
बेँसीको सानो बसपार्कमा छोरा राकेश र नयाँ बुहारी अगाडि लगाउँदै कोइराला सर बसबाट ओर्लनुभयो र घरतर्फको बाटो लाग्नुभयो । बेँसीको प्रधान साहुले बोलाउँदै भन्यो, “कोइराला सर नमस्कार छ, कता गएर आउनुभयो ?”
कोइराला सरले “नमस्कार साहुजी । सन्चै हुनुहुन्छ होला है । छोराको विवाह गरेर बुहारी लिएर फर्कँदै छु ।” भन्नुभयो ।
प्रधान साहूले नवबेहुलीलाई तलबाट माथिसम्म एक नजर लगाए र उनको अनुहारको बनोट हेरेर कोइराला सरतर्फ फर्केर सोधे, “ए बाबुले रोजेर ल्यायौ ?”
कोइराला सरले घरतर्फ जाने बाटातर्फ अगाडि बढ्दै भन्नुभयो, “होइन साहूजी, मैले नै मागेको हुँ । सम्धीज्यू मेरो पढ्दा र जागिर खाँदादेखिको साथी हुनुहुन्छ । सानैबाट देखेजानेको सुशील कन्या भएपछि अरूतिर कता खोज्ने भनेर मागेको उहाँ पनि राजी हुनुभयो, केटा र केटीको पनि कुरा मिल्यो । उनीहरूले पनि आँटे भन्नुपऱ्यो । कोरोनाको डर अझ छँदै छ, त्यसमाथि सामाजिक व्यवहारमा अनावश्यक फजुल खर्च नगरेपछि भोलि यिनीहरूलाई नै सजिलो हुने हो । त्यसैले बाबु, छोरा र आमाको सल्लाह भयो । दुई जना गएर बेहुली लिएर आइयो ।”
घर पुग्दा आँगनमा केही गाउँले जम्मा भएका रहेछन् । नयाँ दुलही देखेर कोही जिब्रो टोक्न थाले भने कोही ओठ फर्काउन थाले । अझ कुनै-कुनै कानेखुसीमा व्यस्त हुन थाले । बाटामाथिको साहिँला बा अगाडि सरेर मुख खोल्नुभयो, “होइन ए कान्छा, तैँले राकेशका लागि अरू कोही बाहुनी भेटिनस् ?”
सबै जना चुपचाप खडा भए । लाग्दथ्यो, साहिँला बाले सबै जनाको प्रतिनिधि गर्नुभएको छ । कोइराला सर केही बोल्न खोज्दै हुनुहुन्थ्यो, भित्रबाट राकेशको आमा निस्कदै बोल्नुभयो ।
“हामीले बाहुनी बुहारी नपाउने पनि होइन, सम्धीज्यूले राई ज्वाइँ नपाउने पनि होइन । अर्को कुरा हामीले त बाहुनी खोजेको पनि होइन, बुहारी मात्र खोजेका हौँ ।“
एकछिन सन्नाटा छायो । लाग्द्थ्यो सबै जनालाई जबाफ मिल्यो । नवविवाहित जोडीमा आमाको बोलीले एक प्रकारको बल प्राप्त भएजस्तो भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
