१. काल विभाजनको लघुकथा – जिउँदो सहिद
अनन्तराज उपाध्याय
विवेकले कक्षामा सरलाई सोध्यो “सर ! सहिदको अर्थ के हो ? “
सरले भन्नुभयो, “राष्ट्रको हितको लागि जस्ले आफ्नो ज्यान उत्सर्ग गर्दछ, उस्लाई सहिद भनिन्छ । यो शब्द कुरानमा पनि उल्लेख गरिएको छ । यो अरबी शब्द हो । त्यसताका देशको संरक्षण र समृद्धिका लागि युद्धमा जो मर्दथे तिनीहरूलाई सहिद भनी सम्बोधन गरेर सम्मान गरिन्थ्यो । हिन्दु धर्मग्रन्थहरूमा यसरी युद्धमा वीरगति प्राप्त गर्नेहरूको स्वर्गमा स्थान सुरक्षित गरी सम्मान गरिन्छ भनिन्छ ।”
विवेकले भन्यो, “सरले कस्तो राम्रो गरी सहिदको अर्थ स्पष्ट पार्नुभयो । अनि जिउँदो सहिद कस्लाई भनिन्छ ? सर !”
सरले बताउनुभयो, “नेपालमा राणाकालमा फाँसी दिइनुपर्ने तर ब्राह्मण भएको कारणले फाँसी नदिएर जन्मकैद दिइएकाहरूलाई सर्वप्रथम जिउँदो सहिद भनियो । अचेल राष्ट्रहितको लागि अदम्य साहसको साथमा ज्यानको परवाह नगरी कार्य गर्नेहरूलाई पनि जिउँदो सहिद भन्ने चलन रहेको छ ।”
सरले यति भन्दाभन्दै विवेकले सोध्यो, “अचेल त सडक दुर्घट्नालगायतका कारणहरूले मर्ने, दलगत स्वार्थको लागि आपसमै झगडा गरी मर्नेहरूलाई पनि सहिद धोषणा गरिएको पाइएको छ । यस्ले मूल सहिदहरूको अवमूल्यन भएन् र ? सर !”
सरले रूँदै जवाफमा भन्नुभयो, “देशमा सही सहिदहरूको, उहाँहरूका परिवारका सदस्यहरूको सम्मानको, राष्ट्रिय सम्पदाको, मानवीय मूल्य र मान्यताको, नेताहरूप्रतिको विश्वासको र नेपाली मुद्रा आदि राम्रा सन्दर्भहरूको सधैँजसो अवमूल्यन भइरहेको छ । तिमीहरू नेपाली माटो, हावा, पानी, अग्नि र आकाशले निर्मित हौ । तिनीहरूको कहिल्यै अवमूल्यन नगर्नू । अन्यथा तिमीहरूको जीवनले सार्थकताको कहिल्यै अनुभूति गर्न पाउने छैन ।”
सरको आँखाहरूबाट बगिरहेको आँसुदेखि सबै स्तब्ध भई उठेर ताली बजाउन थाले ।
###
(नेपाली लघुकथाको ७० को दशकलाई “सामाजिक सञ्जालमैत्री काल” भनिनुपर्छ । यसै समयमा नेपाली लघुकथाहरू सामाजिक सञ्जालमार्फत सजिलै विश्वको प्रत्येक कुनाहरूसम्म पुगे । यसै कालदेखि लघुकथामा देखिएको एउटा आशा लाग्दो नाम हो अनन्तराज उपाध्याय ।
