एकाबिहानै राजीव सुतिरहेको अवस्थामा उसको भतिज ओछ्यानमा आएर सोध्छ — अङ्कल, आज नेपाल बन्द हो ?’

‘खै ! भतिज मलाई थाहा भएन । अचेल पिसाब फेर्न ट्वाइलेट जाँदा ठेस लाग्यो भने पनि नेपाल बन्द गरिन्छ । किन तँलाई स्कुल जान मन लागेन कि कसो हो ?’

‘त्यस्तो त होइन । आज साथीको व्रतमन छ, मलाई स्कुल छिट्टै आइज् भन्थ्यो ।’

‘चुपचाप स्कुल जानुको सट्टा केको व्रतमन र बिहे ताक्छस् । खुरुक्क स्कुल जानु । बुझिस् ?’

‘साँच्चै भन्नुहोस् न अङ्कल, आज नेपाल बन्द हो त ?’

‘ल ! आज नेपाल बन्द ।’

‘किन ?’

द्रोण अधिकारी “गुयेली”

‘तीन महिनादेखि बिहे गर्ने भनेर राम्री केटी खोजेर हिँडेको, जुत्ता फाटे तर भनेजस्ता केटीले पत्याउँदा पनि पत्याएनन् । सबै टोलटोलमा उर्दी जारी गर्, बजार कलकारखना बन्द गर्न । यो पनि भन्, खतरनाक समूहको बन्द हो । जे पनि हुन सक्छ । कतै तेरो इच्छा पूरा हुन्छ कि त ?’

अङ्कलको कुरा सुनेपछि भतिज उफ्रदै कोठाबाहिर गयो । राजीव पनि पूरै उज्यालो भइसकेकाले उठेर सरसफाइमा निस्कियो । सधैँ मुख धोएर कोठामा आइपुग्दा चिया लिएर आउने भतिजको भने अत्तोपत्तो थिएन । उसले आज आफैँ चिया लिएर आयो र एक्लै कोठामा बसेर पिउन थाल्यो ।

एकछिनपछि ‘आमा, आज नेपाल बन्द भयो नि !’ भन्दै घर छिरेको भतिजालाई देख्यो । राजीवले भतिजालाई बोलाउँदै भन्छ — राकेश, यहाँ आइज् त ! तँ कहाँ गएको थिइस् । काम छैन तेरो ?

‘नेपाल बन्द गर्न ।’

‘हँ ! खुस्कियो कि कसो ?’

‘अघि आफैँले नेपाल बन्द गर्ने भन्नुभएको होइन ? मैले सबैतिरका टोलटोलमा प्रचार—प्रसार गरेर आँए । त्यसैले अब साँच्चै नेपाल बन्द भयो ।’

‘मेरो नाम लिएर टोलभरि बेइज्जत गरिस् कि कसो ? तँलाई त जिस्क्याएको मात्र थिएँ नि !’

‘मलाई त्यति बेवकुफ नसम्झनु है अङ्कल, आइडियावाल मान्छे पो त …….. !’

घरअगाडि सयौंको सङ्ख्यामा सवारीसाधन गुड्ने सडक थियो । आज त्यहाँ एउटा पनि सवारी गुडेका थिएनन् । राजीव आश्चर्यमा पर्यो । साँच्चै नेपाल बन्द भयो कि कसो भनेर उसको मनमा खुलदुली चल्छ । भात खाएर बजार डुल्न भनेर निस्कियो ।

‘रामलखन, किन पसल बन्द ?’

‘अरे दाजु, थाहा छैन ? आज झनै खतरनाक समूहले नेपाल बन्द आयोजना गरेको छ । पसल खोल्यो भने ज्यान जाने धम्की छ । कसको आँट छ र पसल खोल्ने ?’

‘के छ रिक्सावाल ?’

‘ठीक छ दाजु , यसरी नै बन्द होस् यही कामना छ । हामीले मात्र सुख्खा जीवन कति बाँच्नु त ? यसो छोटोमोटो रकमले रसाउन पाउनु पर्यो नि हैन त ?’

‘के भयो दाइ ?’

‘के हुनु भाइ ! सुत्केरी हुन नसक्दा मृत्यु भयो नि ! एम्बुलेन्स बोलाउँदा आएन । बोकेर ल्याउँदा—ल्याउँदै बाटैमा………।’

राजीव बन्दको प्रभाव हेरेर आफैँसँग गुनासो फर्कियो — थुइक्क समय ! होहल्लाकै भरमा यस्तो सन्त्रास फैलने ! अकालमा मर्नु पर्ने ! विनाकारण शोषित हुनुपर्ने, भोकभोकै मर्नु पर्ने ! हल्लैहल्लाले सुन्दर भविष्यमाथि खेलवाड गर्ने कस्तो नेपाल बन्द हो ?