१. काल विभाजनको लघुकथा : बैसाखी
दिव्य गिरी
`सरकार तपाईँको हो ?´
`होइन ।´
`कसको त ?´
`जनताको ।´
`जनताको सरकार यस्तै हुन्छ ?´
`सबैले मानेकै छन् । कस्तो हुनुपर्ने ?´
`जनताको जस्तो ।´
`….´, ऊ बोल्न सकेन ।
`जनताको सरकारमा जनता नै शोषित र पीडित हुनुपर्ने, ॐ ?´
`…´, उसले अझै पनि जवाफ दिएन । प्रश्नकर्ताको अनुहारमा पुलुक्क हेर्यो ।
`म यहाँ सरकार खोज्न आएको । खोइ कहाँ छ सरकार ?´, उसले रिसाएजस्तो गरी सोध्यो ।
`तपाईँले खोजेको सरकार मै हुँ ।´ उसले रून्चेस्वरमा भन्यो ।
ऊ सरकार देखेर छक्क पर्यो । उसलाई विश्वासै लागेन । ऊ जो आफूलाई सरकार हुँ भनिरहेथ्यो, ऊ आफू स्वयम् पनि दुब्लो, लिखुरे दयालाग्दो र दीनहिनझैँ बैसाखी टेकेर उभिइरहेको थियो ।
###
(नेपाली लघुकथाको ३० को दशकलाई स्वर्णकाल भनिनुपर्छ । यसैकालको एक सशक्त हस्ताक्षर हुन् लघुकथाकार दिव्य गिरी । गिरीले ३० को दशकदेखि निरन्तर लघुकथा लेखिरहेका छन् ।
दिव्य गिरी थोरै शब्दमा ओजपूर्ण लघुकथा लेख्ने अग्रज लघुकथाकार हुन् । उनी विशेषत: बिम्बात्मक लघुकथाहरू लेख्न रुचाउँछन् । प्रस्तुत लघुकथा “बैसाखी” बिम्बात्मक लघुकथा हो । यस लघुकथामा बैसाखी टेकेको एक व्यक्तिझैँ सरकार दीनहिन, लिखुरे र दुब्लो देखाइएको छ । नेपाली जनताको लागि नेपालको प्रत्येक सरकार यही लघुकथाको बिज वाक्यझैँ दयालाग्दो छ ।)
२. पुस्तकभित्रको लघुकथा : छाडा कुरा
विष्णु भण्डारी आचार्य
नाै वर्षीया छोरी पिङ्कीले आमासँग यौनाङ्ग र यौनसँग सम्बन्धित जिज्ञासा राख्दै थिई । गीताले प्रेमपूर्वक साउती बाेलीमा झपारिन्, “धत् लाटी, त्यस्तो कुरा गर्नुहुन्छ ?”
“किन हुँदैन आमा ?”
अरुले सुन्लानझैँ सानो आवाजमा भनिन् गिताले, “त्यस्ताे छाडा कुरा नभन्नू अबदेखि, लाज हुन्छ । बुझिस् ?”
पिङ्कीले मन नलागी नलागी बुझेँको भाका टाउको हल्लाई । त्यसपछि पनि बेलाबेला पिङ्कीले त्यस्तो कुरा उक्काउन खोज्थी, गीता हप्काउन थालेकी थिइन्, “तँ छाडालाई कति भन्नू त्यस्ता कुरा नगर भनेर !”
डरले आमालाई त्यस्ता कुरा भन्न छोडी पिङ्कीले ।
दिन बित्दै गयो तर पिङ्की एउटा गहिरो चिन्तामा डुबेको देखिन्थी । निराश अनुहार पारेर बस्ने, कसैले बोलाउदा पनि झर्किने रिसाउने गर्थी । उसको बानीव्यवहार देखेर घरका सबै जना दिक्क थिए ।
गीताले दिक्दारिएर कराउन थालेकी थिइन्, “यल्लाई के भको, यसको बेउरा देखेर नि मत वाक्क भैसकेँ, न मन लार पढ्नु छ, भाइबुइनासँग पनि झर्क्याे, कुटो । यसाे कहिलेकहीँ काम परेकाे बेला न सघाउनुहुन्छ, नजानेकाे कुरा पढ्न सिकाउनुहुन्छ, ती राजु अङ्कल आउँदा पनि किन आकाे हाेला भनेझैँ गरी रिसाउन थालिहाल्छे ।”
स्कुलमा समेत पढ्नमा तेज केटी बुद्धु हुदै गएकी थिई पिङ्की । साथीहरुसँग पनि घुलमिल हुन छाडेर एकान्त रोज्न थालेकी थिई । पिङ्कीलाई अस्पताल लानैपर्ने भयो । समस्या यही थियो – न्यास्रीने, कसैसँग नबाेल्ने, खान मन नगर्ने ।
डाक्टरकाामा लगेपछि गीतालाई बाहिर पठाइन् लेडिज डाक्टरले । एकछिनपछि बोलाइन् भित्र र सोधिन् गितालाई ,“यौनको बारेमा तपाईँसँग केही कुरा सोध्दैनथिन् छोरीले ?”
