उसले भगवानको लामो तपस्या गर्यो । उसको कठोर तपस्या देखेर भगवान् खुशी भए र उसको अगाडि प्रकट भएर बोले, ‘भन बाला ! तिमी के माग्न चाहन्छौ ?’

उसले खुशी हुँदै भन्यो, ‘हे ईश्वर ! म यो संसारमा सबैभन्दा सज्जन भएर बाँच्न चाहन्छु । म खोटबिनाको निर्दागी जीवन जीउन चाहन्छु ।’

‘बालाको जो इच्छा !’ भगवानले यति भनेर आशिर्वाद दिनसाथ ऊ लासमा परिणत भयो र उसलाई कात्रोले घपलक्क छोप्यो ।

आफूले कल्पनै नगरेको बरदान पाएको हुनाले त्यो लासले विलाप गर्न थाल्यो, ‘हे ईश्वर ! ममाथि घोर अन्याया भयो ।’

भगवानले लासलाई भने, ‘जीव, जनावरहरू जन्मिँदा जेजस्तो हुन्छ त्यस्तै मर्छन् र निर्दागी हुन्छ । मान्छे जन्मने बित्तिकै आफूलाई पहिरन भित्र लुकाउँछ र दागी जीवन जीउँछ । निर्दागी त उसले कात्रो ओडेकै दिन मात्र हुन्छ । तिमीले जे बरदान माग्यौ, त्यो बरदान यही हो बाला !’