शान्ति शर्मा

“बच्चा किन रोएको बैनी?”

“निद्रा नपुगेर नि दिदी !”

“फकाइफुल्याइ सुताउनुस् न !”

“सुताउँछु नि दिदी ! हेर्नुस् न बल्लबल्ल निदाउन लागेको हुन्छ अनि ए …पुराना कागज बोतल भन्दै आउँछन् दाजु–भाइहरू । फेरि कोसिस गर्छु निदाउनलाई ।

उही आवाज घन्किन्छ टोलभरि … ए  प्रेसर कुकर बनाउने ….., ए ..भाँडाकुँडा साट्ने,

ए पुराना लुगासँग,

ए …सुन्तला केरा, ए ..ग ……लैँचा,

ए …सिरकडस्ना बनाउने,

लु हरियो मकै आयो है,

साग आयो साग, ए …बदाम बदाम, लोकल चामल,ए …माछो ….!”

बिहानदेखि साँझसम्म यस्तै आइरहेछ  । यहाँ कसरी निद्रा पुगोस् दिदी बच्चाको ?

बिरामी भएर उपचार गर्न ल्याएको त्यसमाथि … ।

बरु ता गाउँमै आनन्द नि दिदी !”

“के गर्नु बैनी, उनीहरूले घरसम्म ल्याइदिन्छन् । हामीलाई पनि सजिलो । उनीहरूको पनि दुई पैसा आम्दानी हुने ।”

जानुका बहिनी आफ्नो सानो नानीलाई कोरोना सङ्क्रमणको आशंकाले हस्पिटलको दशफेरा काटिरहेकी मान्छे । टाढैबाट हामीले यत्ति मन साटासाट गरेको आज तीन दिनपछि थाह भयो । उनी आफैँ सङ्क्रमणको सिकार भइछिन् । सानो नानी भेन्टिलेटरमा छ रे भन्नेसम्म सुनेँ ।

साँझको समाचारले भन्यो हाम्रो टोलमा, सङ्क्रमणमा नपरेका जम्मा ५ % परिवार बाँकी रहेछन् ।

म छाँगाबाट खसेझैँ भएँ । संसार अँध्यारो हुँदै आयो र डढेलाले दुनियाँ खरानी बनायो मनैमनमा ।