बिन्दासँग न्युरोडमा भेट भो वर्षौंपछि । बालसखा हौँ हामी । भेट छोटो भो ।

“मेरो घरमा आऊ ल बसेर उहिलेदेखिका कुरा गर्नुपर्छ”  उनले भनिन् ।

“हुन्छ नि !” मैले उत्तर दिएँ ।

अनि हामी छुट्टियौँ । केही दिनपछि पुगेँ बिन्दाले दिएको ठेगानामा । वरिपरि फूलबगैँचा, बीचमा कलात्मक ढङ्गले बनाइएको सुन्दर घर । फूल भएपछि यसै राम्रो लाग्ने मलाई । घरमा एक्लै थिई बिन्दा पनि । दिल खोलेर हाँस्दै गफिँदै थियौँ । अकस्मात् ऊ अँध्यारी भई । सुटबुटमा ठाँट्टिएको कोही व्यक्ति भित्र पस्यो । बिन्दाले हतारहतार उसका जुत्ता–मोजा खोली । कोट खोलेर ह्याङ्गरमा झुन्ड्याई ।  त्यसपछि हस्याङ्फस्याङ गर्दै उसका लागि चियापानी लिन दौडी । त्यो पुरुषले टाइको गाँठो खुकुलो पार्दै मतिर हेर्यो । मैले यत्ति त तत्काल पढिहालेँ कि उसका एकजोर नजर मेरो शरीरभरि सरसर्ती दौडे । बिन्दाले चिया लिएर आई । सुरुप्प पार्यो र आँखा तर्दै भन्यो, “यो घरमा एक कप मीठो चिया खान कहिल्यै पाइएन ।”

“अर्को बनाउछु नि !” काम्दै भनी बिन्दाले ।

शान्ति शर्मा

“भो अब यही खान्छु”  कडाकडा आवाजमा प्रत्युत्तर दियो उसले ।

म चुपचाप बिन्दाको अनुहार नियालिरहेँ । उसले मलाई –कहाँ, कता के कसो आदि सोध्यो ।

“म एउटी विशुद्ध गृहिणी हुँ” मैले सरल वाक्यमा सरलै उत्तर दिएँ । “ओहो, तपाईंजस्तो मान्छे घरभित्रै सीमित रहनुहुन्न नि !” अहिले निकै उत्साही बन्यो ऊ ।

“अनि बिन्दा?”  मेरो जिज्ञासा थियो ।

“उसलाई नपुग्दो के छ र ? सबैकुरा पुर्याइदिएकै छु” निर्धक्कसाथ बडो सानले बोल्यो ऊ ।

“अनि हजुर के गर्नुहुन्छ नि ?” अब मैले जान्न खोजेँ उसका बारे पनि ।

“म ? ए, म महिलाहरूको हकअधिकारका लागि पच्चीस वर्षदेखि निरन्तर लडिरहेको छु”,  उसको उत्तरले म अन्योलमा परेँ । मानिस आवरणमा कति सुन्दर देखिँदो रहेछ भन्ने लाग्यो । मैले उसको घरबाट निस्कनुअघि देखेँ, किचनबाट बिन्दाका टीठलाग्दा आँखा मलाई हेरिरहेका थिए ।