“यिनै मानिसका जातले चुलाचुलामा पुर्याएकाले तँ मातेको त होस् नि ! नत्र भीर, पहरा र बगरमा बज्रिँदै, हण्डर खाँदै बग्नुबाहेक के हैसियत थियो र तेरो !”

लोकनाथ पुडासैनी

“अनि के त ? आखिर म नभई यो धर्तीका कुनै वनस्पति वा प्राणीले बाँच्न सक्छन् ? तँलाई पनि ह्याँ ओच्छिन म नभई हुँदैन क्यारे ! के कुरा गर्छस् ?”

“भो भो चुलामा चढ्न पाएँ भनेर फुर्ती नगर ! तँ जहाँ जहाँ पुगे पनि खाल्टोमा नपुगी सुख छैन । जसरी पनि मेरै टाङमुनिबाट छिर्नु पर्छ । मैले नै छोपेर तेरो संरक्षण नगरी हुँदैन । के ठूलो पल्टन्छस् ?”

“मलाई मात्रै के भन्छस् ! तँलाई पनि त मान्छेका दैलादैलामा नपुगी सुख छैन !”

“तैँले अन्तैबाट गए हुँदैन ? यहीँबाट मुन्टिनु पर्छ ? मेरै छाती चिर्न आउन पर्छ ?” सडक रनक्कै रन्कियो ।

“हैन, यो ठाउँमा तैँ मात्र लम्पसारिनु पर्छ भन्याँ ? तेरै मात्र रजाइँ ? अरूको हक छैन ? कस्तो नाप्पेको कुरा गर्छ यार यो !””

“वर्षौँसम्म कति दुःख कष्ट बेहोरेर भँड्खालाहरूको व्यवस्थापन मिलाएको हुँ ! तेरा फुट्या आँखाले देख्याथिनस् र ? त्यतिखेर त्यो विपद्को बेलामा मलाई सघाउन कोही मुन्ट्याथ्यौ ? ऐले डोजर लिएर आउँछ । आखिर मैसँग टाँस्सेर हिँड्नु पर्ने रैछ त ! उतिबेलै सल्लाह गर्न तँलाई कसले रोक्याथ्यो ? ऐले जोरी खोज्न आउँछ । पड्काइदिउँ गालामा  ?””

“ए, …, पख पख । हात चैँ नहाल । के को दैला र चुलाको कुरा गर्छौ तिमीहरू ? मलाई नाङ्गै झुन्ड्याएको कति भयो, थाहा छ होला नि,  छाड्द्यौ ती कुरा । तिमी हामी बाझेर हुँदैन । बरु अब केबुल, टेलिफोनहरूलाई पनि बोलाऊ र यही मेसोमा भूमिगत प्रवाह हुने व्यवस्थाका लागि शसक्त आन्दोलन गरौँ । नाङ्गै झुन्डिँदा झुन्डिँदा म पनि दिक्क भइसकेँ ।””

सडक र खानेपानी पाखुरा सुर्केर हात हालाहालको स्थितिमा पुगेका बेला छेवैमा उभिएको बिजुलीले खबरदारी गरेपछि दुवैजना हच्किए र उसको प्रस्तावलाई समर्थन गर्दै संयुक्त आन्दोलनको तयारीमा लाग्ने प्रण गरे ।