अनन्तराज उपाध्याय बौद्धिक व्यक्तित्व हुनुहुन्छ । आफ्नो जीवनको निवृत्त भागलाई साहित्यमा विशेष समर्पण गरेका उपाध्याय थोरै लघुकथा लेख्छन् तर विषय भने गहन उठाउँछन् । प्रस्तुत लघुकथा “जिउँदो सहिद” कलिलो विद्यार्थीको जिज्ञासा मेटाउन शिक्षकले गरेको प्रयासमा केन्द्रित छ । यस लघुकथाले सहिदको वास्तविक अर्थ केलाएको छ ।)
२. पुस्तकभित्रको लघुकथा – आमा
डा. कपिल लामिछाने
सडक । सडकका छेउमा चहुर । सडक र चहुरका बीचमा सालिक । सालिकका वरिपरि टुटेफुटेका गमला र क्रोनिक फोहोर । सालिकका गलामा सुकेको माला । चिसो सिरेटोले बेलाबेलामा झुत्रिएको माला हल्लिँदा सालिकले सास फेरेको हो कि भनी भ्रम पर्ने ।
म त्यस्तो भ्रम पन्छाउँदै सडकको पेटीमा ठिङ्ग उभिएँ । हावाको थप्पडले मलाई पनि हान्यो । गलबन्दी तानेर कान छोपेँ । हात जाकेटको खल्तीमा घुसारेँ । एक मन बेक्कार मर्निङ वाकमा आएजस्तो भयो । अरू फुटपाथेहरू पनि मजस्तै कक्रक्क परेका थिए ।
फुटपाथमा दुईजना सँगै हिँड्दै थिए । ‘मैले बना‘को सालिक !’ एकजनाले भन्यो । उसले मैलो लुगा लगाएको थियो ।
एउटा चिल्लो गाडीमा एसीवाल हुइँकिँदै थियो, सालिकतिर पुलुक्क हेर्दै । सायद ऊ भन्दै थियो, ‘मैले बना‘को सहिद !’
म चिया खाएर चिसो भगाउने निरर्थक यत्न गर्न थालेँ । मेरा आँखा सालिकतिरै थिए ।
उताबाट एउटी बूढी दाउरो टेकेर टुकटुक गर्दै आइन् । दाउराको भर गरी ढाड सोझो पारिन् । फेरि हिँडिन् । अनि फेरि त्यही दाउराको भर गरी ढाड सोझ्याइन् । उनका आँखा सालिकतिर थिए, मात्र सालिकतिर । म चिया निथार्दै थिएँ । उनी सालिकको सामुन्ने पुगिन् । म हेरिरहेँ । उनले सालिकलाई पुलुक्क हेरिन् । तुरुक्क आँसु झारिन् । दाउराको भर पर्दै सालिकको अखेटोमा उक्लिन् र आफूले ओढेको पछ्यौरा हुत्याएर सालिकलाई ओढाइन् । म चकित परेँ । पछ्यौरा मिलाइदिइन् । उनी जाडोले कुक्रुक्क परिन् । अनि फेरि त्यही बाटो तताइन्, जताबाट उनी आएकी थिइन्।
“ए आमै !”
मैले उनलाई रोकेर केही जान्न खोजेँ, तर तिनी पछाडि नफर्की लोर्याङतोर्याङ गर्दै गइन् ।
मैले त्यही चियावालालाई सोधेँ, “को हुन् ती ? तिमीलाई केही थाहा छ कि ?”
उसले चिया छान्दै भन्यो, “आ छाड्नुस् । बौलाही हो । बेलाबेलामा कुन्नि कताबाट आइपुग्छे र मेरो छोरा भन्दै टपरीमा भातसात राखेर जान्छे । कहिलेकाहीँ फलफूल चढाएर जान्छे । छोरालाई भोक लाग्यो रे ! कहिले त लुगा ओढाएर जान्छे । छोरालाई जाडो भो रे ! … आ, त्यस्ता बौलाहीका कुरा पनि के गर्नु ?”
