एक्कासी ऊ आगो भयो । अझ भनौं ऊ आफैंले आफूलाई हुर्हुरी बलेको अनुभव गर्‍यो । कार्यालयमा पुरै सन्नाटा छायो ।  ऊ गर्जियो- `म कसैको गुलाम भएर जागीर खान आएको होइन, अफिस यो पाराले चल्दैन, यसको छिनोफानो हाकिमले गर्नुपर्छ ।´ यसो भनिरहँदा ऊ आफूले चारैतिर हुण्डरी चलेको अनुभव गरेको हुनुपर्छ । कार्यालयका अधिकांशले त्यस्तै त्राहिमाम वातावरण अनुभव गरेको जस्तो देखियो ।

त्यो हाकिमको बारेमा चाहिँ तपाईंहरूले पनि सुन्नु भएकै होला । ऊ आफूलाई श्री ३ महाराज ठान्थ्यो । उसको हाउभाउ यस्तो लाग्थ्यो, एक्लै हिंड्दा पनि मानौं उसका वरिपरि `महाराजको जय होस्´ भन्ने ध्वनि सुनिरहेको कल्पनामा डुबेको छ । उसलाई लाग्थ्यो कार्यालय भनेकै ऊ हो र बाँकी सबै उसका आदेशपालक हुन् । मानौं उसका कर्मचारीहरू वेश्या हुन् र ऊ वाई हो, साम्यवाद ! त्यसो त कर्मचारीहरू पनि थरी थरीका थिए- अधिकांश त हामीतिर ग्राहक कम पठाउँछ भन्नेहरू  वा हाम्रो रेट कम लगायो भन्नेहरू थिए र केही मात्र थिए हामी वेश्या होइनौं भन्नेहरू ।

त्यो कर्मचारीको त्यस्तो उद्घोषले के के गर्ने हो भन्ने सनसनी कर्मचारीवृत्तमा आ- आफ्नो गच्छे अनुसार भययुक्त वा आशलाग्दो रूपमा फैलिएको थियो ।

त्यो हाकिम बेला बेला भण्डारा लगाउँथ्यो । त्यहाँको सहभागिता `मानव जगत् किन्ने र बिक्ने पर्यावरणीय समूहका अविभाज्य सदस्य हुन्´ भन्ने सिद्धान्तले डोरिएको हुन्थ्यो । तर, त्यस्तोमा उसका अरू कर्मचारी प्रवेश

श्रवणकुमार ढुङ्गाना

गर्ने औकात राख्दैनन् भन्ने त्यो हाकिमको दृढ मान्यता थियो । हुङ्कारी कर्मचारीको हुङ्कार पछि उसको हाकिमसँग भेटको पहिलो दिनमा पनि त्यहाँ भण्डारा चलेको थियो । अन्य कर्मचारीले टाढैबाट देखे, अलि नजिक गएर पनि हेरे । त्यो हुङ्कारी कर्मचारी त्यहाँ बोकाको राजखानी चपाउँदै थियो । उसले अरू कर्मचारीलाई देख्यो, मुस्कुराउँदै हेर्‍यो र नजिकै आएर मुस्कान सहित भन्यो `हाकिम त घटिया नै हो ।´ ऊ फेरि राजखानी चपाउन फर्क्यो । त्यो रहस्यमय मुस्कानको रहस्य कसैले खुट्याउन सकेन, प्रश्न मुखामुख गर्नुमै सिमित रह्यो ।

एकछिनको सन्नाटापछि दुईथरीका कर्मचारीहरूले भने- हामीले पनि भण्डारामा प्रवेश पाउनु पर्छ । तर तेश्रोथरीले चाहिँ देखे हुङ्कारीको मुस्कानमा रातो उज्यालो ! र सम्झे गुलाफको रातो, उदाउँदो अनि अस्ताउँदो आकाशको रातो र कौमार्य बेचिने रातो शहर ! यी सबैको पनि त आ-आफ्नै हुङ्कार छ ?

भण्डाराबाट फर्कँदै गर्दा नशालु आवाजमा हुङ्कारीको याचिका सुनियो `महाराज ! हजुर नै मेरो प्रेरणाको स्रोत होइबक्सिन्छ ´।

तर उसको त्यस्तो हुङ्कार भने फेरि कहिल्यै सुनिएन ।