किशोरले आफ्नो छिमेकी भोलालाई पटक्कै मन पराउँदैनथ्यो । भोलाले कुनै राम्रो काम गर्न लाग्यो भने पनि किशोरको मन दुख्ने गर्दथ्यो ।

एकदिन भोला किशोरकी आमासँग एक महिनाभित्र तिर्ने गरी पैसा सापटी माग्न पुग्यो ।

भोलाले भन्यो, “आमा मलाई हजुरले पाँच हजारजति पैसा सापटी दिनु पर्यो ।”

किशोरकी आमाले आफूसँग पैसा नभएको जानकारी गराइन् ।

भोलाले भन्यो, “म हजुरलाई एक महिनाभित्र जसरी पनि तिर्छु । कृपया मलाई सहयोग गर्नुहोस् ।”

किशोर र किशोरकी आमाले भने, “तिमीहरूलाई कसैले पनि मन पराउँदैनन् । कसैले पनि मन नपराउनेलाई हामी पैसा भए पनि दिन सक्दैनौँ ।”

“हामीलाई कसले मन पराउँदैनन् र आमा ?” भोलाले सोध्यो ।

“तिमीहरूलाई यो टोलमा कसैले पनि मन पराउँदैनन् ।” किशोरकी आमाले भनिन् ।

“हामीलाई किन मन पराउँदैनन् आमा ?” भोलाले सोध्यो ।

“तिमीहरू साँचो बोल्दैनौ रे ! जहिले पनि झुठो कुरा बोल्छौ रे ! त्यसैले तिमीहरूलाई कसैले पनि मन पराउँदैनन् ।” किशोर र किशोरकी आमाले भनिन् ।

केही समयपश्चात् किशोरले अर्को छिमेकी भुवनसँग दुई महिनाभित्र तिर्ने कबोल गरेर दश हजार रुपैयाँ सापटी माग्यो । तर आफूले मागेर ल्याएको रकम एक वर्षसम्म पनि तिर्न सकेन । त्यसपछि किशोरलाई टोलका सबैले मन पराउन छाडे ।

एक दिन किशोरकी आमा भोलासँग पूजाका लागि फूल माग्न पुगिन् । भोलाका बगैँचामा सुन्दर फूल फुलेका थिए ।

त्यस्तैमा भोलाले नम्र स्वरमा भन्यो, “हजुरहरूले हामीलाई टोलमा कसैले पनि मन पराउँदैनन् भन्नु भएको थियो । सबैले मन नपराउने व्यक्तिका घरमा फूल माग्न आउन कसरी सक्नुभयो नि ?”

किशोरकी आमाले कुनै जवाफ दिइनन् । जुन बाटो आएकी थिइन्, फरक्क त्यही बाटो फर्किन ।