‘बा ! बीस ह्रस्व लेख्ने कि दीर्घ ?’

ध्रुबेले हिजो गुरुले दिएको गृहकार्य गर्दा के गरौँ के गरौँ भएर सोध्यो ।

‘हामी त दीर्घ लेख्थ्यौँ, ध्रुबे ।’

डा. कुसुमाकर शर्मा गौतम

बाले भैँसीलाई घाँस हाल्दै जवाफ फर्काउनुभयो ।

‘पहिलाका गुरुले दीर्घ लेख भन्नुहुन्थ्यो । अहिलेका गुरुले ह्रस्व लेख भन्नुहुन्छ । ह्रस्व, दीर्घ जे लेखे पनि हुँदैन र?’ ध्रुबेको रुन्चे स्वर निस्कियो ।

‘के भन्छ यो ?’

ध्रुबेका बाले छोरालाई आफ्नो भाषा किन शुद्ध हुनुपर्छ भनेर सिकाउने विचार गरे ।

‘हेर् ध्रुबे ! हाम्रो भाषा भनेको हाम्रो पहिचान हो । भाषाले हाम्रो सभ्यता, संस्कृतिलाई संवर्धन गर्छ । त्यसैले आफ्नो भाषा शुद्ध लेख्नुपर्छ । नेपाली भाषाको मौलिकता भनेको शब्दहरू शुद्ध र सही तरिकाले ह्रस्व र दीर्घ छुट्याएर लेख्नु नै हो । त्यसैले बीस सधैँ दीर्घ लेखेस् ।’

‘अनि भाषा गलत भयो भने के हुन्छ र बा ? खुबै भए फेल हुने त हो नि !’ ध्रुबेले आफ्नो खुलदुली र नतिजा दुइटै जतायो।

ध्रुबेका बा झस्किए र छोरालाई भाषाको अस्तित्व नै हाम्रो अस्तित्व हो भन्ने कुरा सिकाउनुपर्ने देखे ।

‘ध्रुबे! आजकाल हाम्रो धैरेनी खोलामा पहिलाजस्तो छ्यापछ्यापती माछा पाइन्छ ?’

‘आजकाल माछै पाइँदैन बा त्यहाँ  त। खोलामा बम पड्काएर माछाका सन्तान नै मारिसके ।’

‘ल! सुन त ध्रुबे । जसरी बम पड्काउँदा माछा मात्र हैन, माछाका भुरा, फुल सबै नष्ट हुन्छन् । माछा नहुँदा खोलाको अस्तित्व निर्जीव ढुङ्गा, बगर र पानीमा परिणत हुन्छ । त्यसरी नै आफ्नो भाषा र शब्दहरू शुद्ध नलेखिँदा हाम्रो भाषा, संस्कृति र हामी नेपाली हुनुको पहिचान नष्ट हुन्छ । अनि हामी मूक भाषाका जनावरमा परिणत हुन सक्छौँ ।’

ध्रुबेलाई बाका कुराले घत लाग्यो र बाले सुन्ने गरी फुसफुसायो, ‘भाषालाई मृत्युतिर धकेल्ने र शब्दहरूलाई शहीद बनाउनेहरू उदाउँदा रहेछन् बीच-बीचमा ।’