छविलाल खड्का

 

नेपाल खाल्डोका समाचारपत्रहरूले ठूला ठूला अक्षरमा लेखे –  “मल्टीट्रेड कम्पनीका एजेन्टहरू निर्बाध रुपले अनौठा सामानहरु बेच्ने धन्दा चलाइरहेका छन् ।”

“वाइह्यात समाचार ! हाम्रा आँखाले नदेख्ने ? यी पत्रकारका आँखाले कसरी देखे ?” देश सञ्चालन गर्ने जिम्मा लिएकाहरुको प्रतिक्रिया थियो।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा एक फुटपाथे व्यापारी जोड जोडले कराउँदै थियो – “लौ ! चस्मा आयो । चस्मा आयो । चस्मा आयो । अमेरिकन मोडेलका चस्मा । चाइनिज मोडेलका चस्मा । इन्डियन मोडेलका चस्मा । छानीछानी लानुस् । छानीछानी लानुस् ।”

कोटमा अनौठो लोगो लगाएका केही सुकिला मुकिलाहरु बाहिर आउँदै थिए । फुटपाथेको होहल्लाले उनीहरुको ध्यान तान्यो ।

क फुटपाथेतिर गएर एउटा चस्मा छिरायो । चकित पर्दै भन्यो – ” गज्जब रहेछ  । यसको कति हो, भाइ ?”

“मात्र पच्पन्न सय हजुर । अमेरिकन मोडेल हो ।”

उसले आश्वस्त पार्न खाेज्याे ।

कले उक्त चस्मा किन्यो । लगाएर बाहिरियो ।

ख पनि उतै तानियो । अर्को मोडेलको चस्मा लायो । भन्यो – “अरे वाह ! दामी देख्दो रहेछ । मन पर्यो । कति दिनु पर्छ भाइ ?”

” …………….. मात्रै  । लानुस् दाजु चाइनिज मोडेल हो । अन्तर्राष्ट्रिय ब्राण्डको ।” ऊ बखान गर्दै गयो ।

खले पनि चस्मा किन्यो । लगाउँदै बाहिरियो  ।

ऊ चिच्याइरहेको थियो ।

ग पनि दोमन गर्दै उसैतिर ढल्कियो । एउटा चस्मा लगायो । मुसुक्क मुस्कुरायो । भन्यो – “यी के कत्ना परथा, भैया ?”

“अरे भाइजान, लेलिङ्गे । सिरिफ …….. है । ये बहुत आच्छा है । इन्डियन मोडेल है ।” सजातियता दर्साउँदै गयो ।

खल्तीबाट पैसा निकालेर थोरै बार्गिनिङ्ग पश्चात किन्यो । लगायो । बाहिरियो ।

फुटपाथे खुसी हुँदै अर्को साथीसंग कुरा गर्दै थियो – “मल्टी ट्रेड कम्पनीका चालबाजी यिनलाई के थाह ? अब मज्जा आउने भयो । कोही प्रोअमेरिकन, कोही प्रोचाइनिज त कोही प्रोइन्डियन ….!”