क्षेत्रीय प्रहरी कार्यालयमा फोनको घण्टी बज्यो ‘ट्वार्र ट्वार्र’ ।

“हेलो ? क्षेत्रीय प्रहरी कार्यालय । भन्नुस के सहायता गरौँ ?” डिउटीमा खटिएका हवल्दार साहेबले प्रश्न गरे ।

“हजुर म ज्वालापुर गाँउबाट बोलिरहेको छु । यहाँ भीषण आगलागी भएको छ । छिटै आउनु पर्यो ।”

“ल ल तपाईंहरू नआत्तिनोस् हामी तुरुन्त आइहाल्छौं ।’ हवल्दारले सान्त्वना दिँदै फोन राखे ।

डिउटीमा रहेका हवल्दारले कार्यालयको सञ्चार सेटबाट सुवेदार साहेबलाई आगलागी बारे जानकारी गराए । सुवेदार साहेबले सञ्चार सेटबाटै घटनाको विवरण फिल्ड अधिकृतसमक्ष जाहेर गरे ।

‘सर ! ज्वालापुरमा आगलागी भएको रहेछ, टोली परिचालन गर्नु पर्यो ?’, फिल्ड अधिकृतले सुपरिवेक्षण अधिकृतसँग आदेश मागे ।

हरिचन्द्र ढकाल

‘ज्वालापुरमा केही घरहरू आगोले क्षति भएको र केही व्यक्तिहरूसमेत हताहत भएको खबर आएको छ । सर, टोली पठाऊँ कि हजुर ?’ सुपरिवेक्षण अधिकृतले कार्यालय सहायकसँग आदेश मागे ।

कार्यालय सहायकले कार्यालय प्रमुखलाई सञ्चार सेटमा सम्पर्क गर्न खोजे । सञ्चार सेटमा सम्पर्क नभएपछि व्यक्तिगत मोबाइल नम्बरमा सम्पर्क प्रयास गरे, तर मोबाइलमा पनि सम्पर्क हुन सकेन ।

“सर त बिहानको लन्च लिएर आराम गरिबक्सदैछ’, ढोकेपालले सरको खबर बुझ्न गएकासँग खबर पठायो । आरामको समयमा सरलाई पहाड झरे पनि डिस्टर्व गर्न नहुने कुरा पालेमार्फत जानकारी समेत भयो ।

‘ज्वालापुरबाट तारान्तार फोनको घण्टी बजिरहेको थियो ।’

करिब एक घण्टापछि कार्यालय प्रमुखज्यूको निद्रा खुल्यो । मोबाइलमा देखिएका मिसकलहरू एकएक गरी कल गर्ने क्रममा अन्तिममा कार्यालय सहायकको पालो आयो । कार्यालय सहायकले घटनालगायत आदेश लिन गएको बेहोरासमेत जाहेर गरे ।

‘पारी गाँउमा आगलागी भएको रहेछ तुरुन्त टोली परिचालन गर्नु ?’, कार्यालय प्रमुखले आफूले नै पहिला थाहा पाएजसरी कार्यालय सहायकलाई सञ्चार सेटमा आदेश खसाए । कार्यालय सहायकले त्यसै गरी सुपरिवेक्षण अधिकृतलाई आदेश गिराए । सुपरिवेक्षण अधिकृतले छेवैमा रहेका फिल्ड अधिकृतलाई तुरुन्त परिचालन हुनको लागि सञ्चारबाटै आदेश दिए । फिल्ड अधिकृतबाट सुवेदार मेजरले त्यसरी नै आदेश ग्रहण गरे । सुवेदार मेजरले विल्लादार प्रमुखलाई आदेश दिएर अग्नि नियन्त्रणका समाग्रीसहित टोली तयार हुँदासम्ममा दुई घण्टाजति बितिसकेको थियो ।

घटनास्थलमा तीन घण्टापछाडि पुगेको प्रहरीलाई देखेर गाँउलेहरू रुष्ट भए । धेरैको घरहरू जलेर नष्ट भइसकेका थिए । वरिपरि रुवाबासी चलिरहेको देखिन्थ्यो । प्रहरी मुचुल्का उठाएर क्षतिको विवरण सङ्कलन गरी कार्यालय फर्कियो । सबै विवरणहरू कार्यालय प्रमुखसमक्ष पेश गरियो ।

घटनाको जानकारी रेडियो टेलिभिजनमा आइसकेको थियो । कार्यालय प्रमुखसँग घटनाको कार्य प्रगति विवरणसमेत माग गरेर सकिएको थियो ।

‘तिमीहरूका कारण संगठनको बदनाम भएको छ । तिमीहरूले जनताको करको पैसाले खाएको रासन तलबको भार तिर्न सकेका छैनौ । तिमीहरूको कारण म असफल हुनलागे । तिमीहरूबाट कुनै काम समयमा भएको छैन । सुरक्षाकर्मी भएर चुस्तफुर्त हुनुपर्छ भन्ने तिमीहरूमा ज्ञानै छैन ? आज कसको कारणले काम सुस्त भएको हो ? सत्यतथ्य बुझी कारबाही गर्नु ?” कार्यालय प्रमुखले सबैलाई ब्रिफिङ्ग गरिसकेपछि सहायकलाई आदेश दिए ।

विल्लादार जवानहरू ‘यसपटक पनि को को कारबाहीमा परिने हो ?’ भन्ने डरले रातोपिरो देखिन्थे ।  ‘चेन अफ कमाण्ड’मा काम गरे पनि उनीहरू कारबाही नहुनेमा ढुक्क थिएनन् ।