ऊ उसैगरी चिया फेट्न थाल्यो ।
###
(डा. कपिल लामिछाने अग्रज लघुकथाकार हुन् । उनी लघुकथाको समीक्षक र समालोचक पनि हुन् । डा. लामिछानेको थुप्रै लघुकथाका सङ्ग्रहहरू प्रकाशित पनि छन् । प्रस्तुत लघुकथा “आमा” विस्थापन लघुकथासङ्ग्रहबाट लिइएको लघुकथा हो । यो सङ्ग्रह वि.सं. २०७५ सालमा प्रकाशित भएको थियो ।
प्रस्तुत लघुकथा “आमा” सहिदको आमाको कथा हो । कथाकारले यस लघुकथामा वाक्यविन्यासमा विशेष ध्यान दिएका छन् । सरल र छोटा वाक्यहरूले गर्दा लघुकथा कसिलो बनेको छ । एकक्षणको छोटो बसाईमा तुरिएको यस कथामा सहिदप्रतिको अनेक भावहरू प्रष्टसँग देखाइएको छ ।)
३. समूहभित्रको लघुकथा – सहिदको सपना
खेमलाल पहारी
“हामी पनि हाम्रो लोकमा सहिद दिवस मानाऔँ न महाराज !” चित्रगुप्तले यमराजका हजुरमा बिन्ती चढाए l
उनको कुरा सुनेपछि यमराजले एकक्षण सोचेर भने, “चित्र, धेरै भयो नरकलोकमा हामीले कुनै रमाइलो कार्यक्रमको आयोजना गरेकै छैनौँ l हुन्छ, यो वर्ष हामी नर्कमा गएर सहिद दिवस मनाउने छौँ l कार्यक्रमको तयारी गर र स्वर्गवासी सबैलाई एक दिनको लागि नरक चोकमा भेला हुन भन l”
नभन्दै एकाबिहानै नरकचोकतर्फ आगन्तुकहरूको ओहिरो लाग्यो l लखन थापादेखि नवराज बिक र झांसिकी लक्ष्मी बाईदेखि लिङ्कनसम्मको उपस्थिति भैसक्दा पनि कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिको टुङ्गो लागेको थिएन । कोही लिङ्कन त कोही लुथर किङ्ग नभए गान्धीका पक्षमा थिए l पाहुनाको चयनले गलफती हुन थालेपछि केही ढाका टोपी र चौबन्दी चोलीहरू मसाल जुलुस निकाल्दै नाराबाजी गर्दै यमराजसमक्ष आफ्ना दलका शीर्ष नेताहरूलाई तुरुन्त प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरूको स्थानग्रहण गर्न पृथ्वीलोकबाट झिकाउन माग गर्न थाले l उनीहरूको कुरा सुनेर यमराजले भने, “मुर्ख नबन; तिमीहरूलाई थाहै होला, एकपटक पृथ्वीबाट यसलोकमा आएको मान्छे फिर्ता हुँदैन l”
यमराजका कुरा सुनेपछि सबैले एकै स्वरमा भने, “प्रभु, सहिदको सपना चकनाचुर पार्ने नेता र तीनका भरौटेहरूलाई यही नै त सबैभन्दा ठुलो सम्मान हो l”
###
(नेपाली लघुकथाको विकास र विस्तारमा फेसबुकका लघुकथा पेजहरूको पनि अहम् भूमिका रहेको छ । “लघुकथा पाठ्य श्रव्य दृष्य प्रतिष्ठान” फेसबुक पेजमा खुलेको कान्छो लघुकथा समूह हो । छोटो समयमा यस समूहले लघुकथाको उन्ययनप्रति गरेको कार्यहरू देख्दा यस समूहप्रति लघुकथाकार र पाठकहरूको रुचि ह्वात्तै बढेको देखिन्छ । प्रस्तुत “सहिदको सपना” लघुकथालाई खेमराज पहारीले यसै पेजमा सहिद दिवसको सन्दर्भ पारेर पोष्ट गरेका थिए ।
