१. काल विभाजनको लघुकथाः मजदुर दिवस
तुलसीहरि कोइराला
आज मई–१, अर्थात् मजदुरहरुको अन्तर्राष्ट्रिय दिवस । कलकारखानामा काम बन्द छ । सम्पूर्ण मजदुर उत्सव मनाउने तयारीमा छन् । व्यानर, झण्डा, प्लेकार्डहरु ठीक गर्नमै व्यस्त छन् ।
सडकमा मजदुरको भीड देखियो । रङ्गीचङ्गी व्यानर, झण्डा, प्लेकार्डहरु देखिए । जुलुस खण्डखण्डमा विभाजित थियो, बेग्लाबेग्लै सडकमा अघि बढिरहेको थियो । नारा घन्किरहेका थिएः मजदुर एकता – जिन्दावाद ! विश्वका मजदुर – एक हौँ !
जुलुस जोसाजोसमा थियो । एक–अर्को समूहदेखि उत्तेजित हुँदै अघि बढिरहेको थियो । सडकमा गुडेका केही गाडी फुटाइए, पसलमा तोडफोड गरियो । अगाडि–पछाडि हिँडेको प्रहरीको भ्यानले केही प्रतिक्रिया जनाएन । अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन मजदुरहरुबाट आ–आफ्नो हकको उपयोग भैरह्यो ।
ओल्लोपल्लो सडकमा हिँडिरहेका मजदुरका जुलुस एकाएक आम्नेसाम्ने हुनपुगे । जुलुस अब मुठभेडमा परिणत भयो । नारा लाग्न थालेः फलानो पार्टी – जिन्दावाद ! मजदुर एकता – जिन्दावाद ! विश्वका मजदुर – एक हौँ !
प्रहरीको हस्तक्षेपपछि मुठभेड पुनः जुलुसमा परिणत भयो र उनै नारा दोहोरिँदै अघिबढ्यो ।
एक–अर्को समूहका मजदुरहरुको जुलुसमा अर्को पार्टीका मजदुरहरुको घुसपैठ भएको आशङ्कामा केही मजदुर समातिए । उनीहरुलाई निर्घात कुटियो । मजदुर दिवसका दिन, मजदुरको जुलुसमा, मजदुरको रगत बगेको देखेर सडक रमितेहरु चुकचुकाउँदै हिँडिरहे । प्रहरीको लाठी र अश्रुग्यासले मध्यस्थताको काम ग¥यो ।
जुलुस गन्तव्यमा पुग्न बाँकी नै थियो । मजदुरको हकहितका नारा लगाउँदै अघि बढिरह्योः विश्वका मजदुर – एक हौँ ! मजदुर एकता – जिन्दावाद !
###
(नेपाली लघुकथामा ५० को दशकलाई सक्रियकाल भनिनु पर्छ । यसै समयदेखि नेपाली लघुकथामा सक्रियता बढेको हो । यसै कालको एक सशक्त हस्ताक्षर हुन् तुलसीहरि कोइराला । तुलसीहरि कोइराला “मधुपर्क” साहित्यिक मासिक पत्रिकाको लामो समयदेखिको सम्पादक र लघुकथा समाज, नेपालको प्रथम केन्द्रीय महासचिवम पनि हुन् । यी दुबै भूमिकामा रहेर कोइरालाले नेपाली लघुकतताको विकासमा महत्त्वपूर्ण कार्य गरेका छन् । तुलसीहरि लघुकथा कम लेख्छन् । उनीको लेखनमा भुइँमान्छेहरूको अस्तित्त्व प्रष्ट देखिन्छ ।
प्रस्तुत लघुकथा “मजदुर दिवस” मजदुरमाथि लेखिएको यथार्थ लघुकथा हो । कथामा फुट देखिए पनि एकताको नारा लगाइएको छ ।)
२. संग्रहभित्रको लघुकथाः विभेद
सत्या अधिकारी
विभेद त मेरो घरैबाट शुरुभएको हो।बुवा सधैं भन्नुहुन्थ्यो” हेर! तिमीदुई जुम्ल्याहा दिदीभाईमा भाईलाई चाहिँ जसरी पनि म डाक्टर पढाउँछु।” तर भैदियो ठिक उल्टा।
