१. काल विभाजनको लघुकथा – खोर्सानीको बुटो
खेमराज पोखरेल

उहिलेको कुरा हो । म ५ कक्षामा पढ्थेँ । स्कूल टाढा थियो । खेतीपाती दर्बिलो थिएन । खान लाउनकै त दुःख थिएन । तर नगदको पउलता थिएन । फी तिर्न, पुस्तक किन्न, कपी किन्न भने नगद निकाल्न गाह्रो थियो । किनकि हामी धेरै भाइ र बहिनी थियौँ । परिवार ठूलो थियो ।

आमाले एउटा ठूलो गह्रामा खोर्सानी रोप्नु भएको थियो । तिनताक खोर्सानी बेच्न हुँदैन भन्ने मान्यता थियो । तर आमाले त्यो कुरा मान्नु भएन । खासमा यो सन्तानका लागि आमाले गरेको विद्रोह नै थियो ।

खेमराज पोखरेल (अमेरिका)

मलाई अझै सम्झना छ कि तिनताक आमालाई गाउँका मान्छे भन्थे – ‘हेर हेर, बाहुनी भएर खोर्सानी बेच्छिन् मचान–घरेकी बुहारी । कलीयुग लागेको ।’

म आमालाई खोर्सानी रोप्न, गोड्न, टिप्न सघाउँथेँ । मधेशको ठाउँ, गर्मी प्रचण्ड हुन्थ्यो । आमा र म दुवै पसिनाले निथ्रुक्क भिजेका थियौँ ।

खोर्सानीको बुटोमा पानी छर्केको हुनाले बुटाभरि पानी थियो । अनि मैले आमालाई सोधे थेँ – ‘आमा, यो खोर्सानीको बुटोले पनि हाम्रोजस्तै पसिना काढ्छ ?’

आमा मेरो अबोध बालापन देखेर हाँस्नुभएको थियो र भन्नुभएथ्यो – ‘हो यसले पसिना काढ्छ र त फल्छ । फलेपछि पैकारीले किन्छन् र पैसा दिन्छन् । अनि पो त तिम्रो फिस तिर्ने हो नि, दसैँमा नयाँ लुगा लगाउने हो नि ।’

म दसैँमा नयाँ नाना लाउन पाउने लोभमा रोमाञ्चित भएको थिएँ ।

समय बित्यो । म बेलायतमा छु । आमाको असियौँ जन्मदिन थियो । मैले आमालाई फोन गरेँ र क्षेमकुशल सोधेँ ।

भलाकुसारीपछि फोन राख्नेबेलामा आमाले भन्नुभयो – ‘बाबु, खोर्सानीको बुटोले अझै पसिना काढिरहेको छ ।’

###

(नेपाली लघुकथाको ७० को दशकलाई सञ्जालमैत्री काल भनिनुपर्छ । यसै समयदेखि नेपाली लघुकथा सामाजिक सञ्जालभित्र छिरी विश्वभर फैलिरहेको छ ।
कथाकार खेमराज पोखरेल यसै समयमा देखिएका क्रियाशील स्रष्टा हुन् । छोटो समयमा नै उनले ५ वटा लघकथा कृति नेपाली साहित्यमा दिएका छन् । उनी नव लघुकथाकारहरूका प्रिय गुरु पनि हुन् । पोखरेल आफ्नो लेखनलाई यथार्थ र आञ्चलिकपनको जलप लगाउन खप्पिस छन् ।

प्रस्तुत “खुर्सानीको बुटो” लघुकथामा खेमराज पोखरेलले संस्मरणात्मक शैली प्रयोग गर्दै आमाको मेहनत र महत्त्वलाई दर्शाएका छन् । कथामा थाहा नपाउँदो किसिमले आञ्चलिकता भेटिन्छ ।)

 

२. सङ्ग्रहभित्रको लघुकथा – पवित्र
उमा सिजापती

पशुपतिको पूर्वपट्टि बागमतीको किनारमा एक जोडी कुरा गर्दै थिए ।

“आयुष, किन अनेकौँ बहाना निकाल्छौ ? बरु मलाई धेरै दहेज दिने केटीको घरबाट प्रस्ताव आयो भन न । किन अनेकौँ बहाना निकालेर पन्छिन खोज्दै छौ ?”

