शिवप्रसाद पाण्डे

सन्ते उराठलाग्दो पाखाको माथि चौरको बेन्चमा बसिरहेका थिए । अरू केही मानिसहरू आआफ्नो तरिकाले अन्य बेन्चमा बसेका देखिन्थे । एक जना साठी वर्ष काटेजस्तो अग्लो व्यक्ति ठुलो थैलो बोकेर आए । त्यो भारी भिरालो पाखाको  माथितिर सम्म ठाँउमा बिसाए । झोलाबाट प्यारा गलाइडिङको पाल झिकेर भुईँमा फिँजाए । अल्छी मानी-मानी पालका रस्सीहरू मिलाएर हातमा समाए । त्यसपछि अगाडिपट्टि एउटा झोला भिरे । उनी प्यारा उडाउँदै ओरालोतिर हुत्तिए तर पालको एकतिरको टुप्पा कुच्चियो । उनी भिरको छेवैमा पुग्दा मुस्किलले घुँडा टेकेर रोकिए ।

उनले एउटा नमिठो आवाज निकाले । एउटा कुकुर उनीतिर हेरेर भुक्यो । सायद त्यो कुकुरले ती व्याक्तिलाई सहयोग गर भनी अरूलाई सन्देश दिएको हुनुपर्छ । सन्ते दौडेर गई ती व्यक्तिलाई उठाउन चाहन्थे तर कुनै व्यक्तिलाई जेसुकै भए पनि नछुनू भनिएकाले जानबाट हच्के । त्यहाँ भएका कसैले पनि आँखा उठाएर हेरेनन् । ती व्यक्ति खोच्चाउँदै पाल तानेर माथि आए । दोस्रो प्रयासमा उनी उडे ।

सन्ते आफू केही वर्षपहिले तीन हजार तिरेर प्यारा ग्याइडिङ गरेको परिघटना सम्झे, “म उड्दा बाह्र जना साथीहरू उड्ने स्थानमा पुगेर बधाइ दिएका थिए । मोबाइलबाट लाइभ दिएको थिए । एक सय पचास जनाले प्रत्यक्ष हेरेर मन पराएका थिए । भुईँमा ओर्लँदा माला लगाइदिएका थिए । भिडियो फेसबुकमा हाल्दा सात सयभन्दा बढी लाइक र कमेन्ट आएको थियो । साथीभाइहरूसँग उडेको अनुभव सुनाउँदा आउने आनन्द भिन्नै थियो । यहाँको मनोरञ्जन यस्तो सुक्खा-सुक्खा ! यी व्यक्तिले आन्तरिक रूपमा आफैँले के कति आनन्द महसुस गर्छन् होला ? हामीकहाँ दुई जनाको झगडा पनि केही रसिलो हुन्छ । गाली गर्दा पनि केही न केही प्रशंसा मिसाइएको हुन्छ । नेपाल र अमेरिकाबिच यही फरक रहेछ । अरू हाँसेको र नानीको बाबु काँसेको … I”