क्याम्पसमा राम्रो अङ्क ल्याएर सरकारी छात्रवृत्तिमा डाक्टर भएँ म। भाईले चाहिँ जसो तसो हेल्थ असिस्टेन्ट पढ्यो।
तर बिडम्बना! एच. ए. पढेको मेरो भाईलाई बिरामीले डा. साप भन्दै नमस्ते गर्थे, तर आँफुलाई भनें “सधैं म सिस्टर हैन डाक्टर हुँ है! भन्दै स्पष्टीकरण दिनुपर्थ्यो।
###
(नेपाली लघुकथा क्षेत्रमा पछिल्लो पटक “उमंग” लघुकथा संग्रह प्रकाशन गरि सत्या अधिकारीले आफूलाई आधिकारिक रुपमा नै आफूलाई लघुकथाकार साबित गराएकिछिन् ।
सत्या अधिकारी लघुकथा समूहहरूमार्फत चिनिएकी एक लुकथाकार हुन् । घोष्ट राइटिङ्गको प्रायोजनमा साहित्यपोष्टले सञ्चालन गरिरहेको साप्ताहिक लघुकथा प्रतियोगिताको उनी एक उत्कृष्ट लघुकथाकार पनि हुन् । उनी पारिवारीक र नारी चेतनायुक्त लघुकथा लेख्न रुचाउँछिन् ।
प्रस्तुत लघुकथा “बिभेद” नारीमाथि गरिने बिभेदको कथा हो । कथालाई छोटो र चोटिनो बनाउने सत्याको प्रयास जारी छ ।)
३. समूहभित्रको लघुकथाः छद्मवेश
वसन्त अनुभव
“ल ल तुरुन्त भागी हालौँ प्रिया । हेर त मान्छे यतै आउँदै छ ।” घाँस चपाउँदै गरेको मृगले आत्तिँदै भन्यो।
मृगीले घाँसबाट टाउको उठाएर मृगले देखाए तर्फ पुलुक्क हेरी । शरीरमा गेरुवा वस्त्र धारण गरेको ब्यक्ति टाढाबाट उनीहरू भए तर्फ आइरहेको थियो।
“नआत्तिनु न स्वामी ! ऊ बौद्ध भिक्षु पो त शिकारी होइन नि । अहिंसक र शाकाहारीसँग पनि के डराउँनु ।” उडाएको भावमा हाँसेर भन्दै मृगी पुनः चर्न थाली । मृग पनि ढुक्क भएर चर्न थाल्यो ।
“ड्याम्म ..!” चर्को आवाजले मृगीको कानको जाली फुट्ला जस्तो भयो । उसले अत्तालिँदै टाउको उठाएर हेरी । मृग रगताम्मे भएर छट्पटाइ रहेको थियो। हातको बन्दुकलाई फुक्दै गेरुवा वस्त्र धारण गरेको छद्मवेशी शिकारी हतार हतार आइरहेको थियो। डरले मृगीले त्यहाँबाट कुलेलम ठोकी ।
मृगी बिलौना गर्दै राजदरबारमा उजुर गर्न पुगी । राजाले उक्त छद्मवेशी शिकारीलाई पकड्न लगाए ।
“ल मृगी यो तिम्रो स्वामीको हत्यारा हो । तिमीले यसलाई अङ्गभङ्ग, मृत्युदण्ड वा जे सजाय दिन चाहन्छ्यौ, दिन सक्छ्यौ ।” बहस पछि फैसला सुनाउँदै राजाले भने ।
राजाको फैसलाले शिकारीको सातोपुग्लो उड्यो । निन्याउँरो एवं अध्यारो अनुहार लगाउँदै मृगी तर्फ एकोहोरो हेरिरह्यो ।
“महाराज ! यसलाई अङ्गभङ्ग गरेर वा मारेर मेरो मरेको स्वामी फिर्ता आउँने होइन । महाराज समक्ष खाली एउटै बिन्ती गर्न चाहन्छु, जो हकिकतमा जे हो त्यहीँ स्वरुपमा रहनुपर्यो । छद्मवेशमा हिड्न नपाउने उर्दी बक्सियोस् ।” मृगीले भावुक हुँदै भनी ।
