उनीसँग भेट नभएको पनि धेरै समय भएको थियो । उनका साहित्यिक रचनाहरू पढ्न नपाएको त झन् धेरै समय भएको थियो।उनका रचनाहरू पत्रपत्रिकामा पढ्न पाउँदा छुट्टै आनन्द आउँथ्यो।गजबको कल्पनाशीलता र सृजना शक्ति थियो उनमा ।

मित्र ‘उराठी’ गौतम

त्यही तलतल मेट्न र उनलाई भेट्न उनकै घरमा पुगेँ।

बाख्रापाठाको स्याहार सुसारमा तल्लिन् उनले मलाई देखेर मुस्कुराउँदै स्वागत गरे।लामो समयपछिको भेटको कारण खुसी व्यक्त गरे।

केही क्षण हाम्रो भलाकुसारी भयो।

“आजकल तपाईँका साहित्य सृजनाहरू पढ्न पाइँदैन त, किन सुस्ताउनु भयो ?” -मैले जिज्ञासा राखेँ

“साहित्यले मात्र खान नपाइँदो रहेछ । यो त एक किसिमको लहड रहेछ । कहिले कविता गोष्ठी भन्यो, कहिले गजल गोष्ठी भन्यो, कहिले के साहित्यिक कार्यक्रम भन्दै ठाउँ कुठाउँ बरालियो समयको मात्र बर्बादी ।” – अघिसम्मको हँसिलो रसिलो मान्छे निचोरेको कागती जस्तो अनुहार लगाउँदै निराशा व्यक्त गरे।

“तपाईँ त अब्बल सर्जक हो।साहित्यिक फाँटमा नाम कमाउनु भएको छ, सम्मान पाउनु भएको छ।यसरी निराशा व्यक्त गर्न तपाईँलाई सुहाउँदैन।लेखन कार्य नछोड्नूस्।”- सम्झाउने भावमा मैले भनेँ।

“खाइ न पाइ छालाको टोपी लाइ, भनेझैँ यो जाबो साहित्यभन्दा त यी बाख्रापाठाले मलाई सन्तुष्टि दिएका छन् । छुनुमुनु गर्दै बुरुक बुरुक उफ्रने पाठापाठी, च्यूँ च्यूँ चिरबिराउने चल्लाहरू, आफ्नै करेसाबारीमा लहलहाएका तुलफूलहरू देख्दा त म मन्त्रमुग्ध हुन्छु। लखर लखर डुल्न छोडेर घरपरिवारसँग बस्दा उनीहरू पनि सन्तुष्ट, आफूलाई पनि आनन्द।अब त म यसमै रत्तिइसकेँ।”- अँधेरीएको उनको अनुहारमा फेरि उज्यालो फैलँदै थियो।

उज्यालिएको अनुहारमा फेरि अँध्यारो थप्ने दुष्साहस नगरी उनीसँग बिदा लिएर फर्किएँ, मनमा अनुत्तरित प्रश्नहरू खेलाउँदै।