
राजधानीको व्यस्त पर्यटकीय क्षेत्रमा मध्यरातसम्म झुमिरहेको छ ऊ । उसको अगाडि र पछाडि चण्ड र मुण्डहरू छन् । चण्ड र मुण्डको खल्तीमा केही राखेजस्तो छ । सायद उसैको सुरक्षाको लागि होला, ऊ स्वयंसँग के कस्तो छ थाहा भएन । नाम त थाहा भएन तर नामको पछाडि एउटा ‘प्रत्यय’ जोडिएको छ उसको । ‘प्रत्यय’ समाजले दियो वा प्रहरी प्रशासनले दियो थाहा भएन ।
समात्न नसकेको अपराधी डन हुने गर्दछ आजभोलि । ऊ नाइटक्लबमा आउँदा सबै जना सतर्क हुन्छ्न् । अझ फरार अभियुक्त हो भनेर जानेकाहरूको त हंसले ठाउँ छोड्छ ।
“अरु केटाहरू खोइ ?” उसले दायाँतर्फ फर्केर सोध्यो ।
“हजुरलाई भरेको लागि व्यवस्था गर्दैछन् केटाहरूले” उसको चण्डले भन्यो ।
“माल कहाँबाट उठाएको हो कस्तो छ ?” उसले सोध्यो ।
“क्लबको गेटबाट नै हो । माल कडा परेछ भन्दै थियो बिराली । खैरेलाई बोला अनि हात पछाडि बाँधेर आँखा ढाक्दे भन्द्या थिएँ ।” अर्कोले भन्यो ।
कुनै लडाइँ जित्न जानेजस्तो गरे छाती फुलायो र क्लबबाट बाहिर निस्कियो । सिधा पार्किङमा गयो । कारको पछाडिको ढोका खोल्यो र हेर्यो, निदाएजस्तै लाग्यो । प्रश्नवाचक चिन्हले खैरेतर्फ हेर्यो ।
“केही पनि दिया होइन, उसलाई पहिला नै बढी भाहोला ।” खैरेले स्पष्टीकरण दियो ।
“क्लबको गेटमा भेट्या माल यस्तै हो ?” भन्ने सोच्यो र सबैलाई जाने इसारा गर्यो । आफू कार हाँक्न अगाडि बस्यो ।
“साला माल कडा छ भन्याथ्यो, झ्याप परेछ ।” मनमनै कुरा गर्न थाल्यो र कार रोकेर पछाडि बाँधेको हात खोलिदियो । उता बिराली र खैरे पनि बोसलाई खुसी बनाएकोमा मस्त थिए ।
रातको तीन बजे जिल्ला प्रहरी कार्यालयको गेट अगाडि एउटा कार रोकियो । कारबाट एक जना महिला र एकजना हतकडी लगाएका पुरुष निस्किए । गेटको सुरक्षामा खटिएको प्रहरी जवान नजिकै आएर हेर्यो र महिलातर्फ फर्केर सलुट मार्यो । अन्य प्रहरीहरूले हतकडी लगाएको मान्छेलाई भित्र लगे ।
बिहान सहरमा समाचार फैलियो, “चार वर्षदेखि फरार ‘डल्लेडन’ गिरफ्तार ”।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