खेमराज पहारी पछिल्लो समय लघुकथामा केन्द्रित भएर लघुकथामा नै लागेका एक स्रष्टा हुन् । उनी लघुकथामा समसामयिक विषयहरूलाई खेलाउन रुचाउछन् । प्रस्तुत लघुकथा “सहिदको सपना” स्वैरकल्पनामा लेखिएको एक मिथकीय लघुकथा हो । कथाले नेता र नेताका भरौटेहरूलाई जिउँदै स्वर्ग पठाउने सरल उपाए उजिल्याएको छ ।)
४. समसामयीक लघुकथा – सहिदगेटकाे कथा
शेखर अर्याल
चारैतिर ताेरणले सजिन पाउँदा सहिदगेट नतमस्तक थियाे । महान् हातबाट पुष्पगुच्छा अर्पण गर्दा टुँडिखेलसभा उल्लासमय देखिन्थ्याे । यस दृश्यले चार मुटुमात्र हाेइन हजाराैँ मुटुमा धड्कन बढ्दा भूमिका ती धड्कनी गोरेटाेमा सङ्घर्षरत थिइन् ।
टुँडिखेल बोल्दै थियो, “हाम्रा महान् सहिद अमर बनून्, सहित सपना साकार पारौँ, सहिद दिवस जिन्दावाद ।”
“हाम्रा सपना भासमा परे, स्वार्थी प्रवृत्ति बढ्यो, हाम्राे हाँसो खोसियो । के प्राणको आहुती यस्तै चमेराका खातिर हाे ?” लखन कड्किए ।
“हो, सहिदले रोजेको, माटोले खोजेको र जनताले चाहेको सपना पूरा गर्न सकिएन तर जन्जिरका साङ्ला चुँडाली स्वतन्त्रताको गोरेटो कोर्न त जुटेकाे छ नि ?” भूमिका नम्र स्वरमा बाेलिन् ।
“हाे, स्वच्छ वाणी मननयाेग्य छन् तर हाम्रा सपना विपना बन्न सकेनन्”, लखन मुस्कुराए ।
भूमिका शिर झुकाएर, “मान्छु, सहिदको पूर्ण सम्मान गर्न सकेनौँ तर रोपिएकाे बिउ नामेट त पारेका छैनाैँ नि ?”
“नामेट पारियाे भनेका छैनाैँ, बरु हाम्रा नाममा गरिने दिवस, सम्मान, छुटकारा अनि भाषणले हाम्राे बलिदानी पूरा भएको छैन । यसलाई एकपटक गमेर त हेर !”, लखनको अनुहार मलीन भयो ।
“त्यसाे होइन लखन, अमर सहिद ज्यूँदाजाग्दा भई खबरदारी गरेको आभाष भएको छ । स्वार्थी, पदलाेलुप चमेराबाहेक जनहृदयले सदा शिरमा राखी माघ सोह्रको सम्मान के गरेका छैनन् ?”, भूमिका भक्कानिएर थुचुक्क बसिन् ।
“यो अपमान कि सम्मान ? हाम्राे आत्माले यही भन्छ । के सहिदगेट साक्षी बनेर लेखेको कथा यही हाे ?”, लखन जङ्गिएर टुँडिखेलतर्फ लागे ।
यता भूमिका लखनको मन शान्त पार्दै सहिदका सपना पूरा गर्ने वाचा कँस्दै थिइन्, उता टुँडिखेलको हुँकार कम थिएन ।
सहिदगेटमा भेला भएका लखन, कृष्णलाल, गङ्गालाल, दशरथ, शुक्रराज, धर्मभक्त हुँदै कृष्ण सेनलगायतका तमाम सहिदको सम्मान गर्दै कवि भूपी शेरचनको “हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए/ बन्दैन मुलुक दुईचार सपूत मरेर नगए” कविता गाउँदै भूमिका सहिदगेटको कथा लिएर सिंहदरवारतिर लागिन् ।
“सहिदगेटको कथा अझै बाँकी छ । याे कहिले पूरा हुन्छ हँ ?” पछाडिबाट एक सहिद कड्किए ।
