“मलाई तिम्रो साथ चाहिँदैन । मसँग मेरो खुसी छ, भनेर निकै खोक्दै थियौ त । खोइ त तिम्रो खुसी आएको ?” वेदनाले भनी ।

वसन्त अनुभव

“मलाई असाध्यै माया गर्छे, उसले । म ढुक्क छु, एकदिन पक्कै आउँछे ।” मैले आफैलाई ढाडस दिएँ।

“आउँछे खुसी ? खुसी खुसी भन्दाभन्दै उमेरले डाँडा काट्न थालिसक्यो । अब त सुद्धि फिर्नु नी ।” वेदनाले चिन्ता व्यक्त गरी।

“किन डाहा गर्छौ, खुसीको ? विहे गरौँ वेदना, भन्दा दु:खलाई छोड्न सकिनौ त !” मैले जिस्काएँ ।

“नजिस्क न ! विहे नगरे पनि तिम्रो साथ कहिले छोडेकी छुँर ? मलाई तिम्रो दया लागेर मात्र भनेकी ।” वेदना थोरै लजाई ।

“हो, वेदना! तिमी र दु:ख नै मेरो अभिन्न साथी भएका छौ। तरपनि मुटुको एउटा कुनाले सधैं खुसीको प्रतीक्षा गरिरहन्छ।” मैले निराश हुँदै भने ।

“अब प्रतीक्षा गर्न छोडिदेऊ, अनुभव ! तिम्रो खुसी आउँदिन।” वेदनाले अनायासै भनी ।

“त्यसो नभन वेदना ! उसले विकास र समृद्धि सँगै आउँछु भनेर वाचा गरेकी छ ।” मैले ढुक्क भएको प्रमाण दिएँ ।

“त्यसो भए त झन ढुक्क हौ । ऊ आउँदै आउँदिन ।” वेदनाले ठोकुवा गरी ।

“किन ?? तिमी कसरी ठोकुवा गर्न सक्छौ ?” म आश्चर्यचकित भएँ ।

“किनकि विकास र समृद्धि दम्पती त वर्षौंदेखि देशका शासक वर्गहरूको सिकन्जामा छन ।” वेदनाको जवाफले म निश्शब्द भएँ ।