उमा सिजापती

“प्रिती, त्यसो हैन । बाआमाको इच्छा विपरीत जान सक्दिनँ । आफैँ बुझ्ने प्रयत्न गर ।”

दुवै एकै प्राइवेट कम्पनीमा काम गर्थे । आयुष मिश्र धनी परिवारको छोरो थियो । प्रिती झा गरिब परिवारकी छोरी थिइन् ।

आयुषले सम्झाउन कुनै कसुर छोडेको थिएन ।

“हेर त प्रिती, तिमी यो बागमती र देवतामा चढाएको फूलझैँ पवित्र छौ । भँवराले चुसेको फूल नि पवित्र हुन्छ र नै मन्दिरमा चढाइन्छ ।”

” हो आयुष, पहिलेको बाग्मतीजस्तै पवित्र तिमी भेट्नुअघि थिएँ । तर पछि अहिलेको बाग्मतीजस्तै भएकी छु । टाउकोमा लगेर अच्च्याउँलान् ।तर पिउन सक्दैनन् । त्यस्तै रस चुसिसकेको फूलमा भँवरा फेरि कहाँ बस्छ र ? चढ्ने त मात्र पत्थरको देवतालाई न हो।”

###

(उमा सिजापती प्रदेश नं. १ बाट लघुकथासङ्ग्रह प्रकाशन गर्ने पहिलो महिला लघुकथाकार हुन् । उनीको “परी” लघुकथासङ्ग्रह प्रकाशित छ । उमा ग्रामीण र पूर्वेली लवजयुक्त लघुकथाहरू बढो रोजकताका साथ लेख्छिन् । नारीको चाहना, पीडा र अनुभूतिहरू उमाको लघुकथाको प्रायः विषय हुन् ।

प्रस्तुत लघुकथा “पवित्र”मा कथाकार उमा सिजापतिले नारीलाई फूलसँग तुलना गरेकी छिन्, र नारीको पवित्रताको चर्चा गरेकी छिन् ।)

 

३. समूहभित्रको लघुकथा – पूर्जा
किशोर केसी

किशोर केसी

हाइवे छोडेर कच्ची रोडतिर मोडिएको थोत्रो बस चिप्लो बाटोमा चाक बटार्दै घस्रँदै थियो । भीरको भित्तामा भी आकारको टर्निङ घुम्ने क्रममा एउटा चक्काले लत्तो छोडेर डिलमुनि लत्रेपछि हाहाकार भयो ।

दिन बलिया रहेछन्, धन्न गुन्टी खेलेन ।

यात्रुहरू ओर्लेर चालकलाई तथानाम गाली गर्न थाले, “गाडी भीरमा हाम्फालेको भए हाम्रो ज्यान के हुन्थ्यो ? हाम्रो ज्यान तलमाथि भा”भए हाम्रा परिवारको के हुन्थ्यो ?”

स्टेयरिङको आडमा घोत्लिरहेको चालक मौन थियो । … मानौँ, ऊ मान्छे नभएर फगत गाडीको एउटा पूर्जा हो ।

###

(नेपाली लघुकथाको विकासमा फेसबुक पेजमा देखिने लघुकथाको ग्रुप तथा पेजहरूको पनि महत्त्व छ । यस महत्त्वभित्र रहेको एक समूह हो “लघुकथा सौन्दर्य” । यस समूहमा लघुकथासम्बन्धी हरेक कुराहरू पोष्ट गर्न पाइने कुरो छ । यसै लघुकथा सौन्दर्यमा किशोर केसीले “पूर्जा” लघुकथा पोष्ट गरेका थिए । किशोर बेला बेला लघुकथा लेखी पेजहरूमा पोष्ट गर्ने लघुकथाकार हुन् । उनी थोरै शब्दमा व्यङ्ग र यथार्थ पोख्ने क्षमतावान् लघुकथाकार हुन् ।

कथाकार किशोर केसीको प्रस्तुत लघुकथा “पूर्जा” जम्मा ७२ शब्दहरूको संयोजनमा बनेको चोटिलो लघुकथा हो । यस कथाले संवेदना र स्वार्थलाई बढो चोटिलो प्रकारले प्रस्तुत गरेको छ । कथा चटनीजस्तै ट्वाक्क बनेको छ ।)

 

४. समसामयिक लघुकथा – प्रजातन्त्र
खेमलाल पहारी

खेमलाल पहारी

दृश्य १

सर, यो प्रजातन्त्र भनेको के हो ?

जनताले जनताद्वारा जनताकै लागि गरिने शासन ।

शासन भनेको ?

राज्य सञ्चालनको विधि जहाँ स्वतन्त्रता हुन्छ ।

स्वतन्त्रता भनेको नि ?

यो प्रजातन्त्रको एउटा मुख्य अङ्ग – मुटु हो ।

त्यो भनेको ?

सोच र क्रियाकलापको स्वतन्त्रता ।

मतलब ?

तेरा बा नेता हैनन् ? उनैलाई सोध ।

दृश्य २

बा प्रजातन्त्र भनेको के हो ?

जनताले जनताद्वारा जनताकै लागि ………………

ल ल भयो; त्यहाँ स्वतन्त्रता भन्ने पनि होला । त्यो के हो ?