###
(शेखर अर्याल थोरै लघुकथा लेख्छन् तर उनी लघुकथामा गम्भीर विषयको उठान गर्छन् । त्यसो त शेखर नमस्ते आधुनिक लघुकथा मञ्चको एक एडमिन सदश्य पनि हुन् । मञ्चमा रहेर शेखरले केही विषयगत लघुकथाको संयुक्त सङ्ग्रहहरू सम्पादन पनि गरेका छन् ।
प्रस्तुत लघुकथा “सहिदगेटको कथा” स्वैरकल्पनामा आधारित लघुकथा हो । यस लघुकथाले सहिदलाई बाध्य बनाएर बोल्न लगाएको छ । कथामा समाधान र समाप्तको दृश्य राखिएको छैन । कथाको अन्त्यमा पाठकलाई एक यक्ष प्रश्न सोधिएको छ । यो नै यस कथाको सौन्दर्य हो ।)
५. मलाई मन परेको लघुकथा – सहिद
त्रिलोचन ढकाल
सहिद दिवसको दिन । सालिकहरूका अगाडि फूल र मालाहरू छिरलिएका थिए । मानिसहरू आउँथे । फूल माला राखिदिन्थे । कसैले मुठ्ठी कसेर सलाम गर्थे । कसैले दुई हात जोडेर अभिवादन गर्थे । सबैले आँखा चिम्लेर प्रतिज्ञा गरेको सुनाउँथे –
“आदरणीय अमर सहिदहरू ! तपाईंहरूको त्याग र बलिदानले लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यो समाजवाद उन्मुख पनि छ । म यसको संरक्षणमा मरिमेटेर लाग्नेछु । यसलाई पुष्पित र पल्लवित गराउनमा महत्त्वपूर्ण भूमिका खेल्नेछु ।”
यस्तो प्रक्रिया दिनभर चलिरह्यो । अन्त्यमा ठुला हाकिमजस्ता देखिने व्यक्ति आइपुगे । उनका अघि पछि नन्दी, भ्रिङ्गी, पार्वती, गङ्गा, महाकाली, वीरभद्र, भूत, प्रेत र पिशाचहरूको सङ्ख्या उल्लेखनीय थियो । सालिकहरूको अगाडि उभिएर उनले अनुरोध गरे –
“मैले तपाईंहरूको सपना पूरा गर्न लागिरहेको छु प्रभो ! दैत्य र सैतानहरूले काममा अवरोध खडा गरिरहेका छन् । तिनको इतिश्री गराएर भए पनि तपाईंहरूका सपना पूरा गर्दछु ।”
दिनभर चुपचाप र अटल भएर बसिरहेका सालिकहरू एकाएक बोल्न थाले – “हाम्रो सपना कसरी पूरा गर्न सक्नु ? तैँले त राजा महाराजाहरूका सपना पुरा गरिरहेको छस् ।”
“कसरी हुनसक्ला र प्रभु त्यस्तो ?”
“भइरहेको छ । राजा महाराजाले जनप्रतिनिधि संस्था संसद् विघटन गर्थे । तैँले पनि त्यही मार्गको अनुसरण गरिरहेको त छस् ।”
###
(त्रिलोचन ढकाल पछिल्लो समयका एक क्रियाशील लघुकथाकार हुन् । त्यसो त उनी लघुकथा समाज, गण्डकी प्रदेशको अध्यक्ष पनि हुन् । उनका प्राय: लघुकथाहरू राजनीतिक रङमा घोलिएका हुन्छन् ।
प्रस्तुत लघुकथा “सहिद” स्वैरकल्पनाको बाटोबाट यथार्थ छिचोलेको एक सचित्र कथा हो । जति कथा पढ्दै गइन्छ चित्रहरू चलायमान हुन्छन् र सहिदप्रति पाठक नतमस्तक हुँदै जान्छन् । कथाको अन्त्यले नेतालाई गतिलो व्यङ्ग्य हानेको छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।