म हतारहतार गर्दै अफिस पुग्छु र टेबलमा ल्यापटप खोल्दै कुर्सीमा बस्छु । ल्यापटपले देखाएको मिती हेर्छु , ७ फेब्रुअरी २०४५ ! जसले एकपटक मेरो मनलाई ढक्क फुलाउँछ । ओहो ! अबको एक हप्तामा त हाम्रो वैवाहिक जीवनको कन्ट्र्याक सकिने दिन । समय कति छिटो बगेछ । अस्ति जस्तो लाग्छ १० वर्षअघि ‘भ्यालेन्टाइन डे’ पारेर हामी लगनगाठोमा बाँधिएको, समय कसरी बित्यो पत्तै भएन । मोबाइलमा घन्टी बज्छ ।
“अफिस पुग्यौ ?”
“पुगेँ, अनि तिमी नि ?”
जवाफमा ऊ भन्छ, “हेर न मेरो त्यो अस्ति एउटा कागज भान्छाको टेबलमा राखेको थिएँ नि त्यो भेट्दै भेटिनँ ।”
“ए, त्यो मैले यता कोठामा ल्याएर राखिदिएकी छु । ड्रयरमा हेर त, एउटा सानो रातो ब्याग छ त्यसको बाहिर पट्टीको जिपर खोल, भेटिन्छ ।”
“पख है त … ए भेटेँ भेटेँ । ल है त , गुड डे ।” अनि तिम्रो लन्च बक्स छोडेर गएछौ, मैले फोन गरेपछि बाहिर निस्क है कलेक्ट गर्न, म अफिस जाँदा छोडिदिन्छु ।
“ला ! हो त, मैले पनि भुसुक्कै बिर्सेछु, उसले ठिक्क पारेर राखिदेको बट्टा ब्यागमा हाल्न पनि भुलेँछु । मनमनै सोच्छु, अब एक हप्ता छ त्यसपछि के गर्ने होला । १० वर्षमा हामी दुवैले एक अर्कालाई बिगार्यौँ या सपार्यौँ यसबारे थाहा छैन तर केही हदसम्म हामीले आफूलाई परनिर्भर चै बनायौँ । त्यसैले होला पहिला पहिला त एकपल्ट बिहे भएपछि जिन्दगीभर एकअर्कासँगै बस्नु पर्ने रे । तर कस्तो हुन्थ्यो होला त्यस्तो सम्बन्ध, कति उच्चाट लाग्दो हो कि जे जस्तो भए पनि सम्झौता गरेर सँगै जीवन बिताउनुपर्ने भएपछि । हजुरबुवा भन्नुहुन्थ्यो – पण्डितले संस्कृतबाट भट्ट्याएको मन्त्र अनि विधिको चौथाइ अंश नबुझे पनि थुप्रैथुप्रै आफन्तलाई साक्षी राखेर गरिएको विधिवत विवाह थियो मेरो । मनसँग मन फाटेर पूर्वपश्चिम हुँदा पनि अविर केशरीले रङ्गिएको हातले गरेको सङ्कल्पले मलाई जिन्दगीभर एउटै घरमा बाधेर राख्यो जगजाहेर हुन्छ कि भन्ने डरले ।”
ओहो ! सुन्दा पनि कहालीलाग्दो । खैर ! अहिले त १० वर्षपछि कन्ट्र्याक्ट स्वत: तोडिने र इच्छा र सहमति भए रिन्यु गर्न मिल्ने प्रावधान छ नि हरेक वर्ष । यसो त अहिले केही वर्ष म पनि कन्ट्र्याक्ट रिन्यु गर्ने नै मुडमा छु ।अब मैले मात्र चाहेर पनि भएन उसले पनि मसँग रहन चाहनु पर्यो । जे होस एक हप्तापछि हामी दुवै स्वतन्त्र हुन्छौँ, आ- आफ्नो निजी जिन्दगीमा ।
“आमा खाजा के खाने”, म झल्यास्स ब्युँझन्छु आशुतोषले बोलाउँदा । ओहो ! मेरो दिवास्वप्न कस्तो अनौठो , मलाई २५ वर्ष पर पुर्याएको रहेछ, म त यहीँ रहेछु । म राम्ररी ब्युँझँदै खाटबाट ओर्लन्छु र भन्छु, “के खाने भन न ?”
“आज हजुर घर भएको दिन केही स्पेसल खाऊँ न आमा ।”
“हुन्छ नि । यति भन्दै म भान्छामा जान्छु । मेरो पछिपछि आउँदै गरेको १९ वर्षीय आशुतोषको एउटा संवादले म टक्क अडिन्छु ।” आमा मैले एउटा यस्तो समाजको परिकल्पना गर्दै छु कि जहाँ बिहे नै गर्नु नपर्ने …
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।