“तपाईँ मेरो पिताश्री हुनै सक्दैन ।”

“डीएनए टेस्ट गरा है गधा ।” भाँडा माझ्दै गऱ्या बाउ झर्कियो ।

“अनुवंश दिएर पुग्छ । पालनपोषण गर्न पर्दैन ?” छोरो रोन्चे स्वर गर्छ, “आमाले पनि छोडेर गइन् । कहिलेदेखि मोटरब्याग र आइफोन माग्या । बरु भ्रूणमै हत्या गरे हुने नि ।”

टङ्कबहादुर आलेमगर

“ऐ गधा !” छोराको टेबलमा भातको थाल राख्दै बाउ कराए, “सानो र अशक्त हुँदासम्म हेर्ने हो छोराछोरीलाई । चराले पनि खोजी खाने भएपछि ठुँगेर खेद्छन् बचेरालाई । तँ तीनतिघ्रे भइसकिस् । मलाई हेर्, नहेर् या वृद्धाश्राममा छोड् दे, तेरो धर्म । अब त आफ्नै पसिना खा ।”

तर छोरालाई बाउको अर्ती गोरुलाई नयाँ वर्षको शुभकामना दिनुजस्तै थियो । रातभरि पप्जी खेल्ने, बिहान एघार बजे उठ्ने । बाउलाई दङ्ग्याएर खाने । पढाइलाई कोरोनाको श्रीपेच बनायो ।

सधैँझैँ छोरो उठ्यो तर आज बाउको ‘ल है घिच् गधा’ भन्ने रुखो स्वर र मिठो भात आएन । छक्क परेर “ए बाउ !” भन्दै कराइरह्यो तर चालचुल थिएन ।

अल्छ्याउँदै पाक कोठामा पस्यो । रित्ता थिए भाँडाहरू । “कता मुन्टिए सुड्डो ?” भन्दै ओछ्यानमै आएर पल्टियो ।

भोलिपल्ट पनि बाउ नआएपछि भोको छोरो फेरि पाक कोठामा पसेर भात पकाउन चामलको बोरा फुकायो । त्यहाँ एउटा चिट भेट्यो । लेखिएको थियो, “तँ गधा नसुध्रेपछि टाढा जाँदै छु । एक महिना पुग्ने सरदाम राख्देको छु । सिरानीमुनि एक हजार छ, डाटा किनेर ग्याम खेल्नू । त्यसपछिको दिन तेरै जिम्मा । आजका लागि डीफ्रिजमा मासु र चाम्रे छ । तताएर खानू । बिदा ।”

छोरो चिट समातेर धेरै बेर उभिरह्यो । अनि साथीलाई फोन लगायो, “मलाई पनि काम खोज्दे न यार” ।