रविन थपलिया (क्यानडा)

हिउँदभरि पारिपाखामा गाईबाख्रा छोडिदिनु र झिकुखोलाको पानीमा पौडेर दिन बिताउनु हाम्रो दैनिकी थियो, स्कुल पढ्दाको समयमा । शहरमा बसेर पढ्नेहरू  पनि मिनपचास बिदा भयो भन्दै गडेरे बेसी आउँथे । गडेरेबेसीमा जम्मा चौध पन्द्र घर भए पनि, हामी एउटै उमेर समुहका १०/१२ जना केटा थियौं । जहाँ जे गर्न पनि अरू आवश्यक नपर्ने ।

गाईबस्तुको दाम्लो फुकाउनु अघि हरेक दिन बा वा आमाले सानो ओरिएण्टेसन दिनु हुन्थ्यो- ” अर्काको बाली खान नदिनू, जुधेर सिङ्ग फुकाल्लान् जुध्न नदिनू, खेततिर गएर परालका कुन्यू भत्काउलान् खेततिर गोरु जान नदिनू, आलिमा सिंगौरी खेल्न नदिनू, बेलुका बाख्रा र पाठा गनेर ल्याउनू ।”  हामी हतार हतार हुन्छ भानिदिन्थ्यौं ।

अन्तिममा अलिक लाजमाने जसरी  हड्बडाएर भन्नुहुन्थ्यो, ”बोकाहरू छिप्पिएर छेक्राएका छन्, साना पाठीहरूलाई घोडा चढ्लान् , जोगाउनू  ।” हामी हाँस्थ्यौं ।

कोही अलिक सानैमा हलक्क बढेका पाठीलाई बोकाहरू लखेट्न गई हाल्थे । अनि हामी मात्तिएका बोका, पाठीका नजिक गयो कि सिम्कनाले हिर्काउने गर्थ्यौँ । बोका भाग्थे ।

यसरी हामीले साना पाठीहरू जोगाउँथ्यौं र  गोठ फैलिन्थ्यो । दशैं रमाइलो हुन्थ्यो । हाम्रा नयाँ लुगा आउँथे । चाडपर्व रमाइला हुन्थे ।

यी पाठीहरूलाई जस्तै नाबालिका जोगाउने जिम्मा तपाईं हाम्रै होइन र ? किन पलपल यस्तो भैरहेछ ?

मेरो हात अहिले पुर्पुरोमै छ ।