कृष्णदेव रिमाल शब्दसेना

“पुरानो घर भत्काएपछि अर्को बन्नेछ।” उसको जीवनाभरको आदर्श वाक्य हो यो। उसले पुरानो घर भत्कायो। निदाल दलिन थाम आदि पाक उर्जा बने। ढुङ्गाहरू आन्दोलनमा घिउ बने।

केही समयपछी नजिकै अर्को थोत्रो घरले कताकता छेकेजस्तो लाग्यो उसलाई । आदेशले त्यो पनि अदृश्य गरायो। अनि अर्को अर्को गर्दै कैयौं थोत्रा घर भष्मीभूत भए।

राहतको पातलो बर्को ओढेर कुनाबाट एउटी आमा फुस्फुसाउनुभो- अव घर कहिले बनाउने त बाबू?

उसले त आमाको आवाज सुन्यो कि सुनेन कुन्नि तर वरिपरि उभिएका उसका अङ्गरक्षकहरूले अर्कै भाषामा आमालाई हप्काउँदै भने – “हेलो ओल्ड लेडी ! यु किप क्वाइट एन्ड बी सेफ!” तर आमाले जाडो भो भन्न छाडिनन् । भोक लाग्यो भन्न छाडिनन् । केही दिन आमा यसै गरी फुसफुसाइरहिन् ।

उनका अवाजले कैयौँलाई घोचिरहेको थियो । यत्तिकैमा एक दिन आमा बोलेको सुनिएन । छोरो त्यहाँ आएन । उसका साथीहरू आए । आमाको छातीमा एउटा प्वाल थियो । त्यो प्वालबाट एक माना रगत निस्केर नजिकैको माटो छोपिएको थियो ।

केही वर्षपछि त्यस भूमिमा त्यही छोराको अङ्गरक्षकहरूको महल देखियो । त्यो छोरो पनि कतिखेर कहाँ समाधिस्थ भयो चालसम्म पाउने कोही देखिएन ।