लघुकथा

सुधा बासकोटा ढकाल

“हेलो !”
“को ? ए अनुपमा….”
“हेर न आकाश ! त्यो उपन्यास हरायो ।”
“हँ ..कुन ?”
“त्यही के, तिमीले पढ भनेर दिएथ्यौ नि !” उ भन्छे ।
“कहाँ हरायो ?”– आकाश बल गरेर थुक निल्दै सोध्छ ।
“तिमीसँग छुट्टिएर आएपछि कहाँ छोडेछु, यादै भएन ।”
चुपचाप ।
आकाश र अनुपमा मिल्ने साथी हुन् । एघार पढ्दा देखिको चिनजान डिग्री सकिदासम्ममा झनै झाङ्गिएको थियो ।
अनुपमालाई थाहा थिएन, तर आकाश उसलार्इृ धेरै मन पराउथ्यो । यति धेरै कि जिवन साथी बनेर जिन्दगी साथै बिताउन चाहन्थ्यो । तर……डर…..
ऊ डराउथ्यो । नाइ भन्ली कि भनेर । भएको मित्रता पनि टुट्ला कि भनेर ।
एकदिन कुरैकुरामा उसले आकाशसँग भनेकी थिई, “ सुन न आकाश, आफूलाइ कत्रो टेन्सन छ । आफ्नो भविष्य बनाउनु छ । घरमा भने बिहेको कुरो गरेर हैरान भएँ म त ।”
झस्केको थियो आकाश । अनि हिम्मत बटुलेर आफ्ना सम्र्पूण भावनाहरू प्रेम पत्र बनाएर लेखेथ्यो, र त्यही उपन्यासभित्र राखेर दिएथ्यो । कहिले जवाफ आउला ? के जवाफ आउला ? ऊ अत्यन्त व्यग्र थियो ।
करिब पन्ध्र दिनपछि भेट हँुदा अनुपमाले अँध्यारो मुख पार्दै भनेकी थिई– “मेरो बिहेनिश्चित भयो नि !”
निःशब्द भएथ्यो आकाश । त्यसबखत उसलाई अनुपमासँग कुरा गर्ने शब्दै नभए जस्तो भएको थियो ।
“बधाई छ ।”
बल्लबल्ल थुक निल्दै उसले भनेको थियो ।
“आफूलाई कस्तो तनाव छ । नचिनेको मान्छेसँग बिहे गरेर उसैको घरमा गएर बस्नुपर्ने । तिमी केटाहरुलाई जस्तो आनन्द हो र ?”– ऊ फनक्क फन्केकी थिई । फेरि तत्कालै, “सरी ल मलाई कस्तो कस्तो भा छ के ?” भन्थी ।
बिचरा आकाश अलमल्ल परेथ्यो, र मुस्कुराउने प्रयासमा फगत आफ्ना ओठहरुलाई तन्काउने प्रयास गरेथ्यो । र मनमनै भनेथ्यो– “राम्ररी चिनेको, बुझेको लाई त वास्तै गरिनौ नि ? अब मलाई किन सुनाउछ्यौ र ?” त्यसपछि उसले कार्ड दिएर गएकी थिई ।
आज ठीक ७ दिन पछि उसले फोन गरी । उसले त पत्र पाएकै रहिन छे ।
उफ ……. । दुई हातले टाउको समाएर ऊ थचक्क बस्छ ।