङ लगाइदिएन । अहिले भने उनले सारै बेमज्जा महसुस गरे । उनले सोचे कि म यस समाजको सदस्य होइन ?

उनलाई बडो दुख लाग्यो कि यस्तो होलीमा पनि उनलाई कसैले छेपेन । कसैले रङ लगाइदिएन ! कसैले वास्तै गरेन ।

घर पुगेर एकाएक उनले श्रीमतीलाई रङ पोतिदिए । श्रीमतीले पनि उनलाई त्यसैगरी रङ पोतिदिइन् । अनि उनी रङ बोकेर निक्ले र भेटेजतिलाई रातो, पहेँलो, निलो, हरियो, सेतो रङ पोत्न थाले – धमाधम बुरा नमानो होली है !

###

डा. कपिल लामिछानेको “विस्थापन” लघुकथासंग्रह नेपाली लघुकथाको क्षेत्रमा चर्चित संग्रह हो । उनी अग्रज लघुकथाकार हुन् । उनी नेपाली लघुकथाको समीक्षक र समालोचक पनि हुन् । प्रस्तुत लघुकथा “होली” धनाढ्य तर समाजसँग कुनै सम्बन्ध नराख्ने व्यक्तिको कथा हो । अहमले गर्दा एकोहोरो फुर्ति त बढ्छ तर त्यही अहमले मान्छेलाई सकाउन सक्छ भन्ने सदेश यो लघुकथाले दिएको छ । 

………

३. समूहभित्रको लघुकथा : होलीको रङ
इन्दिरा गौतम

इन्दिरा गौतम (असम)

चैते खडेरीमा संसारैभरि डढेलो लाग्ला जस्तो छ । दिउँसो दुई बजेतिर चौँतीस डिग्रीको छेउछाउमा पुगेको गर्मीलाई शान्त बनाउन उखुको रस बेच्ने भाइको छेउमा पुगेर दुई गिलास रस पिएपछि मात्रै तिर्खा मेटियो । अर्को रूखमुनि पसल फिँजाएर बसिरहेको भैयाले मलाई नियालेर हेर्यो । उसले पनि मलाई ग्राहक सोच्नु कुनै ठुलो कुरा होइन।

“भैया, होली मुबारक हो । मलाई चार सयको चारवटा रङ दिनुहोस् न ।” उसले गम्छाले पसिना पुछ्दै टाउको हल्लायो । एकैछिनमा रङका पोका अघि सार्यो । छेउछाउमा स-साना केटाकेटीहरू रङ छ्यापाछ्याप गर्दै थिए। एकछिन बाल्यकालको स्मृतिमा हराएछु । मेरा साथी सन्तोष, राहुल, मदन र विनोद भएर कति रमाइलो गर्थ्याैँ ।

एउटा केटाले पानीको बोतल मेरो हातबाट फुत्त तानेर घटघटी पानी पिउन थाल्यो । अर्काले “हल्का रमाइलो गरेको, अङ्कल माइन्ड नगर्नु होला” भन्दै मेरो मुखमा बेसरी रङ दल्न थाल्यो । खै कहाँबाट हो, अरिङ्गाल खनिएजस्तै गरी भुराभुरी ममाथि खनिए । होलीको दिन हुनाले केही भन्न सकिँन।

रङको पैसा भैयालाई दिएँ । लगत्तै दुई सयको नोट केटाहरुलाई दिँदै थिएँ, तीमध्येको एउटा चतुरे केटाले पैसा फुत्त तानेर कुद्यो । सबै केटाहरु उफ्रिँदै उसको पछि लागे । मेरो सहज मनको तृष्णा मेटाउन पसलको रङ हातमा राख्दै पसलेलाई दल्न खोज्दै भनेँ, “तपाईँलाई दोबारा होली मुबारक । बच्चाको मस्तीले मलाई ज्यादा नै आनन्द आयो ।”

उसले मन्द मुस्कानमा भन्यो, “बच्चा भगवान् जस्तै हुन् । पैसा टिपेर कुद्ने केटो मेरो छोरो अब्दुल हो र उसका पछि पछि त्यो रातो सर्ट लगाउने खृष्टोफार हो अनि अरू सुशील, कृष्ण र हरि हुन् । उनीहरू सबैका चाडपर्वमा एकैनासे रमाइलो गर्छन् ।”

मेरो रङ्गिन हात जहाँको त्यहीँ रोकियो । एकछिन घोरिएर भनेँ, “केही छैन तर तपाईँले फिँजाइएको रङ देखेर मात्रै मलाई होली आएको थाहा लाग्यो। व्यापारमा कुनै धर्मले सिमाना छुट्याएको रहेनछ । राम्रो लाग्यो ।”

###

सिक्किमेली लघुकथा समाज पछिल्लो समय स्थापना भएर पनि निरन्तर अघि बढ्दै गइरहेको लघुकथा पेज हो । यस पेजबाट लिइएको यो “होलीको रङ” लघुकथालाई लघुकथाकार इन्दिरा गौतमले होलीको अवसरमा पोष्ट गरेकी थिइन् । रङगहरूको उमङ्गको लागि उनीको यो लघुकथालाई यता छनोट गरिएको हो ।