विचार, अभिव्यक्ति र क्रियाकलापको स्वतन्त्रता ।

त्यसो भए यी पुलिस पानीको फोहरा, अश्रुग्यास, अदालत, जेल किन त ?

तेरो सरलाई सोध ।

सरले हजुरलाई देखाउने, हजुरले सरलाई, आखिर यो प्रजातन्त्र भनेको के हो ?

जनताले जनताद्वारा जनताकै लागि ………….

ह्या ! सरले पनि त्यही भन्नुहुन्छ, हजुर पनि………

कहाँ ? को सरले ? यो त लिङ्कनले भनेका हुन्, लिङ्कनले ।

लिङ्कनले भनेर हुन्छ ? हामीले बुझ्नु पर्दैन ?

पर्छ, र बुझ्छस् पनि ।

तर कहिले, बा ?

पख्, एमसीसी आउन दे ।

###

(देश यस समय प्रजातन्त्रको सप्ताहमा गुज्रिरहेको छ र एमसीसीको आगोमा जलिरहेको छ । तर जनताले यी दुबै विषय खासै बुझिरहेका छैनन् । यी दुबै विषयलाई बढो सान्दर्भिकताको साथ कथाकार खेमलाल पहारीले “प्रजातन्त्र” लघुकथामा व्यक्त गरेका छन् । कथा अत्यन्तै सान्दर्भिक छ ।

चितवनका खेमलाल पहारी पछिल्लो समय लघुकथाको उम्दा हस्ताक्षर भएर देखिएका छन् । विषयको सशक्त उठान, द्रूत कथानक र झड्केदार अन्त्य खेमलालको लघुकथा लेखनको शिल्प हो ।)

 

५. मलाई मन परेको लघुकथा – अर्थबोध
किशोर पहाडी

किशोर पहाडी

एकदिन छोरोले सोध्यो, “आमा, डाँका भनेका कस्ता हुन्छन् ?”

मैले जवाफ दिएँ, “हाम्रा राजनैतिक नेताजस्ता हुन्छन्, बाबू ।”

छोरो अलि मन्दबुद्धिको, बुझेनछ । मलाई सम्झाउँदै सोध्यो, “होइन क्या, मैले डाँका भनेको… …”

“अँ त, हाम्रा राजनैतिक नेता डाँकाजस्ता त हुन् नि … … उनीहरूले जनताका आशा, इच्छा र आकांक्षामाथि डकैती गरेका छन् । ठूलो आशा देखाएर जनतालाई बिल्लीबाँठ पारिदिएका छन् उनीहरूले ।… … देश र जनताको कुनै वास्ता छैन । आफ्नो स्वार्थ पूरा गर्नमा मस्त छन् उनीहरू ।… …”

त्यसपछि मन्दबुद्धिको मेरो छोरो बुझक्कड बनेर खुशी भयो । मलाई लाग्यो छोरोको प्रश्नको उत्तर दिएर मैले तमाम भ्रष्ट नेताहरूप्रतिको आफ्नो आक्रोश शान्त पारेँ ।

एकदिन, हाम्रो घरमा साँच्चीकैका तीन डाँकाहरू दन्दनाएर पसे । तीनै जनाका आँखाहरू ठूलाठूला थिए । पाखुराहरू मांसपेशीय थिए । छातीहरू चाक्ला थिए, र ती तीनै जना हतियारले सुसज्जित थिए ।अचानक अगाडि आएका तिनीहरूलाई देखेर मेरो मुखबाट निस्क्यो, “आम्मै…. डाँकाहरू पो आएछन् ।”

छोरो र मबाहेक कोही थिएनौँ घरमा, त्यसैले म डराएँ । आत्तिएर मैले के गर्ने भनी सोच्न नै भ्याइनँ । तर मेरो छोरोचाहिँ निर्धक्क थियो । ऊ फटाफट ती डाँकाहरूको अगाडि गएर कम्मरमा हात राखी उभियो र सोध्यो- “तपाईंहरू कुन पार्टीको हँ ?”

###

(नेपाली कथा र लघुकथामा कथाकार किशोर पहाडीको नाम ओजपूर्ण छ । तीसको दशकदेखि नै नेपाली आख्यानलाई कथाकार पहाडीले यथार्थवादी धारबाट पाठक सँगसँगै हिँडाएका छन् । समाजको हुबहु दृश्यलाई कथामा चटक्क सजाउने अद्भुत क्षमताका धनी पहाडी पछिल्लो समय कथाकारिताको अलावा साहित्यको साँचो खबर तत्कालै पोस्ट गर्न “शब्दपथ”को कारिन्दो पनि भएका छन् ।

प्रस्तुत लघुकथा “अर्धबोध”मा मन्दबुद्धिको बालक पात्रको प्रयोगबाट लघुकथाकार किशोर पहाडीले नेता र पार्टीलाई सिधै झटारो हानेका छन् ।)