नारायणप्रसाद न्यौपाने

गाउँमा एउटी बुढी आमै थिइन् । उनले थुप्रै सन्तानलाई जन्माइन् । धेरै दुःख, कष्ट गरेर सन्तानलाई हुर्काइन् । बढाउँदै गइन् । अनि, जवान बनाइन् । त्यसपछि आफ्ना सन्तानलाई बोलाएर भनिन्, “अब तिमीहरू क्षमतावान् भएका छौ । सबैले पसिना बगाउन सक्ने भएका छौ । आफैँ पौरख गर । अब, मेरो शक्ति पनि कमजोर भएको छ । तिमीहरू आफू पनि बाँच र मलाई पनि बचाओ ।” यति भनेर आफ्नो अधीनमा रहेको सारा जमिनको सीमा रेखालाई देखाइन् ।

त्यसपछि सन्तानहरू पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशातिर फिजारिएर बसे । तर, सधैँ बसेरै खाने बानिलागेका, उनीहरूलाई जिम्मेवारी दिँदा पनि आफ्ना हात खुट्टा चलाउन सकेनन् । पसिना बगाउन  सकेनन् र खोजेनन् पनि । उनीहरू सधैँ बाहिरबाट आएका अन्य व्यक्तिबाट नै काम गराउन थाले । यस्तो बानीले उनीहरू आफू नै रित्तो हुने अवस्थामा पुगे । सधैँ भोगविलास र मोजमस्तीमा मात्र रमाउँदा रमाउँदै आफ्नो जमिन पनि छिमेकीलाई सुम्पिन बाध्य भए । आफ्ना सन्तानले दिँदादिँदै पुर्खाले आर्जन गरेको सम्पत्ति सिद्धिन नै लागेको रहेछ ।

एकदिनआमाले छोराहरूको प्रगति हेर्न भन्दै चारैतिर आँखा नियालिन् । तर उनले देखाएको सीमाना नै हराएछ । त्यहाँ सबै छिमेकीले मोज गरिरहेछन् । आफ्ना पुर्खाले आर्जन गरेको सम्पत्ति आज आफ्नै सन्तानले लुसेर धुजाधुजा पारेछन् । कति सुन्दर हरियाली फाँट थियो । सबै चिराचिरा पारेर खण्डित बनाएछन् । हरियाली सबै हराएछन् । जीवजन्तु र जडीबुटीको समेत विनास भएको देखिन् ।

त्यसपछि आफ्ना छोराहरूलाई बोलाएर आमाले भनिन्, “मैले तिमीहरूलाई कति दुःख गरेर हुर्काएँ र बढाएँ । तिमीहरू पसिना बगाउन सक्ने भएपछि लौ अब गरेर आफैँ खाओ भनेर यो जमिन सुम्पिएकी थिएँ । खै, आज तिमीहरूले आफ्ना नङ्ग्रा त खियाउन सकेनछौ । सधैँ अर्काको दास मात्र बन्न पुगेछौ । हेर त, छिमेकीले तिम्रो सारा सम्पत्ति हडप्दा पनि एक शब्द उच्चारण गर्न नसकेर लम्पसार सुतिरह्यौ । अब, तिमीहरूको हरिबिजोग हुने अवस्था देखेपछि म पनि जिउँदै मरेजस्तो भएँ । अब तिमीहरूले मलाई पनि हेर्नु पर्दैन” भन्दै छेउमा रहेको नदीमा आमा हेलिनपुगिन् । आमालाई नदीको पानीले बगाउँदै बगाउँदै लग्यो । सन्तानले भने हेरिरहे ।