स्कूलका कति कर्मचारीहरूलाई कहिले काम सकेर घर जाऊ भइरहन्छ । विद्मार्थीहरूको सङ्ख्या धेरै भएका स्कूलका शिक्षक-शिक्षिकालाई प्रत्येक विद्मार्थीलाई याद गर्न अलिकति गाह्रै हुन्छ ।
त्यो दिन मर्निङ सन स्कूलको वार्षिक परीक्षाको अन्तिम दिन थियो । धेरै नानीहरूलाई अभिभावकहरू आफैँले स्कूलको गेटबाट लगे । कति नानीहरू एकअर्कालाई ठण्डा महिनाको छुट्टी राम्ररी बिताउने साथै नवबर्षको अग्रिम शुभकामना दिँदै आफ्ना आफ्ना घर लागे । टाढा टाढाबाट आएर छात्रावासमा बस्ने नानीहरूको झन् खुशीको सिमाना नै थिएन । तर कक्षा तीनमा पढ्ने सुबोध नाम गरेको नानीचाहिँ घर फर्की आएन । सुबोधकी आमाले उसका साथीहरू अनि अरु विद्यार्थीहरूलाई पनि सोधिन् तर स्कूलबाहिर कसैले पनि उसलाई नदेखेका कुरा बताए ।
स्कूलका अधिकारी, शिक्षक-शिक्षिका अनि कर्मचारीहरूलाई सोधिन् तर कसैले सुबोधका बारेमा ठिकसित बताउन सकेनन् । त्यसरी सुबोधको पत्तो नलाग्दा घरका सदस्यहरूले पुलिसको मदत लिनलाई दार्जीलिङ सदर थाना गएर सुबोध हराएको रिपोर्ट लेखाए । कतै मानव तस्करसित सङ्लग्न व्यक्तिहरूले उसलाई अपहरण त गरेन भन्ने शङ्काले एन. जी. ओ. अनि निजी एजेन्सीहरूलाई पनि सुबोधलाई खोज्न काममा लगाए। सुबोधकी आमा मानसिक रूपमा दुर्बल भइसकेकी थिइन् ।
दुई महिनापछि सुबोधको स्कूल खोलियो । स्कूल खोलिएको दिन स्कूलको एक जना कर्मचारी (आफन्त) सुबोधको बाबालाई बोलाउन घरमै आए । स्कूल पुगेर उनले जब स्कूलभित्रको एउटा शौचालयमा आफ्नो छोराको सडेको शव देखे त्यतिबेला उनी मूर्च्छा परे । उनी सुबोधकी आमालई सम्झेर थरथर कामिरहे । उनको दोस्रो सोचले छोरालाई त गुमाइस् अब श्रीमतीलाई बचा भनिरह्यो ।
स्कूलको छुट्टी हुनसाथ दिसा बस्न शौचालय पसेको सुबोध शौचालयभित्रै बन्द भएको थिएछ । ऊ त्यहाँ किन र कसरी बन्द भए भन्ने कुरा कसैले ठिकसित अनुमान लगाउन सकेन । उसले शौचालयको एउटा भित्तामा आफ्नै गुहुले कोरेर उसकी आमाको चित्र बनाएको रहेछ अनि त्यस चित्रको वरिपरि लेखेको रहेछ—
“म बाँच्न चाहन्छु ।
बाँच्नलाई मैले आफ्नै गुहु र कागज पनि खाएँ ।
आमा, मलाई तपाईँको धेरै माया लाग्छ !
मैले आफैँलाई बचाउन सकिनँ,
मलाई माफ गरिदिनुहोस् !”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।