यकिना अगाध

उसको छिमेकी बितेको खबर आयो । ऊ हतार हतार हस्याङफस्याङ गर्दै छिमेकी बितेको घरमा पुग्यो । दुःख परेको परिवारजनप्रति समवेदना प्रकट गर्यो र मृतकलाई श्रद्धान्जली टक्र्यायो । दुःख परेका परिवारजन रुँदा ऊ पनि सँगसँगै क्वाँक्वाँ रोयो । अति नै भावुक बन्यो ।

आफन्तजन र छरछिमेक भेला भएपछि लासलाई घाटमा लगेर सतगद गर्यो र सबैजना फर्किए ।

ऊ फेरि आफ्नो घर पुग्यो र नुहाइधुवाइ गरी कपडा फेर्यो । अर्को छिमेकीको घरमा विवाह पार्टी थियो । ऊ त्यहाँ पुग्यो । बेहुला बेहुलीलाई टिकाटालो गरेर आशिर्वाद दियो । प्रशन्न मुद्र बनाएर भोजमा सम्मिलित भयो । भोजमा नाचगान शुरु भयो । ऊ पनि अरू अतिथिगणसँगै कम्मर मर्काएर छमछमी नाच्न थाल्यो ।

केही घण्टाको अन्तरालमै, ऊसँग अब दुःख परेको परिवारजनको अगाडिको, प्रस्तुत भएको भावुक अनुहार बिलाइसकेको थियो । यता शुभकार्य मनाइरहेका परिवारजनको हाँसोमा उसको हाँसोको फोहरा मिस्सिइरहेको थियो ।