१. लघुकथा- सस्तो कि महङ्गो !
“मगध देशलाई अनिकालले गाँज्यो । भोकमरीले जरा गाड्ने पऱ्यो । वैकल्पिक बाटो नखोजे हामीलाई हराएर अनिकालले साम्राज्य खडा गर्नैपऱ्यो ।” मगध नरेशले यसो भनिरहँदा प्रधानमन्त्री भने चुप थिए ।
नरेशका कुरा सुनेर सारा मन्त्रीगणले मुखामुख गरे । अन्ततः सबैभन्दा सस्तो वस्तु खाएर अनिकाल धपाउने निष्कर्ष निकालियो ।
सबै जनाले सजिलै प्राप्त हुने सस्तो खाद्यवस्तु ठम्याउन व्यापक छलफल गरे । मासु नै सर्वसुलभ हुने सस्तो खाद्यान्न भएको निष्कर्ष सार्वजनिक भयो ।
शक्तिशाली प्रधानमन्त्री भएर पनि मूकदर्शक मात्रै बनेको देखेर नरेशले प्रश्नको वाण उनीतिर सोझ्याए । प्रत्युत्तरमा प्रधानमन्त्रीले समय मागे । त्यस दिनका लागि सभा विसर्जन भएको थियो ।
गहिरो साँझ परेपश्चात् नरेशसँग सल्लाह गरी एक लाख रुपैयाँ बोकेर उनी हरेक मन्त्रीनिवास धाउन पुगे । मन्त्री मतलाई आँखा चिम्लेर ल्याप्चे लगाउने मन्त्रालयका उच्च पदस्त कर्मचारीहरूकहाँ समेत पुगेँ ।
सर्वत्र एउटै बोली बोले; “नरेशलाई असाध्य बिमार देखियो । विशिष्ट व्यक्तिको मुटुको एक टुक्रा मासु खुवाउन सके मात्रै नरेशको ज्यान बच्ने वैद्यहरूको भनाइ छ । कृपया एक लाख रुपैयाँ लिएर राजाको ज्यानका लागि मुटुको एक टुक्रा मासु दिनुस् ।“
राजाको ज्यान बचाउनका लागि भन्दै सबैले एक लाखमा अरू एक लाख रुपैयाँ थपिदिए तर जतिसुकै अनुनयविनय गर्दा पनि आफ्नो मुटुको मासु दिएनन् ।
२. लघुकथा- कलियुग
वनवासको बेला युधिष्ठिर, अर्जुन, भीम, सहदेव, नहकुलले आआफ्नो यात्रावर्णन कृष्णलाई सुनाए ।
युधिष्ठिरले आफूले दुई सुँढे भएको विचित्रको हात्ती देखेको बताएका थिए । अर्जुनले पखेटामा वेदका ऋचा लेखिएको पन्छीले मरेको जनावरको मासु खाइरहेको भेटेको बताए ।
भर्खरै जन्मेको आफ्नो बाच्छालाई चाटेर गाईले रक्ताम्मे पारेको भीमले सजीव वर्णन गरे । सहदेवले भने नजिकै रहेका ६/७ कुवाहरूमध्ये एक कुवा गहिरो भए पनि रित्तो रहेको तर अरू सबै पानीले भरिएको पाएको सुनाए । सिखरको ठुलो ढुङ्गो बाटाका सानाठुला रुखवस्तु भाँच्दै र लतार्दै तल्तिर खसेको र एक ठाउँमा सानो बिरुवाको टेको लाग्नासाथ रुकेको चर्चा नकुलले गरे ।
आखिरमा सबैले कृष्णलाई “यसको अर्थ के हो ?“ भनी एकैखाले पुच्छ्रे प्रश्न सोधेका थिए ।
उत्तरमा कृष्णको बोली सुनिएको थियो –
– युधिष्ठिर, मानिस बोल्छन् एक थरी, गर्छन् अर्कै थरी ।
-अर्जुन, मानिस रूपमा साधु तर व्यवहारमा चोर हुन्छन् ।
-भीम, मानिस आफ्ना सन्तानप्रति अतिशय प्रेम गर्छन् । आफ्नै प्रेमले सन्ततिको उन्नयन मार्ग थुनिएको हेक्का नै राख्तैनन् ।
-सहदेव, मान्छे मतलबी हुन्छ । स्वार्थले प्रेरित हुन्छ । अर्काको दुःख देखेर पनि डेढ अक्कल लगाइदिन्छ । गुण बिर्सिदिन्छ ।
-नकुल, मान्छे आफ्नो अहङ्कारको दास बन्छ । पतनोन्मुख हुनबाट बचाउन खोज्दा कसै गरे पनि रुक्तैन । हरिनामले मान्छे पतन हुनबाट बच्छ ।
अन्त्यमा यी सबै कलियुगको लक्षण हो भनी कृष्णले अर्थ्याएका थिए ।
