हिजो साँझ मात्र महिनौँपछि घर आएका नेपाली विषयका शिक्षक कृष्ण विद्यालय जाने तरखरमा थिए । त्यस दिन विद्यालयको वार्षिक उत्सव थियो । आफूलाई विशेष स्वागतसाथ पार्टीको के.स.का रूपमा मञ्चासीन गराउने सम्झेर उनको अनुहार चम्केको थियो । त्यसै बेला तल्लो कक्षा सँगै पढेका साथी उज्ज्वल आए । उनी धेरै वर्षसम्म भूमिगत भएर एउटा हात समेत गुमाएका अयोग्य व्यक्ति थिए । कृष्णले जासुसी गर्दा नै आफू यो हालतमा पुगेको उनी सोच्दथे । उनले पार्टी बिचौलीयाको झोलामा परिसकेको ठान्दथे । र्पाटी हामीबाट ममा गएको हुँदा मनको पीडा पोख्ने मनसाय उनको थियो । सामान्य औपचारिकतापछि उनले कृष्णलाई एउटा लाक्षणिक जिज्ञासा राखे – “म र हामीमा के भिन्नता छ ?”
कृष्णले त्यसबारे धाराप्रवाह रूपमा यसरी भन्दै गए – “म र हामी प्रथम पुरुषका सर्वनाम हुन् । यी सर्वनामअनुसार कर्तृ वाच्यमा क्रियापद प्रयोग हुन्छन् । कर्तृ वाच्यमा कर्ताको वचन, पुरुष, लिङ्ग र आदरार्थी अनुसार क्रियापद लेख्नुपर्दछ । तिमीलाई थाहै छ युद्धकालमा प्रायः सबै वाक्य कर्तृ वाच्यका बोलिन्थ्यो रे । म युद्ध लड्छु । हामीले भूमिपतिका जग्गा कब्जा गर्दछौँ । हामीले जनवादी व्यवस्था ल्याउँछौँ — – आदि । तर अहिले सत्ता पल्टिसकेको छ । त्यसैले कर्ता ओझेलमा परेको छ । अहिले कर्म प्रमुख बनेको छ । त्यसैले कर्म वाच्य प्रयोग भइरहेको छ । यस्तोमा कर्ता चिनाउनु पर्दैन । कर्मको वचनअनुसार इ प्रत्यय लगाएको क्रियापद प्रयोग गरिन्छ ।”
उनले भन्दै गए – “जल जग्गा जङ्गल जडीबुटी केन्द्रैबाट कब्जा गरिँदै छ । सुकुम्बासीलाई व्यवस्थित गर्न सानातिना झुपडीहरू भत्किन्छन् । चन्दा दाताहरू फेरिएका छन् । पार्टी कुखुराबाट चील बनिसकेको छ । अहिले पार्टीले देश देशान्तर गर्न सक्ने गरी छलाङ मारिसकेको छ । सकर्मक क्रियापद भएका वाक्यहरूलाई समेत कर्म वाच्यमा नलेखी एक्कासि भाव वाच्यमा लेखौँ जस्तो गतिमा पार्टी अगाडि बढेको छ —- I”
यो सुनेर उज्ज्वल रनभुल्लमा परेछन् । दाहिने हातको कान्छी औँला ठडाएर घरपछाडि गएका उनी उतैबाट बाटो तताएछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।