###
(नेपाली लघुकथाको बिकास र बिस्तारमा फेसबुकमा देखिएको लघुकथा समूहहरूको महत्त्व पनि उलेख्य छ । यसै कार्यमा सक्रिय छ “नमस्ते आधुनिक लघुकथा मञ्च” । यो मञ्चले लघुकथाको प्रकाशन र प्रसारणको साथसाथै मानव सेवाको कार्य पनि गर्दै आइरहेको छ । यसै समूहमा देखिएको लघुकथा “छद्मवेश”लाई हामीले यता सजाएका छौ ।
वसन्त अनुभव लघुकथाकारको अलावा लघुकथाको बिकास र बिस्तारमा पनि लागेका छन् । नमस्ते लघुकथा मञ्चको एडमिन सदश्य हुँदै “तीन लघुकथा”को खोजीमा सक्रिय उनी समसामयिक बिषयका लघुकथाहरू लेख्न खप्पिस छन् । वसन्तका स्वैरकल्पनायुक्त लघुकथाहरू बढि शक्तिशाली छन् ।
प्रस्तुत लघुकथा “छद्मवेश” स्वैरकल्पनायुक्त लघुकथा हो । पशुको पीडा र भावनाबाट कथाकारले मानवलाई सचेत बनाउने प्रयास गरेका छन् ।)
४. समसामयिक लघुकथाः व्रत
रचना शर्मा
शिवरात्री दिन आज । धेरै महिलाहरु पशुपतिनाथको मन्दिरमा दर्शनको लागि लामबद्ध भएका छन् । एक पत्रकारले पालैपालो सबै तिर्थालु महिलाहरुलाई आजको दिनमा शिवजीको व्रत गर्नुको कारण सोधिरहेका थिए । त्यसै क्रममा मर्निङ वाक गर्दै हिंडेका नवराज पनि त्यहाँ आइपुगे ।
महिलाहरूको मुखारविन्दबाट “आफ्ना श्रीमानको लामो आयुको कामनाको लागि व्रत र पूजा गरेका हौं ।” भन्ने जवाफ पत्रकार माझ भनेको उनले पनि सुने।
सधैंको शिवरात्रिमा पूजा गर्न आउने आफ्नी श्रीमती पनि यतै कतै होलिन् भन्ने सोचि वरिपरि लाइनमा खोजे तर देखेनन्। “सबैका श्रीमती पतिको आयु बढाउन साथै दीर्घ जीवनको कामना गर्न पशुपति आएका छन् तर मेरि श्रीमतीलाई मेरो कुनै वास्ता छैन ।” मनमनै एक्लै फत्फताउँदै उनी घर पुगे ।
घरमा पुग्नासाथ श्रीमतीले भनिन् -“ए आइपुग्नु भयो ? आज त कत्ति ढिलो गर्नुभएको ? ल आउनुस् भोक लाग्यो होला , अब खाना खाऊँ !”
उनी भित्रभित्रै मुर्मुर्रिए मात्र । केही बोलेनन् ।
तयार पारेका मिष्ठान्न भोजन श्रीमतीले आफुलाई र श्रीमानलाई पस्किन थालिन् ।
“दुनियाँका श्रीमती आज श्रीमानको दीर्घ जीवनको लागि व्रत बसेका छन् , तिमीलाई चाहिँ कति छिटो हसुर्न बेर ?” उनले आफ्नो रिस ओकले र खान बसे ।
श्रीमानको यस्तो चाला देखेर श्रीमतीले सम्झाउँदै भनिन् -” हेर्नुस् ! पूजा त मैले श्रद्धापूर्वक घरमै गरिसकें । भ्याइनभ्याई टाढा टाढाका मन्दिरमा गएर पूजा र व्रत गर्दैमा केही हुनेवाला छैन । न भोलेनाथ खुसी हुनुहुन्छ , न हजुरको आयु लम्बिन्छ ।”
“भैगो तिमीसँग वहस गर्नु बेकार छ ।”
उनले अझै सम्झाउँदै भनिन् – ” पोहोरसम्म त म पनि भोकै बस्थें नि ! आखिर परिणाममा अनेकौं रोग र त्यही ग्यास्ट्रीक सिवाए अरु के पाएँ , भन्नुस् त ?