“भन्थी, तर म त्यस्ता छाडा कुरा नगर भनेर कराइदिन्थेँ ?”
“तपाइँले त्यही गल्ती गर्नुभो । पिङ्की बलात्कृत भएकी छे । पाँच-छ महिनादेखि । तपाईँको घरछेउकाे राजु भन्ने व्यक्तिले, कहिले ललाइफकाई, कहिले डरत्रास देखाएर बलात्कार गर्दै आएको छ, बारबार ।”
###
(विष्णु भण्डारी आचार्यको पहिलो लघुकथा कृतिको नाम हो “फेसबुक आइडी” । यस कृतिलाई नारी स्रष्टा समाजले प्रकाशनमा ल्याएको हो ।
लघुकथाकार विष्णु भण्डारी आचार्यले अनेक विषयमा सशक्त लघुकथाहरू लेखेकी छिन् । विशेषत: उनी नारी संवेदनशीलता र मनोवैज्ञानिक विषयमा जमेर लघुकथा लेख्छिन् । प्रस्तुत लघुकथा किशोरीको यौन मनोविज्ञानमा केन्द्रित लघुकथा हो । अभिभावकले नै छोरीको पीडालाई गम्भीर भएर नबुझिँदिदा कुरोको छेउटुप्पोले कुन रुप लिँदोरहेछ भन्ने कुरो यस लघुकथाले उजिल्याएको छ । यो लघुकथा नाबालक छोरी हुने हरेक अभिभावकहरूले पढ्नु श्रेयकर छ ।)
३. समूहभित्रको लघुकथा : साथ
देवेन्द्र अर्याल ‘आँसु’
अन्ततः चोरीको आरोपमा ऊ समातियो ।
पुलिसले धेरै नै केरकार गर्यो । शरीरभरि निलडाम । यातना खप्न नसकेपछि उसको मुखबाट एक्कासि आवाज निस्कियो, ‘हजुर ! चोरी गर्ने एउटा, यातना पाउने अर्को ?’
पुलिसले पुनः केरकार गर्यो, ‘होइन, के भन्छ यो ? उसो भए चोरी गर्ने को त ?’
‘श्रीमान्, जब म कैयन् दिन भोकभोकै यहाँ भौँतारिएँ, माग्दा कसैले केही पनि दिएन । पेटले खानेकुराको प्रबन्ध गर्न ढिला भएको जनायो । यदि खानेकुराको व्यवस्था नगर्ने हो भने समग्र अस्तित्व नै समाप्त हुने चेतावनी पनि दियो । उक्त चेतावनीका कारण मनले खानेकुराका लागि धेरै सोच्यो र दिमागलाई त्यसका लागि अगाडि बढ्न सङ्केत गर्यो । दिमागले त्यो ठिक नभएको जनाउँदा उल्टै पेटले खानाबिना तिमीहरुको अस्तित्व सम्भव छैन भन्यो । यदि अस्तित्व बचाइराख्ने हो भने खानाको प्रबन्ध तत्काल गर भनी उसले ठाडो आदेश दियो ।
पापी पेटको त्यो कर्तुत भनौँ वा सबैको अस्तित्व जोगाउन अन्ततः चोरी गर्न पेट बाध्य भयो । यसमा आँखा, कान, नाक, हात, खुट्टा अरुहरुको पनि साथ थियो श्रीमान् ।’
उसको जवाफ सुनेर केरकार गर्ने पुलिस आफ्नो भोको पेट सुम्सुम्याउँदै मेसतिर लाग्यो ।
