धनेलाई हिजोआज ठूलो मान्छे हुने रहर चढेको छ । कता हो उसले सुनेको छ – अङ्ग्रेजी बोल्न र लेख्न जान्ने मान्छेलाई नै ठूलो मान्छे भन्छन् भनेर । आफ्नो मातृभाषामा जस्तोसुकै गहकिलो लेख, भाषण, कविता प्रस्तुत गरे पनि कसले बुझ्ने र ? एउटा कविता वाचन गरेर सुन्दर भिडियो, त्यही सबैको भेट्ने थलो फेसबुकमा हालेको थियो धनेले, यसो नाम कमाइन्छ कि भनेर । तर लाइकभन्दा पनि “नट आन्डासस्टुड” भनेर टिप्पणी आए । त्यसैले धने उदास भएको छ ।
उसले झट्टै यसको समाधान पनि निकाल्यो । अबदेखि धने “इङ्ग्लिस स्पोकेन क्लास” धाउँछ । एक महिनाको कोर्स हजार रुपियाँ, ठिकै त हो नि भन्दै, धने मनमनै सोच्न थाल्छ । बस् सबैथोक मिलाएर धने गयो “थार्ड आइ इङ्ग्लिस स्पोकेन क्लास।”
क्लासमा एउटी सुन्दर म्याडमले उसको स्वागत गरिन् । `धने वेलकम ! प्लिज हेव अ सिट`। उनले हातले पनि इसारा गरेकी हुनाले धने आफ्नो आसनमा बस्यो । आज क्लासको विषय रहेछ अङ्ग्रेजी लेटर “सी” अनि त्यसको उच्चारण । म्याडमले सुन्दर तरिकाले ब्लेक बोर्डमा लेखिन् केट (cat), सेन्टर (centre), च्यालेन्ज (challenge ) सिनेमा ( cinema ), सर्किट (circuit ) अनि सबैलाई उच्चारण गर्न भनिन् । सबैले गरे । म्याडमले अरू धेरै कुरा सिकाइन् । तीन घण्टाको क्लास नयाँ नयाँ कुरा सिकेर धने झोलाभरि गृहकार्य लिएर घर फर्कियो, बेलुकी टेबुलमा अति उत्साहित हुँदै गृहकार्य गर्न लाग्यो धनेले पल्टायो अङ्ग्रेजीको `सी´ वर्ण, उसले अत्तोपत्तो केही पाएन ।
“सी”को महिमा बुझ्न् उसलाई गाह्रो पर्यो । कहिले यसको उच्चारण “च” हुने, कहिले यसको उच्चारण “स” हुने अनि कहिले “क” हुने । केही बुझेन उसले । अब भोलि के हुन्छ क्लासमा ? यही कुरा सोचेर ऊ बिस्मात् मानिरहेको थियो कि त्यत्तिकैमा उसकी कक्षा पाँचमा पढ्ने छोरी आएर भन्छिन्, “आउनु बुबा, म तपाईँलाई सिकाउँछु अङ्ग्रेजी लेटर अनि उच्चारण । एकैचोटि फनिक्स सिक्न जानुपर्दैन तपाईँ, पहिलोपटक हामीले शब्द बनाउन सिक्नुपर्छ अनि मात्रै त्यसको ध्वनि कस्तो हुन्छ जान्नुपर्छ ।”
धनेले एक महिनामा छोरीबाट राम्रोसँग अङ्ग्रेजी सिक्यो । आखिर भाषा ज्ञान हुनुभनेको धेरै ठूलो कुरा हो । अहिले धने भन्छ, “ठूलो मान्छे बनिन होइन, जरुरतको लागि मैले छोरीबाट अङ्ग्रेजी सिकेको । अङ्ग्रेजी सिक्न कुनै कोर्स गर्नु पर्दैन, आफ्नै साना छोराछोरीबाट राम्रोसँग सिकिन्छ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।