“तपाईँको कागजै मिलेको छैन् । गाउँपालिकाको सिफारिस पनि छैन अनि कसरी हुन्छ काम ?” -सेवाग्राही फुर्वालाई थर्काउँदै बोल्छ फाँटवाला सूरज ।

मित्र ‘उराठी’ गौतम

“हैन हजुर टाढाबाट आएको छु, जसरी पनि मिलाइदिनुपऱ्यो ।”- फुर्वाले अनुरोध गऱ्यो ।

“पालिकाकै सिफारिस छैन त कसरी मिल्छ ? ल अरू त मिलाउँला पालिकाको सिफारिसविना त कानुनी हिसाबले मिल्दै मिल्दैन ” – कानुनी बाधा देखायो सूरजले ।

“ठिक छ हजुर पालिकाको सिफारिस म लिएर आउँछु अरू सबै मिलाइदिनू है । हाम्रो तिर मृग आदि जङ्गली जन्तुको सिकार बेलामौका हुने गर्छ मिल्यो भने जङ्गली सुकुटी लिएर आउँछु नि हजुर ।” -फुर्वाले सूरजको कानमा फुसफुसायो ।

“ल ल सिफारिस लिएर आउनू, अरू हेरौँला नि । हाकिम साबले के भन्ने हुन् ?” -आश्वासन दियो सूरजले ।

केही दिनपछि सिफारिस लिएर आयो फुर्वा, “सर कत्ति कोसिस गर्दा पनि योपटक सुकुटी पाउन सकिएन । दुई-चार दिनपछि व्यवस्था गर्छु, उता गाउँमा भनेको छु । आजै नास्ता पानी गर्ने भए पनि तयार छु, हजुरको जो विचार ?” -फुर्वाले सूरजको विचार वुझ्न खोज्यो ।

“आजै गरूँ कि, दुई-चार दिनपछि जङ्गली भनूँ ?” – सूरजले कुरा हाकिमकहाँ पुऱ्यायो ।

“हैन जङ्गली नै पाइने भए त कुरौँ न दुई-चार दिन, नयाँ टेस्ट लिनुपऱ्यो नि हैन त सुब्बा साब् ?” -हाकिमले जङ्गली सम्झेर घुटुक्क थुक निले ।

“आजै व्यवस्था गर्ने भए त के भाका राख्नु र ? जाडोमा कान तताउन बेसै हुन्थ्यो नि ।” -सुब्बा गोपीरामले मौका नचुकाउने विचार व्यक्त गऱ्यो ।

“हैन हैन छोड्नुस्, दुई-चार दिन ढिला भए पनि जङ्गली नै खाऔँ न ।”- हाकिमले सूरजलाई सङ्केत गरे ।

जङ्गली लिई आउने प्रतिबद्धता सहित फुर्वा काम सम्पन्न गरी फर्कियो ।

आज आउला, भोलि आउला फुर्वा आएन ।

हाकिम र सूरजले मौका गुमाएकोमा थकथकी माने ।

“हातको माछो छोडेर कुरमा हात भनेको यही हो । मैले त उही बेला भनेथेँ नि, अब खाऊ सुकुटी ।” – सुब्बा गोपीरामले खुच्चिङ लगायो ।