यकिना अगाध

सर्पले भ्यागुतोको आधी जीउ निलिसकेको थियो ।

अब कसैगरी आफू बाँच्न सकिन्न भन्ने भ्यागुतोलाई थाहा थियो । यसकारण सबैसँग बिदाइ माग्दै ऊ कारुणिक स्वर निकाले क्याँक क्याँक रोइरहेको थियो ।
त्यो दर्दनाक समयमा एउटा फट्याङ्ग्रो उच्छिटिएर भ्यागुतोको मुख छेउमा पछारिन आइपुग्यो । भ्यागुतोले एकसेकेन्ड पनि ढिला नगरी हत्तपत्त त्यो फट्याङ्ग्रोलाई एकै सासमा निल्यो ।

नजिकैको रुखमा बसेर यो सबै दृश्य हेरिरहेको कागलाई ताजुब लाग्यो र सोध्यो, ‘ए भ्यागुतो भाइ । तिमी आफैं सर्पले आधी निलिसकेको छ । केही मिनेटमा तिमी यो संसारमा हुने छैनौ । यस्तो बेलामा तिमीलाई त्यो फट्याङ्ग्रो खान के आवश्यक थियो र ?’

भ्यागुतोले भन्यो, ‘यो मेरो अन्तिम आहारा हो । मेरो जीवनमा अब यस्तो सुवर्ण मौका कहिल्यै आउनेवाला छैन । म यो मौका गुमाएर दुखी हुन चाहन्न ।’