गलामा लगाएको फाँसीको डोरी काटिदिएपछि शरीरले रिसाउँदै भन्यो – “यो के गरेको रहर तिमीले ? अहिले म नभइदिएको भए के हुन्थ्यो ? यसरी आत्महत्या गर्नु त ठिक भएन नि ।”
रहर चुपचाप जमिनमा पल्टिराख्यो, केही बोलेन । एकछिन रोकिएर मनतर्फ हेर्दै शरीरले पुनः भन्यो – “अनि तिमी, के भएको मन ? तिम्रो सामु यसरी रहरले आत्महत्या गर्न लाग्दा पनि टुलुटुलु हेरेर बस्ने, रोक्नु पर्दैन ? कति निष्ठुरी भएको तिमी ।”
“मरोस् न त, बाँचेर के नै गर्न सक्छ र ? यस्ता रहरहरू त कति मरे मरे, मेरै आँखासामु । बित्थामा किन रोकेको ? मर्न दिएको भए हुन्थ्यो नि ।” मनले दिक्क हुँदै भन्यो ।
“त्यस्तो होइन नि । हामीले त रहरलाई जोगाएर राख्नुपर्छ । यसरी अकालमा मर्न दिनु हुँदैन ।” शरीरले सम्झाउने प्रयत्न गऱ्यो ।
“सधै दुःख, पीडाको आरनमा जलेर आर्तनाद गरेको दृश्य हेर्नुभन्दा त मर्न दिएकै वेश । कमसेकम थोरै शान्ति त मिल्छ । तिमीले के बुझ्थ्यौ यस्ता कुरा ?” चिन्तित हुँदै मनले भन्यो ।
“त्यसो नभन मन ! तिमीले आफूसँग रहर मात्र होइन, आशा र भरोसा पनि राख्नुपर्छ । यसरी उनीहरूलाई घर निकाला गरेर हुँदैन, बुझ्यौ ।” शरीरले सुझाव दियो ।
“तिमी चुप लाग ! मेरो अगाडि ती नालायक आशा र भरोसाको नाम नलेऊ । तिनीहरूकै कारण त मेरो र रहरको यो हविगत भएको हो ।” आक्रोशित हुँदै मनले भन्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।