###
(नेपाली लघुकथाको विकास र विस्तारमा “लघुकथा सौन्दर्य”को आफ्नो छुट्टै योगदान छ । यो फेसबुक पेज बिस्तारै अघि बढिरहेको छ तर लघुकथाको यावत् काम र कुराहरू अटाउन सक्ने पनि बनेको छ । यसै पेजमा लघुकथाकार देवेन्द्र अर्याल “आँसु”ले केही समय पहिले “साथ” लघुकथा पोस्ट गरेका थिए ।
देवेन्द्र अर्याल “आँसु” संस्कृतविद्का रुपमा चिनिन्छन् । तर उनी पचासको दशकदेखि नै लघुकथामा लागेका व्यक्ति हुन् । स्वैरकल्पनामा आधारित लघुकथा लेख्न रुचाउने देवेन्द्र लघुकथामा उखानहरू पनि राख्ने गर्दछन् । प्रस्तुत लघुकथा “साथ” भोकको कथा हो । पेटको भोक मार्न क-कसको साथ र सहयोग लिई कस्तो कस्तो परिपञ्चहरू गर्नु पर्ने कुरो यस लघुकथाले देखाएको छ । यो कथाले गरिबीको परिवेश देखाएको छ ।)
४. समसामयीक लघुकथा : जाडाका पाहुना
प्रभादेवी पौडेल
नवविवाहित भाउजूलाई देवरले भन्यो, “पर्सी मेरो चितवनको साथीको बिहे हुँदैछ । साँच्ची, हजुरको माइती कहाँनेर रे भाउजू ?”
उनी खुसी हुँदै भनिन्, “हुन्छ जानुहोस् बाबु । भेटघाट पनि हुन्छ र हजुर आएको देखेर बाआमा निक्कै खुसी हुनुहुन्छ । त्यहीँ चौबिसकोठी झरेर पूर्वतर्फको बाटो समाउनू, पाँच मिनेटमै घर आउँछ । अनि बाबु, चोकमा गएर विद्युतमा काम गर्ने महेश्वर भट्टराईको घर भनेपछि जस्तै आँखा नदेख्नेले पनि देखाइदिन्छ ।”
भाउजूका कुरा सुनेपछि ऊ मख्ख परेर बिहेमा गयो । पुग्नेबित्तिकै बिहे घरमा हाजिर भएर एउटा साथी लिएर भाउजूको माइतीमा गयो । ‘ज्वाइँ नानी’ भनेर उनीहरुले निक्कै सम्मान गरे । खानपिनपछि भाउजूका बाले भन्नुभयो, “बाबु, बेलुका फर्कदा कतिबेला हुन्छ, बिहेघरमा घन्चमन्च सहनुभन्दा सुत्न यतै आउनू नि ।”
यो कुरा सुनेर ‘हुन्छ नि बा, आइहाल्छौँ’ भनेर उनीहरु गए । बिहेमा उसका साथीहरु धेरै भेटिए । बेहुली लिएर फर्कदा निक्कै अबेर भएको थियो । ऊ र उसका साथीहरु दुलही भित्रिन नपाउँदै दाइको ससुरालीतिर लागे ।
उनीहरु मस्तसँग निदाइरहेका थिए । दश जना साथी छोरीका देवरले भोकै लिएर आएपछि आमा बिरामी भए पनि टाउकामा फेटा बाँधेर खाना पकाउन थाल्नुभयो । बाले आफूलाई नभएर पनि ओढ्नेओछ्याउने व्यवस्था गर्नुभयो । रातभरि उनीहरु गुनगुन गफ गर्ने र हाँस्ने गरेर घरका कोही सुत्न पाएनन् ।
भोलिपल्ट भोज सकेर ऊ घर गयो र आमालाई भन्यो, “आमा, भाउजूका माइती त त्यति हुनेखाने त लागेन ।”
“को को गएका थियौ र बाबु ?”
