झमक्कै साँझ परेको थियो । अफिसबाट आएर चियामात्रै पिउँदै थिएँ । पल्लो कोठा बस्ने भाउजू हस्याङफस्याङ गर्दै आएर एकैसासमा भनिन्, “लौ न भाइ,  दाइलाई अचानक के भो, के भो ! फत्राक्क फत्राक्क गर्नुहुँदै छ । पेटको रोग थियो, तर यस्तो साह्रो त कहिल्यै भएको थिएन । लौ न, अस्पतालसम्म पुऱ्याउन सहयोग गर्नुपऱ्यो ।”

तारा खतिवडा

भाउजू निकै अत्तालिरहेकी थिइन् । पिउँदै गरेको चिया त्यतिकै छोडेर म दाइको कोठातिर दौडिएँ । भाउजूले भनेझैँ तिनी पेट समातेर बटार्रिरहेका थिए – “मरे, लौ न छिटो अस्पताल लैजाओ ।”

“धैर्य गर्नू दाइ, केही हुँदैन ।  म ट्याक्सी लिएर आँउछु ।”,  भनेर म बाहिर निस्किएँ ।

पाँच मिनेटमा नजिकैको चोकमा पुगेर ट्याक्सी ल्याएँ । धन्न भनेकै बेला ट्याक्सी भेटियो । भाउजूलाई छिट्टो आउनू है भनेर दाइलाई हतार्दै ट्याक्सीमा चढाएँ । अति दुखेछ क्यार,  दाइ ट्याक्सीको सिटमा लडीबडी खेल्न थाले ।

चार मिनेट बित्दा पनि भाउजू देखा परिनन् । यता दाइ फ्याट्टै सास निस्कन्छ कि झै गर्न थाले । मलाई भने दाइलाई अस्पताल लानु कि,  भाउजूलाई अझै पर्खनु भैरहेको थियो । “खै उषा अझै आइन, कस्ती आइमाई रहिछे,  आफ्नो सासै जान आँटिसक्यो ।” – दुखाइको पराकाष्ठामा पुगेपछि दाइ रिसाए ।

म दगुरेर कोठामा गएँ । भाउजू ऐनाअगाडि उभिएर लिपिस्टिक दल्दै थिइन् ।

“छिटो गर्नू न भाउजू,  दाइलाई अति गाह्रो भैसक्यो ।” – भनेँ मैले ।

“हेर्नू न यो मेकअपको सामान पनि कहाँ परेछ कहाँ !  भनेका बेलामा केही भेटिने होइन, अब आइहालेँ”, – भन्दै उनी क्रिम दल्न थालिन् ।

म फर्केर ट्याक्सीमा पुगेको पाँच मिनेटपछि बल्ल भाउजू मगमगाउँदै आइन् । उनी बसेपछि ट्याक्सी अस्पतालतिर दौडियो ।

“तिमीले त मार्ने रहिछौ उषा, कति ढिलो गरेको ।” – आँखा चिम्म गरेर दाइले असन्तुष्टि पोखे ।

“तपाईँहरूजस्तो,  जस्तो छ तेस्तै हिँड्न मिल्छ र आइमाईलाई ! कम्ता गाह्रो छ हामीलाई ।” – भाउजूले आफ्नो बचाउ गरिन् ।

“ए,  अनि अहिलेको गाह्रो तपाईँलाई कि दाइलाई ?” – मेरो मुखबाट फुत्त फुस्कियो ।

उनका कुराले रिससँगै हाँसो पनि उठ्यो मलाई । ड्राइभर भाइ पनि मुसुमुसु हाँस्तै थियो । भाउजूलाई मेरो कुराले गाह्रो बनाएछ क्यार, अस्पताल पुग्दासम्म बोलिनन् ।