उनलाई थाहा थिएन, कहाँ जादैछु।

अरु बेलामा भन्दा त्यो दिन फुपू निकै राम्री देखिएकी थिइन् । उनले नयाँ गुन्यूचोलो लगाएकी थिइन् । रातो मुंगाको माला गलामा सजिएकी निकै सुन्दर देखिन्थिन् । मुंगासँगै उनको गलामा रातो तिलहरी पनि झुण्डिरहेको थियो ।
“फुपूको गलामा तिलहरी ?’

यसभन्दा पहिले मैले फुपूले कहिल्यै तिलहरी लगाएको देखेको थिइनँ ।
फुपू पनि तिलहरी लगाउन पाएर निकै फुरुंग देखिएकी थिइन् ।
‘फुपूको सिउँदोमा सिन्दुर ?’
मेरो आँखा उनको सिउँदोमा पर्यो । मेरो मन चसक्क भयो ।
##
‘ढिलो भै’सक्यो, अब हिँड्नु पर्छ,’ भन्दै मेरी आमा बाहिर निस्कनु भयो ।
‘कहाँ जान लाग्नु भएको ?’
मलाई यतिबेलासम्म उनीहरु कहाँ जान लागेको भन्ने थाहा थिएन ।
‘फुपूको घर,’ मेरी आमाले मेरो कपाल सुम्सुमाउँदै भन्नु भयो ।
‘फुपूको घर?’ मलाई अच्चम्म लाग्यो ।
‘फुपूको घर यही होइन र ?’ जन्मेदेखि नै मैले फ़ूपूलाई यही घरमा देखेको थिएँ ।
‘होइन, बिहे गरिसकेपछि पनि जन्मघर छोरीचेलीको कहाँ रहिरहन्छ र ?’
आमाले खास्टो ओड्दै भन्नु भयो । अलि पर हजुरआमा मलिन अनुहार लगाएर बसिरहनु भएको थियो ।
‘बिहे ?’
‘कसको ?’
‘फूपुको ?’
मैले पहिलो पल्ट फुपूको बिहेको कुरा सुन्दै थिएँ । जिज्ञासामाथि जिज्ञासाका खात लागे मेरो मनमा ।
###

‘ल हिँड्नुस् अब, ढिलो भयो भने बस छुट्छ ।’
आमाले फुपूलाई हतार लगाउँदै हुनुहुन्थ्यो । फुपू पनि फुरुंग हुँदै आमाको पछि-पछि लागिन् । उनको अनुहारमा कुनै निराशा थिएन । मैले हजुरआमातिर हेरेँ उहाँको आखाँबाट आँसु बगिरहेका थिए ।
‘फुपू किन यतिका वर्षपछि आफ्नो घर जानु भएको ?’
मैले हजुरआमाको नजिक गएर सोधेँ ।
हजुरआमा केही बोल्नु भएन, मात्र उनका आँखाबाट आँसुका बलिन्द्र धारा बगिरहेका थिए ।
‘फुपू अब उतै बस्ने हो आमै ?’ मैले फेरि सोधेँ ।
‘आउँछे…तर …।’
हजुरआमाको गला अवरुद्ध भए ।
‘सानैमा बिहे गरिदिए, त्यो घरमा एक दिन पनि बसिनँ तर त्यो एक धरो सिन्दूरले आज यो दिन देख्नु पर्ला भन्ने मैले सोचेकी पनि थिइनँ नानी, ऊ विधवा भै रे अब,’ भन्दै हजुरआमा भुईंमा ढल्नु भयो ।