इन्दिरा गौतम आसममा बस्छिन् । उनका लेखनीमा आसमको सुगन्ध भेटिन्छ । उनी सिक्किमेली लघुकथा समाजको एक एडमिन सदस्य रहेर नेपाली लघुकथाको विकास र विस्तारमा लागिरहेकी छिन् । प्रस्तुत लघुकथा  “होलीको रङ”मा कथाकार इन्दिरा गौतमले खुसी र उमङ्गलाई झल्काएकी छिन् । व्यापारलाई कुनै सिमानाले नरोक्ने ध्रुवसत्य कुरो उनीको लघुकथाको बिज वाक्य हो ।

====

४. समसामयीक लघुकथा : रङ
गङ्गा खड्का

गङ्गा खड्का

शारदा अरूले होली खेलेको दृश्य एक तमासले हेरिरहेकी थिइन् । उनको आँगन होली खेल्नेले थरीथरीका रङ पोखेर रङ्गाएका थिए । तर न उनको हातमा रङका पोका थिए न अनुहारमा खुसीको रङ मिसिएको थियोे ।

“शारदा भाउजू किन त्यहाँ एक्लै बस्नुभएको ? हामीले रङ दलिदिन्छौँ भनेर डर लाग्यो कि क्या हो ? ”

सरस्वतीको आवाजले शारदा झसङ्ग भइन् । उनले आँगनमा चलिरहेको होलीमा सामेल भएका सासू, लोग्ने र सौतालाई कटाक्ष गर्दै भनिन्, “मलाई रङ दल्ने मान्छेसँग होइन नानी रङ बदल्ने मान्छेसँग डर लाग्छ ।”

=====

(मानिसहरू बेलाबखत रङ बदलिरहन्छन् । रङ बदल्ने मानिसलाई धेरैले मन पराउँदैनन् भने रङ बदल्नहरूलाई केहीले प्रगति वा समयको माग भनी व्याख्या पनि गर्दछन् । काठमाडौँ निवासी लघुकथाकार गङ्गा खड्काले रङको मार्फत रङ बदल्नेहरूको बारेमा चोटिलो लघुकथा लेखेकी छिन् । उनी समसामयिक विषय र नारी अनुभूतिको बारेका विषयमा सही उठानसहित समापन गर्छिन् । गङ्गा खड्का पछिल्लो समय लघुकथामा सक्रिय लघुकथाकार हुन् ।

प्रस्तुत लघुकथा “रङ” छोटो र सटिक लघुकथा हो । यस कथाले नारी लवजबाट मानिसको स्वभावको किष्टल क्रिएर चर्चा गरेको छ । यो लघुकथाले ३०० शब्दमा लघुकथा अटाउन सकिँदैन कि ? भन्ने आशंकालाई दह्रो उत्तर दिएको छ ।)

=======

५. मलाई मन परेको लघुकथा : रङ्ग नपुगेको चिया
विश्वराज अधिकारी

अन्तर्वार्ताकार- विश्वराज अधिकारी

‘ए ठूल्नानी दिदी, मिठो चिया पकाउन सिकाइदेऊ न । जति मेहनत गरेर पकाए पनि मिठो छैन, स्वादिलो भएन, रङ्ग नै पुगेको छैन भन्छन् चिया खान आउनेहरू…’, मनमायाले रुन्चे स्वरमा आफ्नो गाउँले दिदीलाई दुखेसो सुनाई।

मनमायाले भन्ने क्रम जारी नै राखी, ‘तिमीले पकाएको चियामा के त्यस्तो स्वाद छ, जहिले पनि भीड देख्छु चिया खान आउनेहरुको । पसलमा बस्ने ठाउँ नै हुँदैन । मैले त, बिहान पकाएको चिया दिउँसोसम्म बिक्री गर्नुपर्छ । साँच्चै, लौन मलाई स्वादिलो चिया पकाउने तरिका सिकाइदेऊ न ।’

‘चियालाई स्वादिलो पार्न चियापत्ती ………… आदि मात्र बढी हालेर राम्रो रङ्ग आउँदैन, स्वादिलो पनि त्यति हुँदैन । त्यसमा अलिकति आफ्नो जवानीको रङ्ग पनि मिसाउनु पर्दछ । त्यसोगरि सकेपछि हेर्नु, चिया स्वादिलो भएन, रङ्ग पुगेको छैन भन्नेहरुकले चिया स्वादिलो छ, रङ्ग पुगेको छ भनी खान थाल्छन’, ठूल्नानीले मनमायाको शरीर त्यसपछि मुहारतिर सम्पूर्ण दृष्टि राख्दै सल्लाह दिई ।

###

नेपाली साहित्यमा विश्वराज अधिकारीलाई मूलत: आख्यानकारको नाममा चिनिन्छ । उनी पेशाले प्राध्यापक हुन् । कोमल हृदयको अधिकारी लेखन र व्यवहारमा कट्टर र नियमबध्द छन् । कम लघुकथा लेखेर पनि लघुकथाको क्षेत्रमा स्थापित उनीका कथाहरूले नलेखिएका कथाहरू वाचन गर्छन् ।

प्रस्तुत लघुकथा “रङ्ग नपुगेको चिया” चिया गफको कथा हो । तर कथाको अन्त्यमा जवानीको रङलाई कथामा मज्जाले घोलिएको छ । कथा सटिक र यादगार बनेको छ ।