युवराज मैनाली

अफिसबाट आएर ऊ सिधै घर पस्यो र सरासर ओछ्यानमा पल्टिएर सोच्नलाग्यो, के गर्ने होला

?

उसका कानमा गुञ्जिरहेको थियो श्रीमतीको धान्नै नसकिने कचकच, त्यसमाथि छोराछोरीको रहरका बढ्दो मागहरू । फेरि आँखाअगाडि घुम्न लाग्यो चाउरिँदै गएका रोगी आमा– बाबुको अनुहार । सबै यी सबै सम्झेर उसको पूरै शरीर सिस्नोले झैँ घोचिरहेको थियो, मन भतभत पोलिरहेको थियो ।

जसोतसो निदायो । तर सपनाले समेत लखेटिरह्यो उसलाई ।

सामान्य शिक्षक ऊ, गाउँको ।

घरपरिवारको दैनिकी चलाउनसमेत कठिन भइरहेको स्थितिमा अन्ततः उसले एउटा कठोर निर्णय गर्यो ।

जायजेथाको नाममा रहेको एउटा धानखेत बन्धकी राखेर हान्नियो– खाडी मुलुक । कुनभोक, कुन निद्रा ! पचास डिग्रीको उच्च तापक्रममा आफ्नो शरीरलाई सेकेर काम गर्न थाल्यो, जसबाट कमाएको दाम बेहिसाब श्रीमतीलाई पठाइरह्यो । तर श्रीमतीको भोक सम्पत्तिको मात्र थिएन, लोग्नेले नै पठाएको पैसाको दुरुपयोग गरेर उसले परपुरुषबाट शारीरिक भोक मेटाउन थाली ।

एक दिन, धेरै वर्षपश्चात् घर फर्कियो ऊ ।

घरमा कुनै रौनक थिएन ।

आमा–बाबु दुवै बितिसकेका थिए ।

छोराछोरी अर्काका घरमा गोठाला बसेका थिए ।

स्वास्नी, परपुरुषको संगतले उसका लागि निस्तेज मुढाजस्तो बनिसकेकी थिई । यथावत् थियो त त्यही एउटा धानखेत, ननिखनिएको उही रूपमा । बस्, उसका सामु एउटै विकल्प थियो– आत्महत्या ।