###
(हिन्दु धर्ममा देवादी देव महादेवको विशेष पूजा र आरती गर्ने विशेष दिन शिवरात्रीको सन्दर्भलाई इङ्कित गरेर लघुकथाकार रचना शर्माले व्रतलाई फरक कोणबाट कथामा प्रस्तुत गरेकिछिन् । कथा समसामयिक छ ।
रचना शर्माले नेपाली लघुकथाको उन्नयनको लागि कथालाई अभिनयमा वाचनको फरक धारको स्थापना गरेकिछिन् । चालीसको दशकमा नेपाल टेलिभिजनबाट सन्तोष पन्तले पाक्षिक रुपमा सञ्चालन गरेको “नरिसाउनु है ?” कार्यक्रम झै कथाको हरेक पात्रमा आफ्नै एकल अभिनय सजाएकी शर्मालाई लघुकथाकार र पाठक/दर्शक सबैले उत्तिकै रुचाएका छन् । उनी आधुनिक नेपाली लघुकथाको एक एडमिन पनि हुन् । रचना आफ्ना हरेक लेखन र प्रस्तुतीहरूमा फरक हुन खोज्छिन् ।
प्रस्तुत लघुकथा “व्रत”मा शिवरात्रीको महिमा र स्तुतिको वर्णन थाहा नपाउदो किसिमले गरिएको छ । कथाको अन्त्यमा भने स्वास्थ्यलाई महत्त्व दिइएको छ ।)
५. मलाई मन परेको लघुकथाः किराना पसल र मन्त्रीको दफ्तर
मेघनाथ दाहाल
उ किराना पसल अघि झोला लिएर उभियो l पसलेले धेरै बेर उसलाई हेरेन l ग्राहक धेरै पातलो भए पछि भने सोध्यो “के चाहियो ?”
उ “चामल”
पसले “कति ?”
उ “पाँच ”
पसलेलाई उसको औकात थाह थियो l दोकानमा उपलब्ध सबै भन्दा सस्तो चामल दिएर साविकी दाम लियो l दाम दिंदै गर्दा उसको अनुहारमा कृतज्ञता थियो l
लगभग किराना दोकानकै जस्तो संवाद मन्त्रीजीको दफ्तरमा पनि भयो l सचिवले एकजना लम्बोदर समतलीय ठेक्कावाल लिएर मन्त्रीजीको दफ्तरमा पसे l
“कुन चाहिँ सेंग्सनको” मन्त्रीले सचिवलाई सोधे l सचिवले विभागको नाम मात्र भने l मन्त्रीले फेरी सोधे “कति ?” सचिवले प्रतिशत मात्र भने l लम्बोदरले बिर्फ्केश मन्त्रीलाई दिए l मन्त्रीको ब्रिफकेश थाप्ने मुद्रा किनारा पसलमा चामल थाप्नेको जस्तै कृतज्ञ थियो l
###
(नेपाली लघुकथामा देखिएको पछिल्लो हस्ताक्षरहरूमा मेघनाथ दाहालको नाम संभावनायुक्त छ । उनी बिम्व र प्रतिकलाई लघुकथामा सजाएर चोटिलो लघुकथा लेख्छन् । उनीको कथालाई लघुकथाका पाठकहरूले रुचाएका छन् ।
प्रस्तुत लघुकथा “किनारा पसल र मन्त्रीको दफ्तर” तुलनात्मक कथा हो । कथामा एक निम्नवर्गिय ग्राहक र दमदार मन्त्रीको मुद्रालाई तुलना गरि समान देखाइएको छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।