३. लघुकथा- जेलज्ञान
’मेरा लागि संसार स्कुल हो । सूर्य कल्याणको मुहान हो ।’ म एक्लै भटभट्याएको देखेर मेरा छिमेकी कैदी ट्वाल्ल परेर मतिर एकोहोरो हेरिरहेका थिए ।
मेरो मन पनि सन्किहालेको थियो । म थप्दै थिएँ; ’वरपरका बोटबिरुवाले पौरखीको हात चुमिरहेका छन् । अटल अडानमा रहने मानिसले पत्थर पगालिरहेछ । एकताले स्थिति मजबुत बनाइरहेछ ।’
मैले मन खोलेर बगाएको देखेर सुन्नेजान्नेले मेरो दिमागी हालत बिग्रेको बताएका थिए । म अझ बिग्रेको देखाउन अभ्यस्त थिएँ । किनभने म प्राकृतिक जीवनशैलीबाट अप्राकृतिकमा धकेलिएको थिएँ ।
’ओइ, तँलाई नखाएको विष लागेकै हो ?’ एक रैथाने ज्यानमाराले मलाई हकार्दै सोधेको थियो ।
’म तिमीजस्तो अर्की श्रीमती ल्याउन भएकीलाई ठहरै पार्ने कायर हैन । नेपाल सरकारको शिक्षा आयोग लडेर शिक्षक भएको व्यक्ति हुँ । मलाई अपमान सह्य छैन । सामान्य आदर पनि गर्न नचाहने हो भने मेरा लागि मुखलाई दुःख नदेऊ ।’
उसको जवाफले मेरो मुखमा उल्टै ताला लागेको छ । उसको अनुहार सम्झ्यो कि मलाई त्यही ध्वनिले मगज गिजोल्न थालिहाल्छ ।
’म गँवार हुँ । समाजको अवनतिको संवाहक हुँ । म समाजको धमिरो हुँ । मलाई जेल कोचेर सरकारले सपार्न खोज्दै छ तर भाइ, तिमी मास्टर हौ । समाजमा किरण छरी अन्धकार नाश गर्ने वैधानिक सपथ लिएको मान्छे हौ । तिमीले आफ्नै धर्मपत्नीलाई आत्महत्या गर्ने वातावरण बनाउनु चाहिँ कहाँसम्मको आदरणीय काम हो ? दुनियाँलाई सपार्छु भनेर आफ्नै घरबार उजाड्ने तिमीजस्तो धोकेबाजलाई जेलको हैन फाँसीकै सजाय हुनुपर्छ ।’
४. लघुकथा- लाजनीति
“राजनीति र साहित्य एकापसका शत्रु हुन् ।“ अनायासै मेरो मुखबाट बोली फुत्किहालेछ । मसँगै रहेका अजय गाउँघर स्तरमा राजनीति गर्थे । उनले सुनिहालेछन् ।
पुष्टि गर्न चुनौती आयो । म निःशब्द थिएँ । उनकै मुखबाट प्रवचनको ध्वनि हावामा बिलाइरहेको थियो ।
-राजनीतिमा लाज हुन्न ।
-राजनीतिमा शत्रुता रहन्न ।
-राजनीतिमा जे पनि अस्थायी हुन्छ ।
-राजनीतिमा अवसरको अत्यधिक उपयोग हुन्छ ।
-राजनीति मानवसभ्यतालाई गतिलो पाठ हो ।
-राजनीति आँटीको खेल हो; कायरको सराप हो ।
-जाने राजनीतिले धरापलाई अडिलो धरोहर बनाउँछ । नजाने धरोहरलाई धमिराको गुँड तुल्याउँछ ।
अबको प्रवचनको पालो मेरो थियो ।
-साहित्यमा भाव हुन्छ राजनीतिको जस्तो अभाव हुन्न ।
-साहित्यमा ज्ञान हुन्छ राजनीतिको जस्तो अज्ञान हुन्न ।
-साहित्य स्थायी खेल हो । राजनीतिजस्तो अस्थायी झेल होइन ।
-साहित्य संसारको दिव्य चक्षु हो । राजनीतिजस्तो आलु चस्मा होइन ।
-साहित्य सभ्यताको जनक र गुरु हो । राजनीति बिग्रेको चेलो मात्रै हो ।
-साहित्य जोसमा होस थप्ने ओखती हो । राजनीति जनतामा भ्रम फैलाउने विषवाण हो ।
समग्रमा साहित्य समाजको उन्नयनको सोपान हो भने राजनीति मुतुनोको कपडाले थुतुनो छोपेर कोरोना भगाउने महाजाल हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।