“खाना पाक्यो । खाना खान आउनुहोस् ।“

“ल ल । एक छिनमा आएँ ।“

छविलाल खड्का

तर भान्सामा छिर्न ढिला गरेपछि कोठामै गइन् राधा । नेताजी पुरानो बोरा खोलेर केही खोज्दै गरेको देखिन् । सधैँ सुटकेस खोल्ने बानी परेका नेताज्यू आज बोरा खोलेर कागजका टुक्राटाक्री केलाइरहेको देखेर अचम्मित पर्दै सोधिन्- “खाना चिसो भयो भन्या । के गर्दै हुनुहुन्छ, यी फोहर कागजका टुक्रासँग ?“

“तिमी कुरा बुझ्दैनौ । समयअनुसार चल्नुपर्छ क्या ।” उनले सम्झाउने प्रयास गर्दै थिए ।

“कस्तो समय रहेछ ? काम छैन बुहारी, पाडाको लुतो कन्या ।“ टिमुर्किँदै भनिन् ।

उनी गम्भीर मुद्रामा भन्दै थिए – “यो जनताका विचारहरूको पोको हो । शुभ लाभको बेला खोल्ने र हेर्ने फुर्सद हुँदैन । अहिले महाधिवेशन आएकाले राजनीतिक प्रतिवेदन लेखनमा सहयोग पुग्छ कि भनेर खोलेको मुसाले सबै काटेछ !”