

हरिचन्द्र ढकाल
‘त्यो बडघरेले हामीलाई दरिद्र नै मान्छ के ! खानै नपाएका निमुखा हौँ र हामी भनेको ? तिमी किन अरुले दिएको जिनिस सधैँ लिन्छौ हँ ?’ साइँलाले जेठालाई हकार्यो ।
‘हाम्रो बाँझो बारीमा पाखुरी चलाम न बरु ! हाम्रा गाई डियालाई राम्रो अन्नपातको व्यवस्था गरौ , दुई पइसो आई हाल्च नी, तेल्ले कहिलेसम्म देला फेरि ?’ माइलाले साइँलाको कुरामा सहमत जतायो ।
‘ककुरलाई कलो दिए झैँ पो गर्छ बा ! तेल्ले दिएकै खानु पर्ने रे ! सम्झिँदै कम्परी तातेर आउछ भन्या’ काइँलालाई पनि बडघरको व्यवहार मन परेन ।
‘यति जाबो जाहान त भारी बोकेर नि पालिएला त ! भिखारी झैँ जसले जे दियो त्यो लिँदै नहिँड दाइ’ कान्छाले त झन् दाजुलाई भकुर्ला झै गर्यो ।
सबैका कुरा सुनिसकेपछि जेठाले आफ्ना कुरा सुनाए – उनी बडघर हुन उनको रवैया चारैतिर छ । फेरि हामीलाई मात्र पनि त भाग पठाएका हैनन नि । अहिले नलिए पछि पर्दा हात फैलाउने ठाँउ का छ त ? चाहिने जति मागे हुन्छ पनि त भनेकै छन् । पौरख बिना नै खान पुग्छ भने के आपत्ति भो र डाम्ना हो ।
‘हुन्न हुन्न त्यसले दिएको लिने बानी पार्नु हुन्न क्या ! फिर्ता लैजा भन्देउ दाइ ।’ माइलाले दाजुतिर हेर्दै भन्यो । ‘जाहान केटाकेटीले पनि मागेको खासै जाति मानेका छैनन्’ माइलाले नै थप्यो ।
‘सोच है केटा हो, भोलि ! भोलि अप्ठ्यारो पर्ला , फेरि तिम्ले गर्दा हो भन्न पाउन्नौ नि’ जेठाले आफ्नो कुरा स्पष्ट पारे । ‘म त सानैदेखि बडघर कै रेखदेखमा हुर्केको मान्छे हु, तिमीहरुको कत्तिको पौरख चल्छ मलाई था छ । फेरि मुखमा माड हाल्न समस्या होला’ जेठाले भूत भविश्य सम्झाए ।
पाँचै भाइ बसेर अब बडघरले जे दिए पनि सहजै नलिने बरु बडघरले गरेका कामको पनि खबरदारी गर्ने , बडघरको हेपाहा प्रवृत्ति नसहने कुरामा सहमत भए ।
‘कसको कुरा काटेर बसेका छौ वय बातमाराका खलक’ टुप्लुक्क आँगनमा देखिएका बडघरका जेठा छोराले हेपेरै भने । ‘कुनै इलम सिलम छैन सधैँ अरुकै खेदो खनेको मात्र देखिन्छ । यत्रो बारी खाली छ काम गर्नु नी’ कम्ता हपारेनन बडघर जेठाले ।
बडघर जेठाको कुरा सकिन नपाउँदै पाँचै भाइको एउटै स्वर निस्कियो – ‘बडघरबाट बक्स भएको सगुन बाटेर खान लागेको हजुर ।’
हरिचन्द्र ढकाल
सशस्त्र प्रहरी निरिक्षक
जनकपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ मंसिर २०८२, सोमबार 










