ढाकामोहन बराल

 

म आज पुण्यको चियापसलको भित्री कोठामा हा.छे. (अर्थात् हामी टोलका जुवाडेहरूको भाषामा खल्ती रित्तिएपछि खेलाडीहरूलाई मैदान छोडेर छेउमा बसेर हावा छेक्ने मान्छे) भएर बसेको थिएँ ।

“आज सदरमुकाममा तरकारी पठाए कि पठाएनन् पुण्य ,केही थाहा पायौ ?” बाहिर हरि सर बोलेको सुनियो ।

“गयो सर ।” पुण्यले जवाफ दिए ।

भान्जीले बैंकमा जागिर खान थालेपछि किनेर दिएको घडी हेरेँ दिनको एक बजेको रहेछ । आज मार्च ८ पनि रहेछ । हो आजकै दिनमा त हरि सर गाउँको स्कूलमा आउनु भएको । आउँदाको दिनमा नारी दिवश परेको हुनाले विद्यालयमा कार्यक्रम राखिएको थियो । अरू बेला नारी दिवशको दिन छात्राहरूलाई छुट्टी हुने र हामीहरू  पनि स्कुल जाने र केही समय बसेर फर्कने गर्दथ्यौँ तर उक्त वर्ष गोपाल सर र मिना मेडमलाई केही गर्नु पर्छ भन्ने लागेछ । सबैलाई अनिवार्य आउन लगाउनु भयो र  कार्यक्रम सञ्चालन गर्नु भयो । नियुक्ति पत्र बुझेर आउँदा आउँदै हरि सर सिधै स्कूल पुग्नु भयो ।

उहाँलाई त्यही कार्यक्रममा अनौपचारिक स्वागत गर्दै आफ्नो भनाइ राख्न भनियो । उहाँले नारी बन्धन र मुक्तिका बारेमा , महिला अधिकार र संघर्षका बारेमा, नारी शिक्षा र सिपको बारेमा , आत्मनिर्भरता र समानताको बारेमा गहकिलो भनाइ राख्नु भयो ।  स्कुलमा मात्र होइन स्कुल बाहिर पनि उहाँ  सक्रिय हुनु हुन्थ्यो । सामान्य  विकास निर्माणका कामदेखि हरेक सामाजिक गतिविधिमा उहाँ सहभागी हुँदै आउनु भयो । आमाहरूलाई उहाँहरूको अधिकारको बारेमा बुझाउनु भयो । आमा समूह बनाउन लगाउनु भयो ।  आमाहरूको सहकारी बनाउन सहयोग गर्नु भयो ।

छात्राहरूलाई अझ बढी पढ्नु पर्द्छ भनेर बिहान अतिरिक्त पढाउनु भयो । मिलेसम्म दिदीहरूलाई विभिन्न तालिममा पठाउन लगाउनु भयो । गाउँको कोदो र मकैको पिठो, तरकारी र दूध आमाहरूको सहकारी मार्फत  शहरमा बेच्ने व्यवस्था मिलाउनु भयो । आज सबैका आमाहरूको केही न केही आम्दानी हुन थालेको छ । रिता, गीता, हरिमाया , निर्मला सबै एक न एक रोजगारमा थिए । मेरो अन्तरात्माले प्रश्न गर्यो “गाउँका सम्पुर्ण महिलाहरु आत्म निर्भर भइसके तर म र मेरा साथी कहिले हुने हो ?”

छेउमा बसेर तास खेल्दै गरेको गोपालले हुकुमको पत्ता उठाएर फालौँ कि नफालौँ भनेर मसँग परामर्श गर्दै रहेछ ।