“हामी दश जना थियौँ आमा ।”
उसले कुरा सक्न नपाउँदै सबै सुनिरहेकी हजुरआमाले झर्कदै भन्नुभयो, “बाबु, उनीहरुको दोष होइन, तैँ बेकुप होस् । बिहेमा गएको मान्छे त्यत्रा साथी बटुलेर भोकै आधा रातमा जानुहुन्छ ? अनि जाडोको महिना घरकालाई बाहेक फाल्तु दश जोर ओढ्ने र ओछ्याउने कसका घर हुन्छ ? आफ्नै घरमा पनि विचार गर ? तँ त छोरोमान्छे, भान्छा उम्किएपछि पाहुना आउँदा कति तनाव हुन्छ भन्ने कुरा त हामी छोरीमान्छेलाई मात्रै थाहा हुन्छ । त्यसैले बुद्धि भएको मान्छे कसैको घर पाहुना हुन जाँदा यी कुरा विचार गरेरमात्र जानुपर्छ बाबु ।”
###
(यतिखेर जाडो र विवाहको मौसम छ । जाडोको तापक्रम ज्यादै तल झरेको छ भने विवाहाको मौसमको तापक्रम ह्वात्तै चुलिएको छ । प्रस्तुत लघुकथामा प्रभादेवी पौडेलले यी दुवै कुरालाई कुसल संयोजन गरेकी छिन् ।
प्रभादेवी पौडेल पछिल्लो समय लघुकथामा सक्रिय लघुकथाकार हुन् । चितवन निवासी उनी आफ्ना प्राय: लघुकथाहरूमा आञ्चलीकताको जलप लगाउन रुचाउछिन् र कथामा पारिवारिक रङ घोल्छिन् । प्रस्तुत लघुकथा “जाडाका पाहुना” ले चितवनको परिवेशलाई हल्का स्पर्श गर्दै ससुरालीमा दु:ख दिनेहरूलाई सबक सिकाउने सानो प्रयास गरेको छ । कथाले भान्छा उठिसकेपछि पाहुनालाई खुवाउन नारीलाई कति असजिलो हुन्छ भन्ने कुरो पनि नेपथ्येमा उतारेएको छ ।)
५. मलाई मन परेको लघुकथा : तेस्रो नेत्र
सुधीर कुमार “सुमन”
“लौन साहिँला, मेरो घरको राँगा पनि तेरो मासु पसलमा ल्याएर कटाउन पर्यो । तँलाई नि हुनी, मलाई नि हुनी ।” कान्छोले रामेलाई घरै बोलाएर भन्यो ।
रामे केही बोलेन, क्वारक्वार्ती काजीको अनुहार हेरिरह्यो ।
“जातले पाएको भए आफ्नै आँगनमा लडाउँथे । तँलाई गुहार्नै पर्थेन । मिलाएर दिम्ला, पर्सि दाम्लो लिएर आइजा ।” काजी खलकको हुकुमी ठाँट देखाउँदै कान्छो बोल्यो ।
“हुन त हुन्थ्यो नि काजी भाइ । दुई वर्ष भयो तिम्रो घरको गोरस खान थालेको । मैले खाने दूध र त्यो पाडाले खाने दूध एउटै भएपछि त हामी दाजुभाइ भैहालियो नि । दुई पैसोको लोभमा भाइ मार्न त भएन नि । यस्तो काममा पनि तेस्रो नेत्र गरेर भो ?” रामेले एकै सासमा सुनायो ।
जिउनीको जग्गामा दाजुलाई जिल्लाएको कान्छो नराम्ररी निचोरियो । अनुहार अँध्यारो भयो । रामेको मनमा थैथै लागिरह्यो, “भैगो, लैजान्न भन्दिनु पर्ने । व्यर्थै लम्बाचौडा गफ गरियो ।”
###
(सुधीर कुमार “सुमन” पछिल्लो समयको राम्रा लघुकथाकार हुन् । विषयको उठान, कथाको वेग र समापनलाई कुशल कालीगडीले शब्दलाई तौलिएर लघुकथामा सजाउने विशेष खुबी सुधीरसँग छ । उनी थोरै लघुकथा लेख्छन् तर आफ्ना प्रत्येक लघुकथाहरूमा प्राण भर्ने काम गर्छन् ।
प्रस्तुत लघुकथा “तेस्रो नेत्र” थोरै शब्दमा लेखिएको गहकिलो लघुकथा हो । कथाकारले पशुवधको साहारा लिँदै भाइमाराको प्रसंगलाई चोटिलोसँग प्रहार गरेका छन् ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।